वीरेन्द्रनगर– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन फ्लोर क्रस गरेका नेकपा एमालेका ४ जना प्रदेश सभा सदस्य (सांसद)को पद रिक्त भएको छ।
प्रदेशसभाको सोमबारको बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन्।
नेकपा एमाले कर्णाली प्रदेश सभाका सचेतक गुलावजङ्ग शाहले आज बस्ने प्रदेश सभामा सुनाउने गरी कारबाहीको पत्र आइतबार दर्ता गराएका थिए।
यसरी पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन्। मुख्यमन्त्री शाहीको पद जोगाउन फ्लोर क्रस गरेका उनीहरुमध्ये तीन जना अहिले प्रदेश सरकारमा मन्त्री रहेका छन्।
जसमध्ये बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी, थापा भौतिक पूर्वाधार विकास र शाही उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री छन्। सांसदबाट पदमुक्त भएकाहरुको मन्त्री पद समेत जानेछ। उनीहरुलाई ६ महिनाका लागि मन्त्री बनाउन चाहेमा फेरि सपथ गराउनु पर्ने छ।
यससँगै ४० सदस्यीय प्रदेशसभामा अब ३५ सदस्यमात्रै रहेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद धर्मराज रेग्मीको पद यसअघि नै रिक्त भइसकेको छ।
नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको १० वैशाखमा बसेको बैठकले फ्लोर क्रस गर्ने सांसदलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।