अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र मध्यपूर्वमा नयाँ राजनीतिक व्यवस्था स्थापित गर्ने उद्देश्य सहित इराकमाथि प्रत्यक्ष सैन्य हस्तक्षेप गरेको थियो।
सामूहिक विनाशका हतियारको उपस्थितिको दाबी, मध्यपूर्वमा अमेरिकी प्रभावको व्यापक विस्तार र वैश्विक ऊर्जा सुरक्षाको सुनिश्चितता तत्कालीन आक्रमणका मुख्य आधारहरू बनाइएका थिए। तर, यो महँगो सैन्य अभियानले सोचेजस्तो स्थिर, शान्तिपूर्ण र लोकतान्त्रिक इराक निर्माण गर्न सकेन, जसका कारण अमेरिकी नीति निरन्तर फेरबदल र गहिरो सामरिक संकटको भूमरीमा पर्दै आएको छ। इराकको यो अप्रत्याशित परिदृश्यले अमेरिकी विदेश नीतिको दीर्घकालीन योजनालाई नराम्ररी खल्बल्याइदिएको छ।
लामो समयको द्वन्द्व, अपार मानवीय तथा भौतिक क्षति र आन्तरिक एवं बाह्य दबाबका कारण अमेरिकी सेनाको उपस्थिति इराकबाट क्रमशः घटाउँदै अहिले पूर्ण फिर्तीको ऐतिहासिक प्रक्रिया अघि बढाइएको हो। यस सामरिक कदमले इराकको आन्तरिक शक्ति समीकरण मात्र होइन, समग्र मध्यपूर्वको भूराजनीतिक नक्सा र शक्ति सन्तुलनलाई नै गहिरो रूपमा प्रभावित पारेको छ। दशकौसम्मको यो महँगो सैन्य उपस्थिति र अहिलेको बाध्यकारी फिर्तीले मध्यपूर्वमा अमेरिकी सामरिक श्रेष्ठता र अपराजित हुनुको धाक माथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। यसले यस क्षेत्रमा नयाँ शक्तिहरूको प्रवेशका लागि मार्गप्रशस्त गरेको छ।
अमेरिकाको यो सैन्य फिर्तीलाई केवल एउटा मिसनको औपचारिक समाप्ति मात्रै नभई मध्यपूर्वमा पश्चिमा वर्चस्वको युगको पतन र नयाँ बहुध्रुवीय शक्ति सन्तुलनको उदयका रूपमा हेरिनुपर्छ। यस ऐतिहासिक घटनाले विश्व राजनीतिमा अमेरिकी नीतिको सिमाबन्दी र अति(सैन्यीकरणको असफलतालाई पूर्ण रूपमा छर्लङ्ग पारेको छ। आगामी दिनमा यस क्षेत्रको स्थायित्व कुनै एक महाशक्ति वा बाह्य हस्तक्षेपकारी देशको इच्छामा भन्दा पनि क्षेत्रीय शक्तिहरूको आपसी समझदारी र नयाँ क्षेत्रीय गठबन्धनहरूले निर्धारण गर्ने स्पष्ट संकेत देखिएको छ। यसले विश्व राजनीतिमा अमेरिकी प्रभावको दायरा खुम्चिँदै गएको थप पुष्टि गर्दछ।
अमेरिकी उद्देश्य र यथार्थ
सामूहिक विनाशका हतियारको उन्मूलन अमेरिकी आक्रमणको मुख्य सैद्धान्तिक आधार इराकमा रासायनिक र जैविक हतियार नष्ट गर्नु थियो, यद्यपि युद्धपछिका वर्षहरूमा यस्ता हतियारको कुनै पनि अस्तित्व कहिल्यै फेला परेन। यो विवादास्पद दाबी केवल एउटा भूराजनीतिक आडमात्र सावित भयो, जसले सुरुवातमै अन्तर्राष्ट्रिय कानुनी वैधताको गम्भीर प्रश्न खडा गरेको थियो। यसले गर्दा विश्व समुदायमाझ अमेरिकी गुप्तचर संस्थाको विश्वसनीयतामाथि पनि ठूलो दाग लाग्यो।
सद्दाम हुसेनको सत्ताच्युत मध्यपूर्वमा अमेरिकी हितका विरोधी मानिने बाथ पार्टी र सद्दाम हुसेनको अधिनायकवादी शासन अन्त्यगरी पश्चिममुखी राजनीतिक संरचना र लोकतन्त्र स्थापना गर्नु थियो। तर, बलपूर्वक गरिएको यो अदूरदर्शी सत्तापरिवर्तनले राजनीतिक शून्यता सिर्जना गर्यो, जसले मुलुकलाई थप भीषण गृहयुद्ध र आन्तरिक अस्थिरतातर्फ धकेल्यो। यसले इराकका आम नागरिकको जीवनलाई थप कष्टकर बनाउँदै समग्र क्षेत्रलाई नै ठूलो अशान्ति र हिंसाको ज्वालामा होमिन बाध्य बनायो।
ऊर्जा सुरक्षा र तेल आपूर्ति नियन्त्रण विश्वको दोस्रो ठूलो तेल भण्डार भएको इराकको ऊर्जा बजारमा अमेरिकी र पश्चिमा बहुराष्ट्रिय कम्पनीहरूको एकलौटी प्रभाव कायम गर्नु अर्को रणनीतिक लक्ष्य थियो। यसले अमेरिकी अर्थतन्त्र र वैश्विक ऊर्जा बजारलाई पूर्ण रूपमा सुरक्षित राख्ने उद्देश्य राखेको भए पनि दशकौसम्म चलेको दीर्घकालीन द्वन्द्वका कारण तेल उत्पादन र आपूर्ति नै गम्भीर रूपमा प्रभावित बन्न पुग्यो। यसले गर्दा विश्व बजारमा तेलको मूल्यमा भारी उतारचढाव आइरह्यो।
मध्यपूर्वमा रणनीतिक सैन्य अखडा इरान, सिरिया र खाडी मुलुकहरूमाथि प्रत्यक्ष निगरानी राख्न सामरिक रूपमा अति संवेदनशील इराकको भू–भागमा स्थायी सैन्य उपस्थितिको बलियो आधार खडा गर्नु थियो। तर, यी महँगा अखडाहरू नै अमेरिकी सेनाका लागि निरन्तर आक्रमणको मुख्य तारो बन्न पुगे, जसले गर्दा अमेरिकालाई यो क्षेत्र लामो समयसम्म टिकिरहनबाट रोक्दै अन्ततः फिर्ता हुन बाध्य बनायो।
आतंकवाद विरुद्धको ग्लोबल वारको विस्तार अल–कायदा जस्ता अतिवादी समूहहरूको फैलावट रोक्ने नाममा ग्लोबल वार अन टेररको रणनीतिक दायरा मध्यपूर्वभरि विस्तार गर्नु यसको अन्तिम सामरिक उद्देश्य रहेको थियो। विडम्बना, अमेरिकी हस्तक्षेपले सिर्जना गरेको शक्ति शून्यता र प्रशासनिक अराजकताको फाइदा उठाउँदै पछि झनै खतरनाक आईएसआईएस जस्ता अतिवादी संगठनहरू जन्मिए, जसले अमेरिकी सुरक्षा रणनीतिलाई पूर्ण रूपमा असफल बनाइदियो।
आर्थिक रणनीति र विश्व व्यवस्था
खाडी मुलुकहरूको ऊर्जा निर्यातमा विभिन्न प्रकारका प्रतिबन्ध र कडा सुरक्षा नियन्त्रण मार्फत विश्व बजारलाई प्रभावित गर्ने रणनीति अमेरिकाले लामो समयसम्म अवलम्बन ग¥यो। यस रणनीतिक माध्यमबाट ऊर्जा बजारमा आफ्नो एकाधिकार जमाउने र प्रतिस्पर्धी राष्ट्रहरूलाई निरन्तर दबाबमा राख्ने एक प्रभावकारी आर्थिक हतियारको रूपमा यसको व्यापक प्रयोग गरियो।
दक्षिण अमेरिकी देश भेनेजुएलाको विशाल तेलभण्डारलाई विश्व बजारमा पुनर्जीवित गरेर ल्याएर तेलको मूल्यलाई सन्तुलनमा राख्ने अमेरिकी कूटनीतिक प्रयास यसैको नयाँ कडी हो। मध्यपूर्वको अत्यधिक अस्थिरताबाट पाठ सिक्दै अमेरिकाले अब आफ्नो पश्चिमी गोलार्धमै ऊर्जाका भरपर्दो वैकल्पिक स्रोतहरूको खोजी र उत्खननलाई तीव्र बनाएको छ।
ऊर्जा व्यापार र घरेलु उत्पादनबाट प्राप्त हुने राजस्व मार्फत अमेरिकाले आफ्नो बढ्दो राष्ट्रिय ऋणको भार कम गर्ने आर्थिक योजना बनाएको देखिन्छ। यो व्यावहारिक रणनीतिले अमेरिकी घरेलु अर्थतन्त्रलाई सम्भावित संकटबाट जोगाउन र बाह्य बजारमा आफ्नो आर्थिक प्रभुत्वलाई निरन्तर कायम राख्न मद्दत पुर्याउने गहिरो विश्वास गरिएको छ।
विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो बनाइराख्ने रणनीतिक दाउ चालिएको छ। उदीयमान शक्ति राष्ट्रहरूले डलरको विकल्पमा नयाँ मुद्राको खोजी गरिरहेको वर्तमान अवस्थामा यो वित्तीय वर्चस्व जोगाइराख्नु अमेरिकाका लागि अस्तित्वको लडाइ बनेको छ।
यी सबै आर्थिक तथा कूटनीतिक कदम मार्फत विश्वलाई अमेरिका अझै पनि आर्थिक र सैन्य रूपमा सुपरपावर हो भन्ने स्पष्ट सन्देश निरन्तर दिइरहनु हो। विश्वमा बदलिन दोस्रो शक्तिहरूको उदयसँगै यो गरिमामय छवि जोगाइराख्न अमेरिकालाई अब कूटनीतिक र आर्थिक मोर्चामा पहिले भन्दा कैयौ गुणा ठूलै कसरत गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
शक्ति सन्तुलन र भूराजनीति
विश्वको आर्थिक र राजनीतिक गुरुत्वाकर्षण अमेरिका र युरोपबाट एसिया तथा ग्लोबल साउथका उदीयमान देशहरुतर्फ तीव्र गतिमा सर्दै गएको छ । यो ऐतिहासिक परिवर्तनले विश्वव्यापी निर्णय प्रक्रिया र नीति निर्माणमा पश्चिमा देशहरूको मात्र एकल वर्चस्वको दिन अब सदाका लागि अन्त्य हुँदै गएको प्रष्ट संकेत गर्दछ।
चीन, रुस, भारत, ब्राजिल जस्ता उदीयमान देशहरूले अमेरिकी डलरको एकल विकल्प खोज्दै आफ्नै स्थानीय मुद्रामा द्विपक्षीय व्यापार गर्न थालेका छन्। यसले अमेरिकी वित्तीय संस्थाको पकड र प्रतिबन्धहरूको प्रभावकारितालाई कमजोर पार्दै एउटा बलियो वैकल्पिक अन्तर्राष्ट्रिय आर्थिक प्रणालीको मजबुत जग बसालेको छ।
उदीयमान देशहरूले अब पश्चिमा देशहरूको कुनै पनि अन्धो दबाबमा चल्न छाडेर आफ्नै राष्ट्रिय हितअनुरूप तटस्थ र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो छुट्टै पहिचान र प्रभाव स्थापित गर्दै शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धात्मक द्वन्द्वमा अत्यधिक सन्तुलित भूमिका खेल्न थालेका छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विकल्पमा नयाँ विकास बैंकहरू स्थापना गरी ग्लोबल साउथले आफ्नै वैकल्पिक वित्तीय संरचना तयार पारिरहेको छ। यसले परम्परागत पश्चिमा वित्तीय एकाधिकारलाई चुनौती दिदै उदीयमान अर्थतन्त्रहरूलाई थप स्वायत्तता र आर्थिक सुरक्षा प्रदान गरेको छ।
प्रविधि, उत्पादन, जनसङ्ख्या र बजारको केन्द्रबिन्दु एसियामा सर्दै गएकाले आगामी शताब्दी पश्चिमामुखी नभई एसियाली तथा ग्लोबल साउथमुखी हुने निश्चित छ। यसले विश्व राजनीति र अर्थतन्त्रको दिशा र दशालाई पूर्ण रूपमा बदल्दै नयाँ र शक्तिशाली युगको सूत्रपात गरिरहेको छ।
निष्कर्ष र आगामी सुरक्षा चुनौती
आधुनिक विश्व व्यवस्थामा अब परम्परागत सैन्य तागत मात्रै शक्ति निर्धारण गर्ने एकमात्र माध्यम रहेका छैनन्। पृथ्वीको भविष्य र सुरक्षा अब नयाँखाले जटिल र अदृश्य खतराहरूले निर्धारण गर्नेछन्। कुनै एक महाशक्तिले मात्र विश्वलाई एक्लै नियन्त्रण गर्न सक्ने युग अब पूर्णतया समाप्त भइसकेको छ। वर्तमान परिदृश्यमा सबै देशहरूको संयुक्त सहकार्य र साझा दृष्टिकोणविना मानवताका ठूला संकटहरूको समाधान असम्भव बन्दै गएको छ।
कृत्रिम बौद्धिकता र स्वायत्त हतियार प्रणालीको अनियन्त्रित विकास र दुरुपयोगले युद्धको प्रकृतिलाई अझ भयानक, स्वचालित र अनपेक्षित बनाउँदै लगेको छ। यसले अन्तर्राष्ट्रिय कानुन, मानवीय सुरक्षा र नैतिक मूल्यमान्यतामाथि गम्भीर चुनौती थपेको छ, जसमाथि समयमै प्रभावकारी नियमन गर्न सकिएन भने यसले मानवताका लागि ठूलो विनाश निम्त्याउन सक्छ।
साइबर सुरक्षाको गम्भीर खतरा, राज्य समर्थित ह्याकरहरू र आतंककारीहरूद्वारा राष्ट्रिय ग्रिड, वित्तीय प्रणाली र सैन्य सञ्चारमाथि गरिने साइबर आक्रमणहरूले डिजिटल युगको समग्र सुरक्षा संरचनालाई तहसनहस पार्ने खतरा बढाएका छन्। यसप्रकारका अप्रत्यक्ष तर अत्यन्त घातक डिजिटल युद्धहरूले कुनै पनि सार्वभौमिक देशको सुरक्षा प्रणालीलाई पलभरमै धराशायी बनाउन सक्ने क्षमता राख्दछन्।
जलवायु परिवर्तन र पर्यावरणीय शरणार्थी संकट ग्लोबल वार्मिङ, खाद्यान्न असुरक्षा, पिउने पानीको अभाव र प्राकृतिक प्रकोपले लाखौ मानिसहरूलाई विस्थापित गरी भविष्यमा नयाँ क्षेत्रीय द्वन्द्वहरू निम्त्याउँदैछन्। पारम्परिक र अप्रारम्परिक खतराहरूको यो गम्भीर सम्मिश्रणले गर्दा विश्वको सुरक्षा ढाँचा थप जटिल बन्दै गएको छ, जसका लागि सहयोगात्मक वैश्विक नीतिको अपरिहार्यता रहेको छ।
आधुनिक विश्व व्यवस्थामा अब परम्परागत सैन्य तागत मात्रै शक्ति निर्धारण गर्ने एकमात्र माध्यम रहेका छैनन्। पृथ्वीको भविष्य र सुरक्षा अब नयाँखाले जटिल र अदृश्य खतराहरूले निर्धारण गर्नेछन्। बदलिदो वैश्विक परिवेशमा अमेरिका अब पुरानो शैलीको संसारभरि सेना तैनाथ गरेर ठूलो आर्थिक भारको बोझ बोक्न चाहँदैन। यही नीतिअनुरुप उसले अफगानिस्तानबाट पनि सेना फिर्ता गरिसकेको छ र क्रमिक रूपमा अब सेनाको स्थलगत तैनाथी भन्दा पनि उन्नत प्रविधिमा जोड गर्नेतर्फ आफ्नो सैनिक रणनीति परिवर्तन गरी आर्थिक रूपमा मजबुत हुने बाटो समातेको देखिन्छ। यस परिप्रेक्ष्यमा कुनै एक महाशक्तिले मात्र विश्वलाई एक्लै नियन्त्रण गर्न सक्ने युग समाप्त भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।