काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतले चीनको एक्जिम बैंकबाट लिइएको ऋण र त्यसको भुक्तानी विवरण पेस गर्न आदेश दिएको छ ।
विशेष अदालतले नेपाल सरकारले विमानस्थल निर्माणका लागि चीनसँग लिएको ऋणको रकम, भुक्तानी प्रक्रिया र हालसम्म तिरिएका किस्ताको विस्तृत विवरण माग गरेको हो ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट ऋणसँग सम्बन्धित सम्पूर्ण विवरण झिकाउन आदेश दिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनालाई प्रतिवादी बनाउँदै ३ अर्ब ६२ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।
अदालतले ऋणको वास्तविक अवस्था, भुक्तानीको प्रक्रिया र किस्तागत विवरण माग गरेसँगै विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दाको सुनुवाइमा ऋण व्यवस्थापनको पक्षसमेत जोडिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।