काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्पर्कमा रहेको भनिएका इनम सापकोटासँग सम्बन्ध देखिएपछि व्यवसायी दीपक भट्टलाई नक्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सरुवा गरिएको छ।
शनिबार साँझ भट्टलाई नक्खु कारागारबाट कारागार कार्यालय सिन्धुपाल्चोक पठाइएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भट्टलाई सिन्धुपाल्चोक पठाइएको कारागार व्यवस्थापन विभागका एक अधिकृतले पुष्टि गरेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालसँग इनम सापकोटामार्फत जबराको सम्पर्क हुने गरेको देखिएको बताइएको छ।
यसै विषयमा नेपाल प्रहरीको विशेष ब्युरोले सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सापकोटासँगको सोधपुछका क्रममा जबरा, भट्ट र अग्रवालबीचको सम्पर्कबारे थप विवरण खुलेको प्रहरी स्रोतको दाबी छ।
प्रहरीले जबरालाई असोज ११ गते नियन्त्रणमा लिएर पछि छाडेको थियो। सुरक्षा चुनौती रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। यद्यपि, त्यसयता जबरासँग जोडिएका विभिन्न व्यक्तिको सम्पर्क र गतिविधिबारे अनुसन्धान भइरहेको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।