दुबई– दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा ककपिटभित्रै पाइलटमाथि चक्कु प्रहार भएपछि विमानलाई साउदी अरेबियाको ताबुकमा आपत्कालीन अवतरण गराइएको छ। घटनापछि संयुक्त अरब इमिरेट्स (यूएई) ले विस्तृत अनुसन्धान थालेको छ।
फ्लाई दुबईको एफजेड१०७३ उडानमा भएको घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले विशेष अनुसन्धान टोली गठन गरेका छन्। घटनामा आतंकवादी गतिविधि वा पूर्वयोजना संलग्न थियो कि थिएन भन्ने विषयसमेत अनुसन्धानको दायरामा राखिएको छ।
उडानका क्रममा सह–पाइलटले भारतीय मूलका क्याप्टेन स्मित मच्छारमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शी यात्रुहरूले बताएका छन्। आक्रमणपछि विमान अचानक उचाइ गुमाउन थालेको थियो। फ्लाइटराडार–२४ का अनुसार करिब एक मिनेटको अवधिमा विमान झन्डै १७ हजार फिट तल झरेको थियो।
घाइते अवस्थामा रहेका क्याप्टेन मच्छारले ककपिटको ढोका खोलेपछि केही यात्रु ककपिटभित्र प्रवेश गरी सह–पाइलटलाई नियन्त्रणमा लिएको बताइएको छ। यात्रुहरूकै सहयोगमा विमानलाई सुरक्षित रूपमा साउदीको ताबुकमा अवतरण गराइएको थियो।
उडानमा १७४ जना सवार रहेकोमा १६६ जना इजरायली नागरिक थिए। फ्लाई दुबईले सबै यात्रु सुरक्षित रहेको जनाएको छ। तर, पाइलटबीच भएको झडपबारे एयरलाइन्सले अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण सार्वजनिक गरेको छैन।
घटनापछि फ्लाई दुबईले इजरायल जाने तथा इजरायलबाट फर्किने सबै उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। साउदी अरेबियाले पनि आपत्कालीन अवतरणको घटनाबारे अनुसन्धान थालेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले क्याप्टेन मच्छार र यात्रुहरूको सक्रियताका कारण ठूलो दुर्घटना टरेको बताएका छन्। उनले घटनाको अनुसन्धान यूएईले नेतृत्व गर्ने र इजरायलले आवश्यक सहयोग गर्ने बताएका छन्।
इजरायली अधिकारीहरूले घटनालाई आतंकवादी हमलाको प्रयासको रूपमा व्याख्या गरेका छन्। तर यूएईको अनुसन्धान पूरा नभएसम्म घटनाको उद्देश्य वा त्यसको प्रकृतिबारे अन्तिम निष्कर्षमा पुगिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।