काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशनको निर्वाचनमा उम्मेदवारी दिएका करिब ३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।
उनले जित्नेभन्दा हार्ने उम्मेदवारको संख्या धेरै हुने भन्दै पार्टीको आन्तरिक निर्वाचन प्रणालीबारे पुनर्विचार गर्नुपर्ने बताएका छन्।
‘समय अझै बाँकी छ, फिर्ता लिनुस्, अझै म आग्रह गर्छु,’ उनले भने, ‘जित्नेको संख्या थोरै र हार्नेको संख्या धेरै हुने भयो। यो विषयमा पनि अब चेन्ज गर्ने बेला भएको छ।’ कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदान समय दोस्रोपटक सरेको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अब मतदान दिउँसो १ बजेदेखि सुरु हुनेछ।
यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। भारी वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदान समय तीन घण्टा सारेर बिहान १० बजे पुर्याइएको थियो। तर‚ दोस्रोपटक संशोधन गर्दै अब दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको हो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। उनले वडादेखि नै नेतृत्व चयन गर्ने गरी पार्टीको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने धारणा राखे। पार्टीको सदस्यता विवाद समाधान गर्दै तल्लो तहबाटै नेतृत्व चयनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
थापाले विधान संशोधन कुनै नेताको व्यवस्थापनका लागि नगरिएको स्पष्ट पारे। पार्टीमा रहेका पाँच पुस्तालाई जोड्ने र लामो समयदेखि रहेको सांगठनिक ‘जाम’ खुलाउने उद्देश्यले विधान संशोधन गरिएको उनले बताए। ‘नेता व्यवस्थापन गर्न विधान संशोधन गरिएको होइन। पार्टीमा भएका पाँच पुस्तालाई जोड्न र पार्टीभित्रको जाम खुलाउनका लागि विधान संशोधन गरिएको हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।