काठमाडौं– माइतीघर मण्डलामा हुने धेरैजसो आन्दोलन र विरोध प्रदर्शनमा नियमित भेटिने अनुहारमध्ये एउटा हो, सन्तोष परियार।
अहिले माइतीघरबाट उनको यात्रा संसद भवनतिर मोडिइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक छन् उनी। उनी आफूलाई माइतीघरको उत्पादन भन्न रुचाउँछन्। माइतीघर मण्डलासँग उनको छुट्टै लगाव छ। संसद आउँदा-जाँदा माइतीघरमा को छन् होला? के विषय वस्तु छन् होला भनेर उनलाई कौतुहल भइरहन्छ।
सन्तोष भन्छन्, ‘लोकतन्त्रमा नागरिकलाई आफ्ना आवाज राख्न, बुलन्द गर्न त्यस्ता ठाउँहरु चाहिन्छन्। संसारका धेरै देशमा अन्याय, अत्याचार र उत्पीडनमा रहेका जनताको बोल्ने निश्चित ठाउँ हुन्छ। माइतीघर मण्डलालाई त्यही रुपमा बुझ्छु म।’
माइतीघर र संसदमा फरक
संसद पुगीसकेपछि सन्तोषलाई माइतीघर मण्डला र संसदमा धेरै फरक लाग्दैन।
पछिल्लो समय बृहत् नागरिक आन्दोलन, अन्य व्यक्ति र पीडितमार्फत समाज, न्याय, जातीय विभेद, लैंगिक न्यायलगायत विविध विषय उठे। जुन विषय उनले संसदमा पनि निरन्तर उठाइरहेका छन्। माइतीघरमै गरेका धेरै काम संसदमा गर्न सकिनेमा दुई मत छैन। मुद्दा त्यही भए पनि प्रक्रिया भने फरक रहेको उनको बुझाइ छ। जुन व्यवस्थित छ।
माइतीघरमा जुन स्वतन्त्रता थियो, संसदमा त्यो स्वतन्त्रता भने नभएको सन्तोषको अनुभव छ। माइतीघरमा बसेर संसद्प्रति प्रश्न गर्दै गर्दा सत्ता भनेको यस्तै हुन्छ भन्ने लाग्थ्यो। सत्ताको पहरेदारी गर्नुपर्छ, आलोचना गर्नुपर्छ, सत्तालाई निगरानीमा राख्नुपर्छ, प्रश्न गर्नुपर्छ भन्ने लाग्थ्यो। गरिरहेका छन् पनि। अहिले भने ‘मैले पनि जवाफ दिनुपर्छ’ भन्ने ठाउँमा पुगेको महसुस गर्छन्।
यसमा फरकपन आएको उनलाई लागेको छ। माइतीघरमा हुँदा सन्तोषले जवाफ दिनु पर्दैनथ्यो, उनले प्रश्न गर्थे। अहिले जवाफ दिने ठाउँमा पुगेपछि अलि गम्भीर र जिम्मेवार बन्नुपरेको उनी बताउँछन्।
माइतीघर र संसदका विषयमा फरकपन
माइतीघरले धेरै मुद्दा उठाउँछ। कतिपय सन्दर्भमा सदनमा राजनीतिक पार्टी आफैले मुद्दा उठाउँछन्।
कहिलेकाहिँ सांसदले त्यस्ता मुद्दालाई बिर्सिए वा अनदेखा गरे भने त्यस्ता मुद्दा माइतीघरबाट उठाइएको हुन्छ। पछिल्लो समय मिटर ब्याजदेखि उखु किसानसम्मका मुद्दा माइतीघरबाटै उठेका हुन्। त्यसैले पनि यो माइतीघर महत्वपूर्ण रहेको र यसलाई अझ सशक्त, प्रभावकारी बनाउनुपर्नेमा सन्तोष जोड दिन्छन्।
उनलाई माइतीघरमा उठ्ने विषयमा एक किसिमको गाम्भिर्यता हुन्छ भन्ने लाग्छ। जब राज्य प्रणालीबाट न्याय हुँदैन अथवा उचित सम्वोधन हुँदैन, त्यसपछि माइतीघरमा ती कुरा जान्छन्। र, त्यसलाई माइतीघरले स्थापित गर्छ। माइतीघरसँग त्यो गुरुत्वाआकर्षण छ भन्नेमा उनी विश्वस्त छन्।
‘अहिले पनि त्यहाँ उठ्ने विषय टिपेर राजनीतिकरण गर्छौ। समाज रुपान्तरणको विषयमा उठ्ने मुद्दालाई राजनीतिले अपनत्व ग्रहण गरेन भने त्यो गाह्रो हुन्छ। त्यसैले नेपालको लोकतान्त्रिकरण, संसदको प्रभावकारीतामा, सरकारलाई जिम्मेवार बनाउने सवालमा माइतीघरको ठूलो भूमिका छ। रहन्छ,’ सन्तोष भन्छन्, ‘यस्ता माइतीघरजस्ता कर्नर अझै थपिनुपर्छ।’
कुन कुरा कसले कहाँबाट उठाइरहेको छ भन्ने विषयले पनि त्यसको सुनुवाईमा प्रभाव पर्ने गर्छ। र, त्यो समाजको बनावटसँग पनि जोडिन्छ। पुरुषहरुले उठाएको कुरा अलि बढी सुनिन्छ।
किनभने समाज पृतिसत्तात्मक छ। तुलनात्मक रुपमा महिलाले त्यही माइतीघरमा उठाएको कुरा कम सुनिन्छ। त्यसैगरी जातीय रुपमा कथित ठूला जात भनिएकाहरुले उठाएको कुरा बेजोडसँग सुनिन्छ। सँगसँगै अलि उत्पीडनमा परेकाले उठाएको कुरा कम सुनिन्छ। यो समाजको बनावटसँग निर्भर गर्छ। त्यसैले सन्तोषलाई लाग्छ, ‘जसको कोही हुँदैन, त्यसको माइतीघर छ।’
सांसद भइसकेपछि माइतीघरसँग सम्बन्ध
रास्वपाको प्रमुख सचेतक सिंहदरबार संसद ओहोर दोहोर पनि चलिरहन्छ। उनलाई माइतीघर मण्डला जान असाध्यै मन लाग्छ। कतिपय कुरा बाध्यात्मक हुन्छन्। जसले गर्दा मन हुँदाहुँदै पनि त्यो काम गर्न नसकिएको उनको अनुभव छ। कतिपय सन्दर्भमा समय पनि मिल्दैन।
माइतीघरमा उभिने भन्दा पनि त्यहाँको समस्यालाई सम्बोधन गर्ने ठाउँमा रहेकाले बढी भूमिका त्यसैमा निर्वाह गरिरहेका छन्। अहिले सदन केही पार्टीको बन्धन बनेको सन्तोषको दाबी छ। यसलाई हेर्दा जतिबेला पनि माइतीघर मण्डला आफूहरुलाई चाहिन सक्ने उनी बताउँछन्।
हिजो विभिन्न आन्दोलनमा सँगै हिडेका कतिपय साथीहरु अझै माइतीघरमै भेटिन्छन्। माइतीघरबाट संसदलाई हेर्दा र संसदबाट माइतीघर हेर्दाको अनुभव कस्तो पाउँछन् त सन्तोष?
माइतीघरबाट संसद हेर्दा यीनीहरुले काम गर्न जानेनन्, गर्दैनन् भन्ने लाग्थ्यो उनलाई। संसद, सरकारमा कहीँ न कहीँ देश बुझेको जनताका अफ्ठ्यारा महशुस गर्न सक्ने मानिस जानुपर्छ भन्ने लाग्थ्यो।
तर, सदनबाट माइतीघर हेर्दा कति माइतीघरका कुरा ल्याउन सके भन्नेमा सन्तोष सधैं सचेत हुन्छन्। माइतीघरमा के भइरहेको होला? कतै माइतीघरको कुरा छुटाएँ कि! त्यहाँ उठेको विषय थाहा भएन कि! भन्ने चिन्ता र चासो भइरहन्छ। हिजो आन्दोलनमा सँगै हिँडेका साथी र अग्रजहरुलाई भेटिरहेका हुन्छन्। जोडिरहेका छन्।
राजनीति भनेको जनता र मुद्दासँग जोडिने विषय हो। उनले सँगै हिँडेका साथीसँग निरन्तर भेट्न नसके पनि केही मुद्दामा गाह्रो पर्यो भने सुरुमा तीनै सहयात्रीलाई सम्झिन भने बिर्सदैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।