काठमाडाैं- सेयर बजारमा लगातार दोस्रो दिन उच्च अंकको गिरावट आएको छ। कोरोना संक्रमण तीव्र बनेसँगै सरकारले लकडाउन गर्ने हल्ला चलेपछि हिजो (आइतबार) सेयर बजारमा उच्च अंकको गिरावट देखिएको थियो, जुन क्रमले सोमबार (आज) पनि निरन्तरता पायो।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा झरेको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दोहोरो अंकले घटेको छ। सेन्सेटिभ ११.२५ अंकले घटेर ४५२.८० विन्दुमा कायम भएको छ।
आज कूल २२० वटा कम्पनीका एक करोड २९ लाख ९१ हजार ७२१ कित्ता सेयर ८६ हजार ९२ पटक खरिद-बिक्री भई छ अर्ब ५९ करोड नाै लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाएका छन्। रियायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.०६ प्रतिशतका दरले गुमाएका छन्।
आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै ३१ करोड १७ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अगाडि रहेको छ। आज उक्त बैंकका चार लाख ७६ हजार २३७ कित्ता सेयर किनबेच भएका थिए।
ज्योति लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी छ हजार ८९८ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज सबै समूहको परिसूचक घटेको छ। कारोबार भएका कम्पनीहरुमध्ये आठवटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।