काठमाडौं- नेकपा एमालेले आगामी मंसिर पहिलो साता काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ।
पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरी राष्ट्रिय स्तरको कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो।
पार्टी सचिव महेश बस्नेतका अनुसार राष्ट्रिय भेलामा प्रदेश तथा जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष र उपाध्यक्षसहित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।
स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले पार्टीका विभिन्न तहमा भेला तथा अधिवेशन सञ्चालन गर्ने कार्यतालिका तय गरिएको जानकारी दिए।
बैठकले आगामी मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा र नगर अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय भएको बस्नेतले बताए।
पार्टीको संगठनात्मक गतिविधि र आगामी कार्यक्रमबारे छलफल गर्न बसेको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ।
बिहीबारको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी भएकी थिइन्। बैठकका क्रममा उनले पार्टीको वरिष्ठ नेताका रूपमा शपथसमेत लिएको बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।