काठमाडौं– चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ ।
टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर २ मा स्थान बनाएको हो ।
चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनल प्रवेश गरेको हो । पराजित काठमान्डु भने प्रतियोगिताबाट बाहिरिएको छ ।
२०५ रनको विशाल लक्ष्य पछ्याएको काठमान्डुले २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रनमात्रै बनायो ।
काठमान्डुले दोस्रो ओभरको सुरुवातमै विकेट गुमाउन पुग्यो । ओपनर साहिल पटेल ६ बलमा २ रन जोडेर पभेलियन फर्किए । उनलाई रिजन ढकालले आउट पारे ।
चौथो ओभरमा विलियम बोसिस्टोले लगातार तीन बाउन्ड्री प्रहार गर्दै चितवनका बलर सलाहुद्दिन खानलाई दबाबमा पारे ।
काठमान्डुले ४.५ ओभरमा दोस्रो विकेट गुमायो । ढकालले चितवनलाई दोस्रो सफलता दिलाउँदै साम हिजलेटलाई आउट पारे । १० बल खेलेका उनले ३ रनमात्रै बनाए ।
काठमान्डुले पावरप्लेमा २ विकेट गुमाएर ३६ रनमात्रै बनायो । विलियम बोसिस्टोले एक छेउबाट शानदार ब्याटिङ गर्दै काठमान्डुको इनिङ्स सम्हाल्दै थिए ।
तर, उनी उसामा मीरको शिकार बने । बोसिस्टोले २८ बनमा ३७ रन जोडेर आउट भए । त्यसको लगत्तै काठमान्डुले चौथो विकेटको रुपमा राशिद खानलाई गुमायो । उनी १५ बलमा १२ रन जोड्दै सस्तैमा आउट हुन पुगे ।
पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सहान अराच्चिगेले १३ बलमा २४ रन जोडे । उनको विकेट पतन भएपछि काठमान्डु थप दबाबमा आयो ।
कप्तान करण केसी ब्याटिङमा भने फ्लप भए । उनले ८ बलमा १ रनमात्रै बनाए । लगत्तै ब्याटिङमा आएका जहानदाद खान पनि १ रनमै आउट भए । १० औं नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले नटआउट ३० रन जोडे ।
बलिङतर्फ चितवनका रिजन ढकाल एक्लैले चार विकेट लिए भने उसामा मीरले तीन विकेट झारे । यस्तै कुशल मल्ल र सलाहुद्दिन खानले एक एक सफलता हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन जोड्यो ।
चितवनले तेस्रो ओभरमा पहिलो विकेट गुमायो । देव खनाल १५ बलमा १७ रन जोडेर आउट भए ।
तेस्रो ओभरमा बलिङमा आएका काठमान्डुका कप्तान करण केसीले पहिलो बलमै सफलता हात पार्दै खनाललाई पभेलियन पठाए । चितवनले लगत्तै अर्को विकेट पनि गुमायो ।
दोस्रो बलमा पनि करणले विकेट लिँदै डेविड मलानलाई आउट पारे । मलान खाता खोल्न नसकी आउट भए ।
चितवनले पावरप्लेमा २ विकेट गुमाएर ३४ रन जोड्यो । आठौं ओभरमा कामिल मिशाराले जीवनदान पाए । काठमान्डुका विलियम बोसिस्टोले उनको क्याछ छुटाए ।
चौथो नम्बरमा ब्याटिङमा आएका रवि बोपाराले मिशारालाई साथ दिँदै दुई ब्याट्सम्यानले चितवनको इनिङ्स सम्हाले ।
मिशाराले संयमित ब्याटिङ गर्दै ३३ बलमा अर्धशतक बनाए । त्यसपछि हात खोल्दै उनले आक्रामक ब्याटिङ गरे । १४ औं ओभरमा सोनु देवकोटालाई लगातार तीन बलमा तीन छक्का प्रहार गर्दै दबाबमा पारे।
मिशाराले ५३ बलमा शतक बनाए । एनपीएलमा शतक बनाउने उनी पाँचौ खेलाडी बने । यसअघि एन्ड्रीस गोउस, मार्क वाट, आडम रोसिङ्टन र युवराज सामराले शतक बनाएका छन् । शतक बनाउने सबै विदेशी खेलाडी हुन् ।
मिशाराले एनपीएल इतिहासकै उच्च स्कोर बनाए । उनी १२० रनमा नटआउट रहे । उनले कर्णाली याक्सका मार्क वाटको उच्च स्कोरको कीर्तिमान तोडेका हुन् । वाटले गत सिजन लुम्बिनी लायन्सविरुद्ध ११४ नटआउट रन बनाएका थिए ।
यस्तै कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेल्दै ४२ बलमा ५३ रनको योगदान दिए ।
बलिङतर्फ काठमान्डुका करण केसी र राशिद खानले दुई दुई विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।