काठमाडौं — नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको छ।
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्यानले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो।
छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने र उक्त भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीको बिक्री वितरण प्लेटफर्ममा सूचना प्रकाशित गर्ने सहमति भएको क्यानले जनाएको छ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र हवाई टिकटको माग उच्च हुने भएकाले भाडा बढाइएको गुनासो आएपछि क्यानले वायुसेवा कम्पनीसँग छलफल गरेको हो।
२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो। सोही स्वीकृत भाडादरको सीमाभित्र रही यात्रुलाई राहत पुग्ने गरी सस्तोमा टिकट उपलब्ध गराउने सहमति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।