काठमाडौं– शुक्रबार दिउँसो एलपी ग्यास उद्योग संघले एउटा सूचना जारी गर्यो। सूचनामा भनिएको थियो, ‘तपाईको घरमा भएको खाली सिलिन्डर भर्नू।’ संघको सूचनापछि उपभोक्ताले हतारहतार आफ्नो घरमा भएको खाली ग्यास सिलिन्डर बिक्रेताको पसलमा पुर्याउन थाले। विस्तारै ग्यास पसलमा भिड नै देखिन थाल्यो।
ग्यास बिक्रेता पनि ग्यास सटेज त भएको हैन भनेर सोच्न बाध्य भए। ग्यास सिलिन्डर लिएर ग्यास लिन पुगेका उपभोक्तालाई ललितपुर कुसुन्तीका व्यवसायी भरत उदासले के त भयो आज ग्यास लिन हतार हतार आइरहनु भएकाे छ भनेर सोधिरहेका थिए। उपत्यकाका अधिकांश पसलमा एक्कासी ग्यासको माग बढ्न थाल्यो। ग्यासको माग बढनुको एउटै कारण थियो, एलपी ग्यास संघले जारी गरेको खाली सिलिन्डर घरमा नराख्नु ग्यास तत्काल भर्नू भन्ने सूचना।
के ग्यास आपूर्तिमा समस्या आउने अवस्था छ? उपभोक्ताले ग्यास नपाउने अवस्था आउन लागेकाे हो? यी विषयमा एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीसँग नेपाललाइभले कुरा गरेको थियो। ‘ग्यास आपूर्तिमा अहिलेसम्म कुनै समस्या आएको छैन र अहिले सटेज पनि भएको छैन,’ जवाफमा उनले भने।
किन उपभोक्तालाई अत्याउने गरी ग्यास सिलिन्डर खाली नराख्नु भनेर सूचना जारी गर्नु भयो? भन्ने प्रश्नमा नेपालमा पनि कोभिडको दोस्रो लहर तिब्र गतिमा फैलिएको र त्यसले आपूर्ति लगायत वितरणको पाटोेमा समस्या आउन सक्ने भन्दै पहिले नै जनतालाई खाली सिलिन्डर भरेर ढुक्क हुन सूचना जारी गरेको भण्डारीले बताए। ‘२०७६ चैतमा लकडाउन सुरु भएपछि एकै पटक ग्यासको माग बढ्दा वितरणमा समस्या आएको थियो,’ भण्डारीले भने, ‘विगतगको जस्तो समस्या पुनः भोग्न नपरोस् र व्यवसायीले पनि बजारमा रहेको खाली सिलिन्डरमा अहिले आएको ग्यास भर्न पाउन् भन्ने नै हाम्रो धारणा हाे।’
भण्डारीका अनुसार अहिले भारतबाट सहज रुपमा ग्यास आइरहेको छ र व्यवसायीले पनि सुरक्षा मापदण्ड पालना गर्दै ग्यास ल्याइरहेका छन्। तर, कुनै दिन कोरोना बढ्दै जाँदा आपूर्ति प्रणालीमा असर पर्न सक्ने हुँदा अहिले नै जनतालाई सचेत बनाएको भण्डारी बताउँछन। तर, जनाताले ग्यास सटेज नै हुन लागेको हो कि भन्दै नयाँ ग्यास सिलिन्डर नै किन्नुपर्ने अवस्था भने नआएको भण्डारी बताउँछन्।
देशमा लकडाउन भएको अवस्थामा झन ग्यास आपूर्ति सहज हुने भण्डारीको तर्क छ। लकडाउन भएको अवस्थामा ग्यासको माग नै कम हुने हुँदा कुनै समस्या नआउने संघको भनाइ छ। ‘उपभोक्ताले घरमा रहेको खाली सिलिन्डर निकाल्दा व्यवसायीले अहिले उद्योगमा रहेको स्टक ग्यास भर्न पाउने र थप स्टक ग्यास ल्याउन पाउँछन्,’ भण्डारीले भने, ‘थप ग्यास ल्याउन पाउँदा संकट आइहालेको अवस्थामा पनि समस्या हुँदैन।’ तर, ग्यास आायतमा नै समस्या आयो कि भनेर तर्सिनुपर्ने अवस्था भने नआएको उनकाे भनाइ छ।
व्यवसायीसँग मन्त्रीको छलफल
कोरोनाका दोस्रो लहर बढेसँगै आपूर्ति प्रणालीमा समस्या आउन नदिने भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आपूर्ति व्यवसायीसँग छलफल थालेका छन्। मन्त्री भट्टले आइतबार मन्त्रालयमा व्यवसायीसँग छलफल गरेका हुन्। छलफलका क्रममा मन्त्री भट्टले व्यवसायीसँग सामान आपूर्तिमा अहिलेकाे अवस्थाको विषयमा सोधिखोजी गरेको भण्डारी बताउँछन्।
सामान आपूर्तिको क्रममा कुनै समस्या आए तत्कालै सरकारले समाधान गरिदिने प्रतिबद्धतासमेत मन्त्री भट्टले गरेका छन। व्यवसायीले पनि सबै सुरक्षा मापदण्ड पालन गर्दै सामान आयात गर्ने र समस्या आउँदा सरकारले पहल गरिदिनुपर्ने सुझाव मन्त्री समक्ष राखेका थिए। छलफलकै क्रममा व्यवसायीले अहिलेसम्म कुनै समस्या नआएको र संक्रमण बढ्दै जाँदा समस्या आउन सक्ने संकेत भने गरेका थिए।
सामान ल्याउन सवारी तथा चालकलाई सुरक्षा निकायले बढी सोधखोज गर्ने काम गरिरहेको बताउँदै व्यवसायीहले उक्त काम रोकिनुपर्ने मन्त्रीलाई सुझाव दिएका थिए। व्यवसायीले यसअघिकाे लामो लकडाउनमा पनि आपूर्तिमा कुनै समस्या नभएको र अहिले पनि समस्या नहुने विश्वास मन्त्रीलाई दिलाएका छन्।
मास्क लगाएर मात्रै सामान खरिदमा आउन उपभोक्तालाई व्यवसायीको आग्रह
व्यवसायीले उपभोक्तालाई मास्क लगाएर मात्रै सामान खरिदका लागि पसल आउन आग्रह गरेका छन्। पसलमा सामान लिन आउँदा सामाजिक दूरी कायम गर्न र भिडभाड कम गरिदिनसमेत व्यवसायीको आग्रह छ। साथै व्यवसायीहरुले आफूहरुले पनि सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालनमा गर्ने प्रतिबद्धता गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।