काठमाडौं– निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि मंगलबार सुनुवाइ नहुने भएको छ।
२० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि कात्तिक ३० मा पेशी तोकेको थियो।
तर सोमबार छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो। तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले भोलिका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो।
मन्त्रिपरिषद्ले १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक डा। मनोज कुमार केसी प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको र त्यसबाट आफूलाई अन्याय भएको दाबी रिटमा गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।