काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको कारवाही विरुद्ध सर्वोच्च अदालतलमा रिट निवेदन दर्ता गराएका छन्।
उनीहरुले बुधवार सर्वोच्चमा निवेदन पेश गरेका थिए। तर रिट निवेदन अध्ययनकै क्रममा रहेको भन्दै बुधवार रिट दर्ता हुन सकेको थिएन। उक्त निवेदनलाई सर्वोच्चले विहीवार मात्र दर्ता गरेको हो ।
उनीहरुको निवेदनमाथि आइतबार सुनुवाई पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
वरिष्ठ नेता नेपालसहित भीम रावल र घनाश्याम भुसाल निवेदकका रूपमा छन्। रिटमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको छ। ओलीले सोधेको स्पष्टीकरण पत्रको विरुद्धमा उनीहरू सर्वोच्च अदालत पुगेका थिए।
पार्टीभित्र विधि, पद्धतिका लागि दबाब सिर्जना गर्दा कारबाही गर्ने मनशायले स्पष्टीकरण सोधिएको नेपाल पक्षको आरोप छ। उक्त कारबाही रोक्न माग गर्दै उनीहरू अदालत पुगेका हुन्। अध्यक्ष ओलीले मंगलबार २७ जना संघीय र ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका थिए। जसको जवाफसमेत उनीहरुले आजै बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।