काठमाडौं — मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा संकलन गरिएको एक अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका चार उच्च अधिकारीलाई पक्राउ गरेको हो।
सीआईबीको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा तत्कालीन श्रम सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङ छन्।
सीआईबीले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट २०८३ मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।
सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाउने कार्यमा उनीहरूको संलग्नता देखिएको छ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये अमेरिकी डलर ६३ लाख ७० हजार ३८२ र बेलायती पाउन्ड ३७ लाख ६७ हजार १८० गरी कुल १ अर्ब ६६ करोड २ लाख २४ हजार २९ रुपैयाँ ७६ पैसा विदेश पठाइएको थियो।
सीआईबीले उक्त रकम विदेश पठाउने निर्णय गर्दा कानुनी प्रक्रिया र अधिकार क्षेत्र मिचिएको आरोप लगाएको छ। संगठित समूहको लाभका लागि श्रमिकमाथि ठगी भइरहेको थाहा हुँदाहुँदै पनि पदीय जिम्मेवारी पूरा नगरेको र गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीहरूमाथि छ।
यसअघि सीआईबीले मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले तोकेको शुल्कभन्दा बढी रकम असुलेको आरोपमा चार जना व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रारम्भिक रूपमा ७ लाख ५० हजारभन्दा बढी श्रमिकबाट अतिरिक्त रकम असुलिएको र करिब १ अर्ब ६९ करोड रुपैयाँ विदेश पठाइएको विवरण सार्वजनिक भएको थियो। सीआईबीले यस प्रकरणमा ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।