काठमाडौं –चलचित्र ‘ककाकिकी’ को प्रचार सामग्रीले भ्रम छरेको भन्दै हास्य कलाकार मनोज गजुरेलले आइतबार माफी मागेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले चलचित्रका लागि खिचिएको दृश्य र प्रचारात्मक प्रस्तुतिका कारण दर्शकमा भ्रम उत्पन्न भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
‘म व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने मान्छे हुँ। तर हिजोको प्रस्तुतिमा म स्वयं पनि सहभागी हुन पुगेँ। यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
समाजको मनोविज्ञान संवेदनशील रहेको अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम थप्नु उचित नभएको भन्दै गजुरेलले प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि आवश्यक हुने बताए ।
कहिलेकाहीँ निर्णयगत त्रुटि हुन सक्ने भन्दै उनले त्यसलाई स्वीकार्नु र सुधार्नु सर्जकको दायित्व भएको जनाएका छन्।
धेरै कलाकार र प्राविधिकको मेहनतबाट चलचित्र बन्ने भएकाले कुनै एउटा प्रक्रिया वा शैलीका आधारमा समग्र सिर्जनाको मूल्याङ्कन नगरिदिन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।