माघको पहिलो साता नूतन थपलिया भेट्न कलंकी पुग्दा एक हातले लठ्ठी टेक्दै घरको गेट खोल्न आइपुगे। उमेरले ९५ टेकेका (जन्म १९८६ साल वैशाख) थपलियालाई पछ्याउँदै आइपुग्यो उनले पालेको कुकुर। जसलाई उनी बाबु भनेर बोलाउँछन्। २००४ सालदेखि २०३४ सालसम्म ६ पटक जेल परेका नूतनले भेटको सुरुमै सुनाए, ‘म जन्मेपछि पाँच जना त राणा प्रधानमन्त्री मात्रै फेरिए।’
राणा शासनको कठोर स्वरुप देखेका नूतन राणा शासन फाल्न भएका विभिन्न आन्दोलन र सत्याग्रहको अग्रमोर्चामै रहे। आन्दोलनमै लागेका कारण परिवारले कि घर, कि आन्दोलन रोज्न समेत भन्यो। व्यवस्था बदल्न हिँडेका उनी सहजै बास बदल्न तयार भए।
नूतनलाई राणाकालीन व्यवस्थाविरुद्ध प्रतिशोधको आगो बाल्ने घटना बन्यो, शुक्रराज शास्त्रीको हत्या। जो उनका गुरु थिए। शुक्रराज महावीर इन्स्टिच्युटमा नेपाली विषय पढाउँथे। त्यही कक्षा १ मा पढ्थे नूतन।
‘म कक्षा १ मा पढ्थे। शुक्रराज शास्त्री खद्दरको कुर्ता र सुरुवाल लगाएर पढाउन आउँथे,’ नूतन सम्झिन्छन्।
एकदिन पढाउन आएका बेला शुक्रराजले विद्यार्थीलाई सोधे, ‘यो दरबार स्कुलको नाम दरबार स्कुल किन रह्यो थाहा छ ?’
त्यसमा कसैंले भने, ‘सेतो घर भएको हुनाले।’
अर्कोले भने, ‘ठूलो घर भएको हुनाले।’
‘यो सरकारको स्कुल भएकाले दरबार स्कुल भएको हो,’ नुतनले भने। पछि शुक्रराजले त्यसको उत्तर के दिए नूतनलाई ठ्याक्कै याद छैन।
शास्त्रीको हत्या
वि.सं. १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई राणा सरकारले टेकुमा झुन्ड्याएको खबर एकाएक काठमाडौंमा फैलियो। हल्लाको भरमा चकचके स्वभावका नूतन पनि भिडकै पछि लागे। ‘पानीको लहर आउँछ, त्यसरी नै मलाई पनि हुलले तान्दै लग्यो’, ११ वर्ष हुँदाको नमिठो घटना सम्झिन्छन्।
कहाँ झुन्ड्याएको छ, त्यसबारे केहि थाहा थिएन। उनी न्ह्योखा टोलबाट हुलमै मिसिएर गए। केटाकेटी कसैसँग सोध्न आँट थिएन। अघि बढ्दै जाँदा ठाउँ–ठाउँमा मानिसहरुले ‘उता मारेको छ, मैले हेरेर आएँ। हुल छ’ भन्दै कुरा गरेको सुने। त्यही हावाले उडाएरै आफू टेकुसम्म पुगेको नूतन सम्झिन्छन्।
तर, त्यहाँ पुगेपछि उनलाई नजिक पुग्ने आँट आएन। डाँडामा बसेर हेरिरहे। रुखमा झुण्ड्याइएका शुक्रराजले गेरु वस्त्रको कमिज र धोती लगाएका थिए। टाउको एकातिर फर्किएर हावामा हल्लिरहेको थियो। डाँडामा बसेर केही समय हेरेपछि उनी त्यहाँबाट फर्किए।
त्यसरी आफूलाई पढाएको शिक्षकलाई राणा सरकारले हत्या गरेको देखेका नूतनलाई लाग्यो, ‘अब विद्रोह गर्नुपर्छ।’
महिला पढाउन कन्या मन्दिर
विद्रोहको माध्यमका रुपमा नूतनले रोजे शिक्षा। उनलाई सुरुमा विद्यालय खोल्नुपर्छ भन्ने लाग्यो। त्यतिबेला महिलालाई पढ्न दिने चलन थिएन। महिलालाई घरमा पनि पढाउँदैनन्, राणा सरकारले पनि पढाउँदैन भन्ने लागेपछि महिला स्कुल खोल्ने निष्कर्षमा पुगे। ‘केही साथीहरुसँग यसबारे कुरा पनि गरें। त्यसै अनुसार २००२ सालतिर आ–आफ्नो घरका दुई÷चारजना महिला सदस्यलाई घरमै पढायौं,’ उनले थपे, ‘त्यसपछि अब स्कुल नै खोल्नुपर्छ भन्ने लाग्यो। त्यतिबेला काठमाडौंमा त्रिचन्द्र कलेज, दरबार हाइ स्कुल, जुद्धोदय स्कुल मात्रै थिए।’
उनी र उनका साथीहरुको सामूहिक प्रयासबाट विसं २००३ सालमा न्ह्योखा टोल क्षेत्रपाटीमा स्थापना भयो, ‘कन्या मन्दिर’।
न्ह्योखा टोल क्षेत्रपाटीको सडकमा एउटा सतल छ। जसको तल पाटी थियो, माथि मन्दिर। त्यहाँ बेलुका भजन–कीर्तन हुने भएकाले बिहान त्यही ठाउँमा तीन वटा क्लास खोलेर पढाउन थालियो। जसमा नूतन लगायत अन्य साथीहरुले पढाउन थाले।
उनीहरु त्यतिमै रोकिएनन्। त्यसपछि उनीहरुले अछुत मानिने कसाइ, धोबी, च्यामेको बसोबास रहेको विष्णुमती नदीको किनार नजिक भुराङ खेलमा पनि ‘भक्त विद्या आश्रम’ को स्थापना गरे।
२००४ सालको सत्याग्रह
२००४ सालमा काठमाडौंमा सत्याग्रह हुने भयो। त्यसका लागि इन्डियाबाट एक जना मानिस आए। ती को थिए भन्नेबारे नूतनलाई जानकारी छैन। उसो त सत्याग्रहको तयारी काठमाडौंमा पनि भइरहेको थियो। ती व्यक्तिले आन्दोलन अहिंसात्मक हुनुपर्ने, सत्याग्रहमा मर्न र जेल जान डराउन नहुने बताए। प्रहरीले लाठ्ठी चार्ज गरेमा त्यसविरुद्ध लाठ्ठी उठाउन नहुने ती व्यक्तिको सुझाव थियो। वैशाख १७ गतेको जुलुसका लागि पाटन, भक्तपुर र काठमाडौंका स्कुलमा गएर विद्यार्थीलाई सहभागिताका लागि आह्वान गरियो।
वैशाख १७ गते दरबार स्कुलमा टंकविलास पुगेका थिए। त्यो जुलुसको नेतृत्व गर्दै टंकविलासले नारा लगाएपछि नूतन पनि नारा लगाउदै पछि लागे।
दरबार स्कुलबाट निस्किएको जुलुसमा दरबार स्क्वायर, कमलादीबाट आएकाहरु पनि मिसिए। पुलिस थानामा गएर विरोध गर्ने जुलुसले तय गर्यो। र, जुलुस हनुमान ढोका पुग्यो। त्यति ठूलो जुलुस देखेपछि भित्रबाट ढोका लगाइयो। तर, मानिस आउजाउका लागि ढोका थोरै खुला थियो। सानो ठिटो भएकाले नूतन ढोका भित्र गए। त्यहाँ पाटनका दुइ–तीन जना मानिस राखिएको थियो।
नूतनले उनीहरुलाई भने, ‘डराउनु पर्दैन। म पनि छु।’
त्यहाँ धेरै मानिस राख्ने ठाउँ नभएपछि राजाकहाँ जान भनियो। त्यहाँ रहेका सबैलाई छोडियो।
काठमाडौंको जुलुस निकै ठूलो थियो। तत्कालीन महाराज पद्मशमशेरको निवास विशालनगर दरबार, रानीपोखरी, कमलादी हुँदै कमलपोखरीतर्फ लाग्यो। जुलुस नक्साल पुगिसकेको थियो। त्यसपछि जर्नेल नरशमशेरले सत्याग्रहीमाथि आक्रमण गर्न आदेश दिए। आक्रमणबाट जुलुसमा सहभागी पुष्पलाल श्रेष्ठ, गोपाल श्रेष्ठ, साहना, साधना प्रधान, टंकविलास बज्राचार्य, नूतन थपलिया लगायतलाई पक्राउ गरेर पिट्दै लरीमा कोचियो।
लरीमा लैजानुअघि नूतनलाई जर्नेल नरशमशेरले सोधे, ‘तँ किन आइस् नि, ए फुच्चे ?’
नू्तनले नरशमशेरलाई जवाफ दिए, ‘देश सेवा गर्न आएको।’
फेरि नरशमशेरले सोधे, ‘के गर्न सक्छस् ?’
जवाफ दिए, ‘सके जति गर्छु।’
त्यसपछि नरशमशेरले नूतनलाई पनि थुन्न आदेश दिए। उनीहरुलाई मोहन शमशेरको दरबार महाराजगञ्जमा लगेर राखियो।
मोहन शमशेरको दरबार महाराजगञ्जबाट सत्याग्रहीलाई पद्मशमशेरको निवास विशालनगर लगियो। समातिने साधना प्रधान, सहना प्रधान, स्नेहलता र कनकलता गरी चार जना केटी थिए।
उनीहरुलाई देखेर पद्यमशमशेरले सोधे, ‘यो केटीहरु चाहिँ किन आएको नि ?’
साहनाले जवाफ दिइन्, ‘सरकार हामीले पढ्न पाएनौं।’
पद्मशमशेरले स्कुल खोल्ने प्रतिबद्धता जनाए। त्यसपछि दरबार स्कुलमा बिहान–बिहान महिलालाई पढ्नका लागि भर्ना थालियो।
पद्यमशमशेरले अन्य सत्याग्रहीका माग पनि पूरा गर्ने वचन दिए। सत्याग्रहीहरुका माग थिए, राजबन्दी छोड्नुपर्ने र नागरिक अधिकार दिनुपर्ने। त्यसको घोषणा १२ दिनपछि गर्ने पद्मशमशेरले वचन दिए। थुनिएको हप्ता दिनमै तीनजना टंकविलास बज्राचार्य, शम्भुराम श्रेष्ठ र तिलकराज शाही बाहेक अरु रिहा भए।
नूतन आन्दोलनमा हिँड्दा आफूहरुको जागिर जाने भन्दै घरकाले आन्दोलनमा नलाग्न भन्न थाले। तर उनले मानेनन्। त्यसपछि बरु घर नै छोडिदिए। अहिले आएर उनलाई लाग्छ, ‘त्यतिबेला मुख्य काम भनेकै जागिर हुन्थ्यो। कि भरिया बन्नुपर्थ्यो कि जागिर खानुपर्थ्यो। त्यसको त विकल्प नै थिएन।’
२००४ सालमै दोस्रो पटक जेल
वि.सं. २००४ साल असोजतिर नूतन पुनः समातिए। पर्चा बाँड्दै संगठन गरेको आरोपमा उनलाई दोस्रो पटक समातिएको थियो। तुल्सीलाल अमात्य, तुलसीमेयर श्रेष्ठ लगायतलाई उनले जेलमै चिने।
२००४ साल माघ १३ गते पद्मशमशेरले विधान दिने घोषणा गरेका थिए। त्यसपछि राजगद्दी छोडेर हिँड्ने उनको तयारी थियो। त्यसको अघिल्लो दिन माघ १२ गते नूतन लगायत रिहा भए।
त्यसपछि नूतनको सक्रियता झनै बढ्दै गयो। काठमाडौं, पाटन, भक्तपुर, बनेपासम्म उनी हिडेरै आउजाउ गरिरहन्थ्ये। हिड्नुको कारण पैसा जोगाउनु थियो।
‘ट्रकमा चढ्दा १२ पैसा भाडा तिर्नुपर्थ्यो। तर हिँडेर जाँदा चार पैसाको आधा माना चिउरा, चार पैसाको दही र दुई पैसाको चिनी किन्यो भने पनि दुई पैसा बचत हुन्थ्यो,’ नूतन सम्झिन्छन्, ‘हिँड्नुको अर्को फाइदा पनि थियो, पुलिसले समात्दैनथ्यो। ट्रक चढ्दा को मान्छे आयो, गयो भनेर पुलिसले हेर्थे। तर हिडेको मानिसलाई वास्ता गर्दैनथे।’
संविधानको जाँच
पद्मशमशेरले जारी गरेको विधान २००४ साल फागुन १ गतेदेखि लागू हुने घोषणा गरिएको थियो। तर त्यसको एक दिनअघि नै राष्ट्रिय कांग्रेसमाथि बन्देज लगाइयो। देशको अस्तित्व मेट्न खोजेको दलमाथिको आरोप थियो।
नेपालमा राणा सरकारले अधिकार दिएको छ कि छैन भनेर भूगोल पार्कमा २००५ साल वैशाख १ गते बालमुकुन्दलाई भाषण गर्न लगाइयो। उनी समातिए। संविधान दिएपछि बोल्न पाउँछ भनिएको थियो। तर उनी समातिएपछि असंवैधानिक भयो भन्दै उनलाई मुद्दा नचलाई राखियो।
बालमुकुन्दसँगै भाषण गर्ने त्रिवरसिंह प्रधान र विजयबहादुर मल्ल थिए।
बालमुकुन्दलाई समाए पनि अरु दुई जनालाई भने समाइएन। त्रिवरसिंह र विजयबहादुरले २००४ सालको संविधान अनुसार हामीले बोल्न, लेख्न, संगठन गर्न पाउनुपर्छ भन्दै भाषण गरे। त्यही मागसहित प्रजा पञ्चायत गठन गर्ने घोषणा गरे।
त्यसै अनुरुप २००५ सालको दशैंमा नेपाल प्रजा पञ्चायत गठन भयो। केही दिन छोडे पनि विजयबहादुर भने पुरानो मुद्दामा समातिए। केहि समयपछि फेरि अर्को सत्याग्रह भयो। आन्दोलनमा होमिएकाहरु धमाधम समातिन थालेपछि स्वतस्फुर्त रुपमा सडकमा निस्कने क्रम सुरु भयो। त्यसै सिलसिलामा २००५ साल कात्तिकतिर नूतन फेरि जेल परे। उनलाई गोलघरमा राखियो। र, २००७ सालमा छुटे। त्यसपछि नूतनलगायत नेपाली कांग्रेसमा आवद्ध भए।
नेपालको खबर प्रचार गर्न भारततिर
पद्यमशमशेरले नेपालमा संविधान दिए पनि मोहन शमशेरले त्यसको कार्यान्वयन गरेनन्। राजनीतिक दलमाथिको प्रतिबन्ध र नागरिक स्वतन्त्रताको मागलाई पुनः मोहन शमशेरले अंकुश लगाइदिए।
२००५ साल कात्तिकमा जेल पर्नुअघि त्रिवरसिंह प्रधान र विजयबहादुर मल्लले गरेको भाषणलाई पुस्तक निकाल्न र त्यसबारे प्रचार गर्न नूतन रक्सौल पुगे। भूगोल पार्कमा ५० जनाजति मानिस थिए। तर नूतनले पाँच हजार मानिसको अगाडि भाषण गरेको भन्दै एउटा भारतीय अखबारमा समाचार छाप्न आग्रह गरे। त्यसमा प्रेमबहादुर कंशकारले पनि समर्थन जनाए।
त्यहाँबाट मोतिहारा गएर त्यो भाषणको किताब पनि छापियो। काठमाडौं आउँदा छापेको किताबलाई लुकाएर ल्याउनुपर्थ्यो। नूतनले ती किताब भारी बोकेर आउने भरियालाई कपडामा बेरेर राख्न आग्रह गरे। टेकुतिर बस्ने ती भरियालाई केही रकम दिएर पछि ती किताब ल्याए।
२००५ सालतिर फेरि भारत गएको बेला किताब छापेको प्रसंग नूतनले गणेशमान सिंह र गोपालप्रसाद रिमाललाई सुनाए। त्यो कुरा सुन्दा रिमालले खुशी हुँदै भने, ‘यति सानो मान्छे दुई पटक जेल गइसक्यो। अहिले पनि हाँसीहाँसी जेल जान तयार छ।’ त्यति भनेपछि नूतनको उचाइ रिमालले आफूसँग नापे।
२००७ सालपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका नूतनले वि.सं. २०१५ सालको निर्वाचनमा गणेशमानको चुनावी टिममै रहेर काम गरे।
जेल भित्र राजा त्रिभुवनले देश छोडेको खबर
२००७ साल कात्तिक २१ गते राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिन पुगे। र, कात्तिक २६ गते भारत लागे। त्यसपछि काठमाडौंमा राणाविरोधी आन्दोलन झनै चर्किंदै गयो। मंसिर १० गतेको जुलुसमा प्रहरीको लाठीचार्जबाट न्हुछेरत्न तुलाधरको मृत्यु भयो। त्यसले काठमाडौंलाई झनै आन्दोलित र आक्रोशित बनायो। त्यसको तीन दिनपछि विसं २००७ साल मंसिर १३ गते अर्को ठूलो जुलुस निस्कियो। जुलुसमाथि प्रहरीले गोली चलायो। भोगेन्द्रमान सिंहलाई पनि गोली लाग्यो। सिंहलाई उपचार गर्न राणा सरकारले निषेध गरेको थियो। उपचार नपाएर मंसिर १७ गते उनको निधन भयो।
कात्तिक २१ गते राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएर कात्तिक २६ गते भारत गए पनि त्यसको जानकारी भने सेन्ट्रल जेलको गोलघर भित्र रहेका नूतन, टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद र गोविन्दप्रसादले मंसिर १३ गते पाए।
त्यो दिन केही मानिस पर्चा लिएर आए। र, बाहिरैबाट त्यो पर्चा फ्याँके। जेल भित्र रहेका उनीहरुलाई पर्चामा के छ भन्दा पनि बढी चिन्ता फाल्नेले अब पिटाइ खाने भयो भन्नेमा भयो। तर अरु बेला कडा स्वभाव देखाउने गार्डले नै त्यो पर्चा ल्याएर दियो।
त्यसमा ठाउँ–ठाउँ कब्जा गरेको, आन्दोलन भएको, राजा त्रिभुवन भागेर भारत गएको लगायत राणा शासन विरुद्ध भएका विभिन्न गतिविधिबारेको खबर थियो। त्यसपछि मात्रै उनीहरुले बाहिरको गतिविधिबारे जानकारी पाए।
२०१७ साल पुस १ गते
०१७ पुस १ मा थापाथलीमा तरुण दलको कार्यक्रम सुरु भइसकेको थियो। सिंहध्वज तरुण दलको सभापति थिए। नूतनले काठमाडौंमा गरेको संगठन विस्तारबारे धेरै जानकार नै थिए। त्यसैले पाको र अनूभवि नूतन कार्यक्रममा उपस्थित हुनेहरुको व्यवस्थापनमा खटिए। केहि दिनदेखि राजाले केही गर्छन् भन्ने हल्ला चलिरहेको थियो।
कार्यक्रम सुरु भइसकेको थियो, एकाएक माहौल बिग्रियो। कार्यक्रममा सेनाको संख्या बढ्यो।
ब्रिगेडियर जनरल सुरेन्द्रबहादुर शाह र समरराज कुँवर आएर बीपीको बडिगार्डलाई बोलाए। त्यसपछि बीपीको बडिगार्डको साथमा रहेको रिभल्वर खोसे। उनीहरु मञ्चमा गएर बिपीलाई स्यालुट ठोके र भने, ‘सरकारबाट हुकुम बक्सेको छ।’
उनीहरुले बिपी, गणेशमान, कृष्णप्रसाद, सूर्यप्रसाद लगायत शीर्ष नेताहरुलाई कार्यक्रम हलबाट निकालेर रसियन जिपमा राखेर गए।
शीर्ष नेताको पक्राउपछि अन्योल भए पनि स्वतःस्फुर्त पर्चा, पप्लेट टाँस्ने र संगठन विस्तारको काम भने भइरहेको थियो। राजधानीका विभिन्न स्थान र चोकहरुमा पर्चा छर्ने, टाँस्ने र संगठन निर्माणको काममा नूतन संलग्न भए। त्यही आरोपमा माघतिर उनी पनि समातिए।
त्यसपछि उनी २०२० साल फागुन-चैत तिर छुटे। त्यसको १ वर्षपछि उनी फेरि समातिए। समातिनेमा कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, कमल चित्रकार लगायत थिए। त्यसरी समातिनुको कारण भने विद्यार्थीले आन्दोलन गर्न सक्ने दरबारको पूर्वानुमान थियो।
एक–डेढ वर्षको जेल बसाइपछि रिहा भएका नूतनले आफ्नो अपुरो अध्ययनलाई पूरा गर्नतर्फ लागे। उनले त्रिभुवन विश्वविद्यालयबाट बीएल, एमए पूरा गरे। सन् १९६९ विश्वव्यापी शान्तिका लागि युवाहरुको संगठन सर्भिस सिभिल इन्टरनेसनलमा आवद्ध भए। बेलायतमा ६ महिना बसे। त्यहाँ एम्नेस्टी इन्टरनेसनलसँग सम्पर्क भयो।
महेन्द्ररत्न कलेजमा अध्यापन
बेलायतबाट फर्किएपछि चुप लागेर बस्दा तत्कालिन सरकारलाई किन चुप लागेर बस्यो भन्ने शंका हुन्थ्यो। नूतनले महेन्द्ररत्न कलेजमा पढाउन थाले। सरकारी कलेजमा पढाउन रुचि थिएन। त्यसैले निजी कलेजमा पढाउन थाले। तर पछि निजी कलेजलाई पनि सरकारीमा गाभ्ने सरकारले निर्णयले गर्यो। त्यसै अनुरुप तीन वर्ष पढाएकालाई त्रिभुवन विश्वविद्यालयको स्थायी शिक्षकको रुपमा दर्ता गर्यो। त्यसपछि नूतन अध्यापनतिर लागे। र, पद्मकन्या क्याम्पसमा पढाउन थाले।
पद्मकन्या क्याम्पसमा पढाउन थालेको केही समयमै विद्यार्थी आन्दोलन भयो। कांग्रेस र कम्युनिष्ट विचार धाराका शिक्षकलाई निकाल्न आदेश दिइयो। भित्रभित्रै विद्यार्थीलाई उचालेको आरोप उनीहरुमाथि लगाइयो। त्यसको कारण थियो, मानिसहरुलाई तर्साउनु। त्यसरी निकालिनेमा नूतनसँगै हिरण्यलाल श्रेष्ठ, अर्जुननरसिंह केसी, साहना प्रधान, दुर्गा पोख्रेल लगायत करिब २५ जना थिए।
शिक्षण पेसाबाट निकालिएपछि नूतनले २०३४ सालदेखि वकालत पेसा अँगाले। र, विसं २०४३/०४४ सालतिर सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्ष भए।
२०४६ सालको आन्दोलनपछि शिक्षण पेसाबाट निकालिएका शिक्षकलाई सहप्रध्यापकको रुपमा पुनर्बहाली गरियो। त्यसपछि पुनः नूतनले पद्मकन्या क्याम्पसमा पढाउन थाले। र, त्यहाँ राजनीतिशास्त्रको विभागीय प्रमुखसम्म बने। विसं २०४८ सालमा उनी प्रेस काउन्सिलको अध्यक्ष पनि भए।
त्यसपछि नूतन दुई कार्यकाल युनाइटेड नेसन इकोनोमिकल, सोसल, कल्चरल राइट्स कमिटीको निर्वाचित सदस्य भए।
दोस्रो विश्वयुद्धको समाप्ति र राजनीतिप्रतिको आकर्षण
काठमाडौंमा हिउँ परेको वर्ष अर्थात २००१ सालमा नूतन वीरगञ्जमा थिए। उनका बाजे गोपीनाथ थपलियाले नातीलाई चलाख बनाउनु पर्यो भनेर त्यहाँ लगेका थिए। बाजे कृषि प्रचारको हाकिम थिए। जागिर भने वीरगञ्जमै थियो। त्यतिबेला काठमाडौंदेखि भीमफेदीसम्म हिडेर जानुपर्थ्यो। त्यहाँबाट अमलेखगञ्जसम्म मालसामान बोक्ने ट्रकमा जानुपर्थ्यो। त्यहाँबाट रेलमा भारतको दरभंगा, जलेश्वर हुँदै जनकपुर पुगे। र, केही दिन त्यही बसे। त्यहाँबाट फेरि रक्सौल वीरगञ्ज हुँदै कलैया बराह पुगे। त्यहाँ घुमेपछि फेरि वीरगञ्ज फर्किए। त्यतिबेला वीरगञ्जमा दुई वटा धर्मशाला थिए। एउटा चिया, दही चिउरा, पुरी तरकारी खाने नास्ता पसल र एउटा कपडाको पसल थियो।
बाजे कहाँ घुम्ने दोधारमा थिए। त्यतिकैमा बाजेलाई घुमाउने मानिसले सपिङ लिस्ट के छ भनेर सोधे। बाजेले आफूले किन्नुपर्ने सामानको लिस्ट भनिसकेपछि ती व्यक्तिले नूतनलाई पनि सोधे, उनको सपिङ लिस्टबारे।
नूतनले आफूलाई ‘जलियाँवाला बाग १९१९’ (१३ अप्रिल १९१९ मा रौलेट एक्टको विरोधमा भारतको पंजावस्थित जालियाँवाला बागको सभामा भएको हत्याकाण्डमा आधारित पुस्तक। जहाँ ब्रिटिस अफिसर जनरल डायरले गोली चलाएका थिए। (त्यसबाट चार सय बढी मानिसको मृत्यु भएको थियो।) किताब चाहिएको बताए। त्यस किताबबारे उनले धेरै कुरा सुनेका थिए।
त्यति सानो मान्छेले त्यस्तो किताब मागेपछि उनले नूतनलाई हेरे र भने, ‘यो किताब त प्रतिबन्धित छ, पाइँदैन।’ त्यतिबेलादेखि नै राजनीतिप्रति आकर्षण रहेको नूतन सम्झिन्छन्।
यस्तै, दोस्रो विश्वयुद्धको अन्त्यपछि नूतनले देखेका अन्य घटना पनि छन्, जसले समाजमा रहेको छुवाछुत र भेदभावबारे साक्षत्कार गरायो।
१४ अगस्ट १९४५ अर्थात वि.सं. २००२ साल साउन ३० गते दोस्रो विश्वयुद्धको अन्त्य भयो। युद्ध लड्न नेपालबाट गएकाहरु फर्किएर आए। युद्ध लड्न जाँदा लावालस्करसँगै बाजागाजासहित गएका थिए। र, फर्किंदा पनि उनीहरु त्यसरी नै फर्किए।
फर्किएकाहरु सबैलाई कपाल खौरिन लगाइयो। र, ब्रहामणलाई १७ पैसा अथवा गौदान गर्न लगाइयो। त्यसको कारण थियो, जातपात र छुवाछुत। युद्धमा हुँदा जहाँ पायो त्यहीँ खाने र जे पायो त्यही लगाएका कारण जात गयो भनेर शुद्ध हुनलाई त्यस्तो उर्दी दिइएको थियो। यी सबै देख्दा नूतनलाई दिक्क लागेको थियो।
मानिस–मानिसबीचमै कथित जातका कारण भइरहेका यस्ता क्रियाकलापप्रति अनौठो लागिरह्यो।
लडाइँमा गएर फर्किएका आर्मीहरु फुर्सदमा दुई–चार जना भेट हुँदा युद्ध सम्झिँदै गफिने गर्थे। त्यस्ता गफ भइरहदाँ नूतनले पाएसम्म सुन्न छुटाउँदैनथ्ये। विदेशमा मान्छेले शिक्षा पाएको, महिलाले युद्ध लडेका कुरा पनि युद्धबाट फर्किएका आर्मीबाट मुखारित हुन्थे। त्यो सुन्दा उनलाई अचम्म लाग्थ्यो। आर्मीहरुबाट नै अन्य देशको उन्नति, शिक्षा, विकास लगायतको कुरा सुन्न पाए नूतनले।
‘एक जना नेपाली सिपाहीलाई बेलायतमा जर्नेलले केही पर्यो भने मलाई भेट्न मेरो घरमा आउनू भनेछन्। एक दिन नेपाली सिपाही जर्नेलको घरमा जाँदा जर्नेलले नै आफ्नो बगैंचामा घाँस काट्दै रहेछन्। जर्नेलले आफ्नो काम आफैँले गरेको देखेपछि नेपाली सिपाही चकित परेको कुरा पनि गफमै सुनेँ। त्यसले देश भित्रका असमानता र समस्याबारे केही मात्रामा थाहा भयो,’ नूतन सम्झिन्छन्।
पहिले र अहिले
जीवनका ९५ वसन्त पार गर्दै गर्दा नूतनलाई पहिलेभन्दा अहिलेको समय नै गज्जब लाग्छ। अहिलेको विकास र सेवा सुविधाबारे चर्चा गर्दै उनी भन्छन्, ‘पहिले काम नै हुँदैनथ्यो। अहिले मानिसले देश विदेश सबैतिर धेरै कुरा देखे। विदेशमा जस्तो नभए पनि पहिलेभन्दा धेरै भएको छ।’
राणाको समयमा शान्ति, सुरक्षा र न्यायको कुरा मात्रै थियो। स्कुल, बाटोघाटो, घर घरमा पानी पुर्याउने भन्ने हुँदैन्थ्यो। मानिसले इनारको पानी खान्थे। अहिले त घर–घरमा धारा पुगिसक्यो। स्वास्थ्य, शिक्षा, रोजगारी लगायतको माग हुन्छ। आर्थिक उन्नतिको माग हुन्छ। उनी भन्छन्, ‘पहिले भ्रष्टाचार नभएको होइन हुन्थ्यो। तर अहिले भने त्यो झनै बढेर गएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।