काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमाको अवस्था र सुधारका प्राथमिकतासहितको प्रतिबद्धता सार्वजनिक गरेको छ।
मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य बीमाको वर्तमान अवस्था, स्वास्थ्य बीमा सुधारका प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेको हो।
स्वास्थ्य बीमा सुधारका प्राथमिकता सार्वजनिक गर्दै मन्त्रालयले प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आबद्ध गर्ने र योगदान गर्न असमर्थ नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने बताएको छ।
मन्त्रालयले सरकारी कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा कर्मचारी, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिक र बेरोजगारसहित सबै नागरिकलाई निश्चित सीमासम्मको स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गरिने जनाएको छ। नागरिकको आर्थिक क्षमता र आयका आधारमा योगदान प्रणाली व्यवस्थित गर्दै अति विपन्नलगायत विशेष समूहको प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था मिलाइने मन्त्रालयको भनाइ छ।
हाल पाँच सदस्यसम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपियाँ योगदान गरेबापत एक लाख रुपियाँसम्मको स्वास्थ्य उपचार सुविधा प्राप्त गर्ने व्यवस्था छ। मन्त्रालयका अनुसार हालसम्म एक करोड ६८ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने ६२ लाखभन्दा बढी नागरिकको स्वास्थ्य बीमा सक्रिय रहेको छ। देशभरका ५०२ स्वास्थ्य संस्था यस कार्यक्रममा आबद्ध छन्।
स्वास्थ्य बीमा सुधारका प्राथमिकता
स्वास्थ्य बीमा प्रणालीलाई व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउन मन्त्रालयले निर्धारण गरेका सुधारका प्राथमिकता यस्ता छन्:
अनिवार्य स्वास्थ्य बीमा: सरकारी कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा कर्मचारी, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिक र बेरोजगारसहित सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने।
क्षमताअनुसार योगदान: नागरिकको आर्थिक क्षमता र आयका आधारमा योगदान प्रणाली व्यवस्थित गर्ने तथा अति विपन्नलगायत विशेष समूहको प्रिमियम राज्यले व्यहोर्ने।
कार्यक्रमको एकीकरण: स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा अन्य निकायमार्फत सञ्चालित स्वास्थ्य उपचार सुविधासम्बन्धी कार्यक्रमबीच समन्वय र एकीकरण गर्ने।
सेवा विस्तार: बीमामार्फत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको दायरा विस्तार गरी सहज, सुलभ र गुणस्तरीय उपचार सुनिश्चित गर्ने।
डिजिटल प्रणाली: बीमामा आबद्धता, नवीकरण, स्वास्थ्य अभिलेख, प्रेषण, बीमा दाबी तथा भुक्तानी प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने।
दुरुपयोग नियन्त्रण: अनावश्यक स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी तथा प्रणालीगत दुरुपयोग नियन्त्रणका लागि प्रभावकारी कानुनी र निगरानी प्रणाली विकास गर्ने।
तीन तहका सरकारको समन्वय: स्थानीय तहका आधारभूत स्वास्थ्य संस्था, प्रदेशका अस्पताल र संघीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थालाई बीमा प्रणालीसँग जोड्ने तथा तीनै तहको अधिकार, दायित्व, वित्तीय जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्ने।
मन्त्रालयको प्रतिबद्धता
स्वास्थ्य बीमाको सफलता बीमित नागरिकको सङ्ख्याले मात्र नभई आवश्यक परेको समयमा नागरिकले सहज रूपमा उपचार पाउने अवस्था र प्रणालीको वित्तीय दिगोपनाले निर्धारण गर्ने मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले भनेको छ, 'सक्षम नागरिकको योगदान, योगदान गर्न असमर्थ नागरिकको जिम्मेवारी राज्यले लिने र सबै नागरिकलाई स्वास्थ्य उपचारको सुनिश्चितता गर्ने व्यवस्था निर्माण गर्नेछौँ। हरेक नेपालीलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो प्रतिबद्धता छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।