नेकपा (एमाले)को १०औँ महाधिवेशन फरक परिस्थितिमा हुन गइरहेको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी सरकारले नेकपा एमाले विभाजनको उदेश्यसहित ल्याएको कृत्रिम कानुनको प्रभाव परेको छ। पार्टी फुटाउन जति मानिस चाहिने त्यति नै टाउका गनेर कानुन ल्याइएको थियो। प्रजातान्त्रिक अभ्यास गर्ने देशहरुमा कहीँ कतै नभएको व्यवस्था राख्दै अध्यादेशमार्फत् कानुन जारी गरेर एमालेलाई कमजोर बनाउने प्रयास भइरहेको अवस्थामा हामी नयाँ नेतृत्व चयन गरिरहेका छौँ।
अहिले यही कारण पार्टी सानोतिनो रूपमै भए पनि तरङ्गित भएको छ। यो अवस्थामा हामीले एमालेलाई अझै बलियो, शशक्त तथा लोकप्रिय बनाउनुपर्ने यो महाधिवेशनको चुनौती हो।
२०७४ सालको निर्वाचनपछि हामी केन्द्र र चार वटा प्रदेश सरकारको नेतृत्वमा थियौँ। हामीले सम्पूर्ण राष्ट्रको नेतृत्व गरेका थियौँ। त्यसयता नयाँ निर्वाचन भएको छैन। कुनै ठूलो परिर्वतन भएको छैन। तर, विभिन्न गठजोडहरूले एमालेलाई एक्ल्याउने र कुनामा पार्ने प्रयत्न गरेका छन्।
अरु शक्ति एमालेविरुद्ध एक भएको अवस्था छ। यो अवस्थामा हामीलाई विचार कार्यान्वयन र संगठनमा एकता चाहिएको छ। यसै आधारबाट पार्टीलाई अघि बढाउन हामी १०औँ महाधिवेशन गर्न गइरहेका छौँ। हामीले यसअघि २०७८ असोज १५ देखि १७ गतेसम्म प्रथम विधान महाधिवेशन गरेर विधि, संगठनको तथा राजनीतिक प्रश्नको निरुपण गरेका छौँ। हाम्रा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नु भएको विचारवाट तीन दिनसम्म छलफल गरेर निष्कर्ष निकालेका छौँ। यी सबै काम सर्वसम्मत भएको छ।
यसले १०औँ महाधिवेशनलाई सर्वसम्मत गराउन र एमालेलाई अघि बढाउन सहयोग गर्छ। एमाले लोकतान्त्रिक मान्यतामा अघि बढेको पार्टी हो। भए सर्वसम्मत, नभए लोकतान्त्रिक पद्धतिअनुसार पार्टीलाई अघि बढाउछौँ। त्यसैले नेकपा एमालेलाई अझै उर्जाका साथ अघि बढाउने छौँ।
नेतृत्व चयनको कुरा दुई रूपमा हेर्नुपर्छ। निर्वाचन गर्न वा सर्वसम्मत गर्न प्रतिबन्ध छैन। जहाँ जहाँ सहमति हुनसक्छ त्यहाँ सर्वसम्मत हुन्छ। आकांक्षी बढी भएको ठाउँमा निर्वाचन हुन्छ। तर, वडा तथा पालिका तहको अधिवेशनले सर्वसम्मत गर्नुपर्छ भन्ने सन्देश दिएको छ। कार्यकर्ताको भावना त्यही देखिएको छ।
१०औँ महाधिवेशनलाई एकता, सर्वसम्मत र उन्नतस्तरको एकताको महाधिवेशन बनाउने भनेका छौँ। यदि कसैलाई कार्यकर्ताको विश्वास जित्न सक्छु भन्ने लाग्छ भने प्रतिस्पर्धा गर्न एमालेको विधानले रोकेको छैन। सर्वसम्मत नहुँदा आकाश खस्ने भन्ने होइन। आठौँ र नवौँ महाधिवेशनमा यही प्रक्रिया भएको हो। उम्मेदवार हुँदै गर्दा अहिलेको परिस्थिति के छ हेर्न पर्यो, पार्टीको तत्कालको परिस्थिति हेर्न जरुरी हुन्छ।
नेतृत्वमा आकांक्षा राख्नुअघि परिस्थिति विश्लेषण गर्नुपर्छ। विभिन्न परिस्थितिवाट गुज्रेर आउनु भएका एमालेका सबै नेताहरु नेतृत्व गर्न सक्षम हुनुहुन्छ। हाम्रो पार्टीमा नेतृत्वका लागि एकसय एक सक्षम छन्। हामीलाई गर्ब छ।
अहिले राजनीति दुई धुव्रमा विभाजित छ। एमालेलाई अन्तराष्ट्रिय शक्तिसँग समेत मिलेर पेल्ने कार्य भइरहेको छ। केपी शर्मा ओली एकातिर र अन्य एकातिर भएको अवस्था छ। केपी शर्मा ओली र नेकपा एमाले अलग गरेर हेर्न सकिने अवस्था छैन। अहिलेको अवस्थामा केपी शर्मा ओलीको नेतृत्वलाई विस्थापित गर्ने जुन कोसिस भयो, त्यसमा साधक बन्न हुँदैन। प्रतिवाद गर्नुपर्छ।
पार्टीलाई एक नम्वर बनाउनेदेखि अहिलेको परिस्थितिको सामना गर्ने काम केपी शर्मा ओलीले गर्दै आउनु भएको छ। कार्यकर्ताको भावना पनि वहाँकै नेतृत्वमा जानुपर्ने भन्ने छ। कोही नेताले प्रतिस्पर्धाका लागि उम्मेदवारी घोषणा गर्ने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो। एमालेभित्र लोकतन्त्र छैन, व्यक्तिवाद र अधिनायकवाद छ भन्ने आरोप लगाउने कोसिस भएको छ। अध्यक्षमा उम्मेदवारी घोषणा त्यसको जवाफ हो, त्यसैले यसलाई अस्वाभाविक रूपमा लिन हुँदैन।
पार्टीभित्र अन्तरसंर्घषमा हुदाँ हामी एक अर्कामा आरोप-प्रत्यारोप गरिरहेका थियौँ। अन्तरसंर्घषमा हुँदा विभिन्न खेमामा थियौ। सधैँ यसमा रमाउने हो भने पार्टी एक हुँदैन। जो पार्टीमा रहन नसक्ने गरी पल्लो छेउमा हुनुहुन्थ्यो, उहाँहरु अलग भएर जानुभएको छ। अहिलेको परिस्थिति फरक हो।
लोकतन्त्रमा पार्टी रोज्ने अधिकार सबैलाई हुन्छ। त्यसको हामीले सम्मान गर्नुपर्छ। अहिले पनि हामी राष्ट्रिय राजनीतिमा एमालेलाई फेरि एक नम्बर पार्टी बनाउन सकिन्छ भनेर लागेका छौँ। मलाई लाग्दैन, आन्तरिक प्रतिस्पर्धा गरेर पार्टी कमजोर हुन्छ। बरु झन् बलियो हुन्छ। लोकतान्त्रिक अभ्यासले एक ठाउँमा उभ्याउन मद्दत गर्छ। फरक मत वा नेतृत्वमा प्रश्न उठाएको आधारमै कसैको भविष्य के हुन्छ भन्ने हुँदैन। कुनै पदाधिकारीमा दाबी गरिरहँदा आफू कुन धरातलमा छु भन्ने चाहिँ ख्याल हुनुपर्छ ।
नवौँ महाधिवेशनमा हामी दुई वटा प्यानल बनाएर निर्वाचन लडेका थियौँ। परिणाम मिश्रित आयो। केपी शर्मा ओलीले अध्यक्ष जित्नु भयो र माधव नेपाल पराजित हुुनुभयो। तर, कुनै एक प्यानल मात्र निर्वाचित भएर आएन। कार्यकर्ताले ‘पार्टी सबैको भएकाले मिलाएर लैजाउ’ भनेर म्यान्डेड दिएका थिए। यो बीचमा पार्टी कसरी भन्ने फरक कुरा हो। त्यसैले अहिलेको परिस्थितिमा पनि कार्यकर्ताले विवेक पुर्याएर नेतृत्व चयन गर्ने छन्।
महाधिवेशनका लागि चितवन नै किन?
यो प्रश्नको उत्तर अप्रिय पनि हुनसक्छ। एमालेको महाधिवेशन चितवनमा गर्ने विषय र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच कुनै पनि साइनो छैन। गोदावरीमा भएको विधान महाधिवेशनवाट हामीले बुटवलमा गर्ने कि भन्ने छलफल गरेका थियौँ। तर, स्थायी कमिटी बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले अन्तिम रुप दिने भन्नुभएको थियो।
जनसंख्या, होटल र अन्य अनुकूल अवस्थाका कारण चितवन रोजिएको हो। चितवन प्रचण्डको क्षेत्र हुँदैमा एमालेले धेरै मेहनत गर्नु पर्छ जस्तो लाग्दैन। एमाले चितवनमा प्रथम राजनीतिक शक्ति हो। पञ्चायतकालमा जागृतप्रसाद भेटवाल जस्ता नेता-कार्यकर्ता चितवनमा थिए।
पुष्पकमल दाहाल 'प्रचण्ड'सँग प्रतिस्पर्धाका लागि हाम्रा स्थानीय नेता-कार्यकर्ता नै पर्याप्त छन्। यो नेकपा एमालेको गढ क्षेत्र हो। जसले छोरीलाई कांग्रेसको बुई चढेर जितायो, अनि आफू एमालेको चढेर बुई चढेर जित्यो, उसले ‘चितवन मेरो क्षेत्र’ भनेर हामीलाई हुँकार दिनु जनमतको अपमान हो। कसैले ‘तपाईं’ भनोस् कि नभनोस् आफैँ ‘मपाईं’ हुनु हो।
पहिलो निर्वाचनमा प्रचण्ड रोल्पा र कीर्तिपुरमा लड्नुभयो। उहाँ त्यहाँ विश्वस्त हुन सक्नुभएन। दोस्रोमा कीर्तिपुर र सिरहामा लड्नुभयो। कीर्तिपुरमा हार्नुभयो। सिरहामा जिताइयो। तेस्रो निर्वाचनमा मात्र वहाँ चितवन जानु भएको हो। अन्यत्र विश्वास नभएर नै चितवन जानु भएको हो। चौँथो निर्वाचनमा कहाँ गएर लड्नु हुन्छ थाहा छैन।
मेरो उम्मेदवारी
म एमालेको कान्छो केन्द्रीय सदस्य हो। यो महाधिवेशनमा केन्द्रीय सदस्यको रुपमा कार्यकर्ताबाट अनुमोदन भएर आउन चाहन्छु। तेस्रो पुस्ताको नेतृत्वलाई पनि अवसर दिने आशासहित केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रनेछु।
(कुराकानीमा आधारित)
नेता रिजालसँग गरिएको कुराकानीको भिडियो:
यस शृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।