काठमाडौं– सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।
माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष ढकाललाई यस्तो जिम्मेवारी प्रदान गरेको हो ।
नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकासका साथै स्वदेशी ‘इला’ होटल चेन ब्रान्डका प्रवर्द्धक तथा लगानीकर्ताका रूपमा चिनिन्छन् ।
संयोजक बनेपछि ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले यस क्षेत्रलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । सर्वोच्च शिखर सगरमाथाको हिमशृङ्खलादेखि हिन्द महासागरका टापु, विशाल समुद्री तट, जङ्गल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदाहरूले यस क्षेत्रमा पर्यटनको अपार सम्भावना बोकेको उनको भनाइ छ ।
विश्वको करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा एक विशाल आन्तरिक पर्यटन बजार रहेको उल्लेख गर्दै उनले यो सम्भावनालाई यथार्थमा बदल्न समग्र सार्क क्षेत्रमै पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार अपरिहार्य रहेको बताए ।
क्षेत्रीय पर्यटन विकासको मुख्य आधार सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) रहेको भन्दै उनले सार्क राष्ट्रका प्रमुख सहरहरूबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमनमा तीव्रता आउने बताए ।
यसका लागि सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य अनिवार्य रहेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।