काठमाडैँ- भारतको कोलकातामा २००६ साल चैत २७ गते भएको वृहत सम्मेलनमार्फत् बीपी कोइराला नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशमशेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएको औपचारिक घोषणा गरियो। कोलकत्ताको टाइगर सिनेमा हलमा भएको उक्त सम्मेलनबाट नयाँ पार्टी नेपाली कांग्रेसको जन्म भयो। त्यही सम्मेलनले नेपाली कांग्रेसको नीति तथा कार्यक्रम पनि पारित गरेको थियो।
सम्मेलनको दोस्रो दिन नेपाली कांग्रेसका पदाधिकारीहरु चयन भएका थिए। तर, पदाधिकारीबारे सम्मेलनअघि नै दुई पार्टीबीच समझादारी भइसकेको थियो। त्यसैअनुसार, नेपाली राष्ट्रिय कांग्रेसका मातृकाप्रसाद कोइराला नयाँ पार्टीको सभापति र नेपाल प्रजातन्त्र कांग्रेसका महेन्द्रविक्रम शाह महामन्त्री चयन भए।
त्यस्तै, नेपाली राष्ट्रिय कांग्रेसबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र प्रजातन्त्र कांग्रेसबाट सुवर्णशमशेर राणा, सूर्यप्रसाद उपाध्याय, महावीरशमशेर र कुँवर कल्लु सिंह केन्द्रीय कार्यसमिति सदस्य भए। यस्तै, सह–महामन्त्रीमा कृष्णप्रसाद भट्टराई र कोषाध्यक्षमा सुवर्ण शमशेर चयन भए।
सम्मेलनमा सहभागी प्रतिनिधिहरुबीच नेपाली कांग्रेसको झण्डाका विषयमा पनि व्यापक बहस भयो। नेपाली राष्ट्रिय कांग्रेसका कतिपयले त्यही दलको झन्डालाई नेपाली कांग्रेसको झण्डा बनाउनुपर्ने बताएका थिए। त्यस्तै, नेपाल प्रजातन्त्र कांग्रेसको झण्डालाई नेपाली कांग्रेसको झण्डा बनाउनुपर्ने आवाज पनि उठेको थियो।
बहसकै बीच बीपीले प्रस्ताव राखे– ‘नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा नै नेपाली कांग्रेसको झण्डाको रुपमा स्वीकार होस्।’ तर, गणेशमान सिंहले उक्त प्रस्तावको विरोध गरे। त्यसको कारण थियो, पार्टी एकीकरण गर्नुअघि नेपाली राष्ट्रिय कांग्रेसको झण्डालाई नै नेपाली कांग्रेसको झण्डाको रुपमा स्वीकार गर्ने सहमति। उक्तविपरीत बीपीले अकस्मात प्रजातन्त्र कांग्रेसको झन्डा स्वीकार गर्ने प्रस्ताव राखेका थिए।
गणेशमानको विरोधपछि बीपीले सम्मेलनमै त्यसको कारण खुलाउँदै भनेका थिए– ‘हाम्रो सम्झौतामा नेपाली कांग्रेसको झण्डा राष्ट्रिय कांग्रेसकै झण्डा रहने भन्ने थियो। साथीहरुलाई सरह मलाई पनि त्यो झण्डाप्रति भावुकतापूर्ण प्रेम छ। र, मैले चाहेको पनि त्यही हो।’
भएको के रहेछ भने, त्यसअघि सुवर्ण शमशेरले बीपीलाई ‘थर्टिन थिएटर’को चारतले घरमा लिएर गएका रहेछन्। त्यसको उद्देश्य बीपीलाई त्यहाँ भएका झण्डा देखाउनु थियो। घरका प्रत्येक तला चारतारे झण्डाले भरिएका थिए।
त्यति धेरै झण्डा देखेपछि बीपीले राखेको जिज्ञासामा सुवर्णशमशेरले भनेका थिए– ‘कोइरालाजी, हामीले नेपालमा क्रान्ति गर्ने निश्चय गरेर यी झण्डा बनाएका हौं। देशभरि झण्डा फहराउन थोरैले पुग्दैन भनेर फुर्सदको समयमा बनाउँदा बनाउँदै थुप्रो हुन पुग्यो। हाम्रो आवश्यकता हेर्दा यो पनि पर्याप्त होला जस्तो लाग्दैन। तैपनि क्रान्तिकालमा प्रयोग गर्न प्रशस्त होला भन्ने मलाई लागेको थियो। तपाईंहरुले यो झण्डाको सट्टा नेपाली राष्ट्रिय कांग्रेसको झण्डा स्वीकार गर्ने सम्झौता गर्नुभएको रहेछ। अब लाखौं रुपैयाँ खर्च गरेर तयार पारेका यी झण्डाहरु त्यसै खेर जाने भए। पार्टीको ठूलो सम्पत्तिको नोक्सान हुने भयो।’
सुवर्ण शमशेरको कुरा सुनेपछि बीपीले झण्डाबारे चिन्ता नलिन सुवर्ण शमशेरलाई आश्वस्त पार्दै भने, ‘सुवर्णजी, धन्दा नमान्नोस्। म साथीहरुलाई सम्झाउँला। ठीक छ, झण्डा यहीं रहोस्। झण्डा हाम्रो पार्टीको प्रतीक मात्र हो। मुख्य लक्ष्य त नेपालमा राणाशासनको अन्त्य र प्रजातान्त्रिक व्यवस्थाको स्थापना हो।’
यी सबै घटनाक्रम बीपीले सम्मेलनमा सुनाएपछि झण्डाबारेको बहस पनि टुंगियो। यसरी नेपाल प्रजातन्त्र कांग्रेसको झण्डालाई नै नेपाली कांग्रेसको झण्डा स्वीकार गर्ने प्रस्ताव पारित भयो।
झण्डाको माथिको भाग रातो, बीचको भाग सेतो र तलको भाग उस्तै रातो हुनेगरी तीन भागमा तीनवटै बराबर विभाजन गरेर बीचको सेतो भागमा पाँच–कुने चारवटा राता तारा अंकित थिए।
झण्डाको माथिको रातो भागलाई राजनीतिक क्रान्तिको सूचक, त्यसपछिको बीचको सेतो भागलाई शान्ति र निर्माणको प्रतीक तथा तल्लो रातो भागलाई सामाजिक, सांस्कृतिक एवं आर्थिक क्रान्तिको सूचक मानिएको थियो।
सेतो पृष्ठमा चारवटा राता ताराहरु राखिनुको अर्थ आधारभूत स्वतन्त्रतामध्ये वाक् स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, भयबाट मुक्तिको स्वतन्त्रतालाई सम्बोधन गर्न खोजिएको थियो। साथै त्यसलाई चार शहीदको पनि प्रतीक मानिएको गणेशमान सिंहले उल्लेख गरेका छन्।
(यो सामग्री डा. राजेश गौतमको ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ भाग–१ र अन्य स्रोतका आधारमा तयार पारिएको हो।)
यो पनि पढ्नुहोस्-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।