काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्।
आइतबार दिउँसो काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटनमा देउवालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको भए पनि उनी कार्यक्रममा जाने तयारीमा नरहेको उनका स्वकीय सचिव भानु देउवाले बताएका छन्।
देउवालाई निमन्त्रणा गर्ने तरिकाप्रति उनको पक्षले असन्तुष्टि जनाएको छ। कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीसहितको टोली शनिबार साँझ चुनदेवीस्थित देउवा निवास पुगेको थियो। तर, घरमा देउवा वा परिवारका सदस्य नभेटिएपछि टोलीले निमन्त्रणा पत्र बाहिरै छाडेर फर्किएको बताइएको छ।
‘निमन्त्रणा दिनु नै थियो भने तीन–चार दिनअघि नै आएर दिएको भए हुन्थ्यो। घरमा कोही नभएका बेला आएर निमन्त्रणा छाडेर पनि कहीँ हुन्छ ?’ भानुले भने।
देउवा पक्षले भने पार्टीको १५औँ महाधिवेशन मंसिरमा गर्ने गरी छुट्टै प्रक्रिया अघि बढाइरहेको छ। सो पक्षबाट विभिन्न स्थानमा वडा अधिवेशनसमेत जारी रहेको छ।
यसअघि महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा देउवा पक्ष र संस्थापन पक्षबीच देखिएको मतभेदका बीच उद्घाटन समारोहमा देउवा सहभागी नहुने अवस्थाले कांग्रेसभित्रको दूरी थप स्पष्ट भएको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।