काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा सर्वसम्मत हुनबाट रोकिएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुँदैछ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्गीले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिने मौखिक सहमति गरेपछि गगनपक्षले थापा सर्वसम्मत भएको सन्देश प्रवाह गरेका थिए।
तर‚ खड्गीले बुधवार साँझ एकाएक उम्मेदवारी फिर्ता नलिने अडान लिन थाले।
कांग्रेस नेता भिमसेनदाश प्रधानलगायतका नेतासँगको परामर्शपछि खड्गीले अडान परिवर्तन गरेको जानकारहरूले नेपाललाइभलाई बताए। अब गगनले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।
नेता किशोरसिंह राठौरले बुधबार उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस सभापतिमा दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ। पार्टीको १५औं महाधिवेशनबाट सभापति बन्न सुरूमा त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।