काठमाडौं– २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा ‘नागरिक बचाउ महाअभियान’ का कमान्डर दुर्गा प्रसाईंले भीडलाई उक्साएर हिंसा भड्काएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ।
आयोगले २०८३ भदौ २६ गते निर्णय गर्दै प्रसाईंले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर सुरक्षा घेरा तोडेको र ‘संसद् भवन जलाउनुपर्छ’ जस्ता भड्काउ अभिव्यक्ति दिएकाले स्थिति हिंसात्मक बनेको निष्कर्ष निकालेको हो।
आयोगले संविधानको धारा २४९ (२) (क) बमोजिम प्रसाईंसहितका नेतृत्वकर्तामाथि सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको छ।
प्रसाईंको उत्तेजक अभिव्यक्तिपछि अनियन्त्रित बनेको भीडले ब्यारिकेड भत्काउँदै निजी तथा सार्वजनिक संरचना, सञ्चारगृह र सवारीसाधनमा आगजनी तथा तोडफोड गरेको थियो। जडीबुटीस्थित ‘सञ्चो’ कम्पनी, कोटेश्वरको भाटभटेनी, विभिन्न सहकारी तथा पार्टी कार्यालयमा व्यापक क्षति पुर्याइएको थियो भने दमकललाई समेत अवरोध गरिएको थियो।
यस क्रममा आयोगको स्थलगत अनुगमन टोलीमाथि आक्रमण भएको थियो भने आन्दोलनकारीले आगो लगाएको घरभित्र जलेर एभिन्यूज टेलिभिजनका क्यामेराम्यान सुरेश रजकको ज्यान गएको थियो। अन्य मिडिया हाउस र सञ्चारकर्मीलाई समेत निशाना बनाइएको प्रतिवेदनमा उल्लेख छ।
आयोगले प्रसाईंलाई तत्काल नियन्त्रणमा लिएर हिरासतमा नराख्नुलाई सुरक्षा निकायको कमजोरीका रूपमा औंल्याएको छ। प्रदर्शनपूर्व, प्रदर्शनका क्रममा र पछि पनि अभिव्यक्तिमार्फत हिंसा भड्काउन मुख्य भूमिका खेलेको ठहर गर्दै आयोगले समग्र मानवीय तथा भौतिक क्षतिको पूर्ण जिम्मेवारी आयोजक र नेतृत्वकर्ताका हैसियतले दुर्गा प्रसाईंले लिनुपर्ने स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।