काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश भएको छ। सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सभा समक्ष प्रस्ताव टेबल गरेका हुन्।
अविश्वासको प्रस्ताव संसद्मा टेबुल भइसकेपछि बोल्ने क्रममा पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमप्रति मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले साथ दिएकोप्रति आपत्ति जनाए।
प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसद्ले दर्ता गरेको सो प्रस्ताव संसद् बैठकमा टेबल भएर छलफल प्रारम्भ भएको हो।
अविश्वास प्रस्ताव दर्ता हुनु अघिल्लो दिन राति प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिदिएका थिए। त्यसपछि विशेष अधिवेशनका लागि समावेदन गरेका थिए।
६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गुरुङको पक्षमा उनको दल नेकपा एमालेका २७ र एक स्वतन्त्र सांसद्को साथ छ। विपक्षी मोर्चामा भने कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जसपाका ३ जना सांसद् छन्। राष्ट्रिय जनमोर्चाले पनि मुख्यमन्त्री विरुद्ध मत दिने बताइसकेको छ। सो पार्टीका पनि ३ जना सांसद् छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।