काठमाडौं — दसैँमा सार्वजनिक यातायात नपाएर हैरान भइरहेका सर्वसाधारणलाई सशस्त्र प्रहरीले खुसीको खबर दिएको छ।
काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सोमबारदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुईवटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था सशस्त्र प्रहरीले मिलाएको छ। यो अभ्यास विगतका वर्षहरूमा पनि थियो।
उपत्यकाभित्र एउटा बस कलङ्की र बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्को बस बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथ परिक्रमा गरेर यात्रुलाई सेवा दिने गरी व्यवस्था गरिएको बताइएको छ।
सशस्त्र प्रहरीले गरेको व्यवस्थाको प्रचारमा प्रधानमन्त्री कार्यालय नै उत्रेको छ।
प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा अवस्था र आवश्यकता हेरेर थप एक दिन यो बस सेवा थप्ने तयारी सशस्त्र प्रहरी बल, नेपालले गरेको उल्लेख छ।
बडादसैँ तथा शुभदीपावलीको अवसरमा यात्रुको यात्रा सहज बनाउन सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणका लागि र उपत्यकाबाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
दसैँको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाडौँबाट झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक दुईवटा बस बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र तिनका परिवार तथा अन्यका लागि निःशुल्क सञ्चालन भइरहेको दाबी गरिएको छ।