काठमाडौं– आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार, नेपालले पहिलो खेल इङ्ग्ल्यान्डसँग खेल्ने भएको छ।
फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ।
नेपालसहित यो समूहमा दुई पटकको विजेता वेस्ट इन्डिज, १ पटकको विजेता इंग्ल्यान्ड, बंगलादेश र इटाली परेको छ। नेपालले इंग्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ। वेस्ट इन्डिजलाई नेपालले सेप्टेम्बरमा शारजहाँमा भएको ३ खेलको शृंखलामा २–१ ले पराजित गरेको थियो।नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो।
सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ र शीर्ष दुई टोली सुपर एटमा पुग्ने छन्। सुपर एट दुई समूहमा विभाजन गरिएको छ र त्यसबाट समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छ।
निर्धारित तालिका अनुसार ट्वान्टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने कार्यक्रम रहेको छ। तर पाकिस्तान फाइनल पुगेमा उपाधि भिडन्तको अन्तिम खेल श्रीलंकामा हुनेछ।
भारत र पाकिस्तानसहित समूह ‘ए’ मा अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्यान्ड, ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।