भारतमा शासन गरिरहेका अंग्रेजले दिएको जेल सजायबाट मुक्त भएपछि वीपी कोइरालाले केही महिना क्यान्सरको उपचार गराए। त्यतिञ्जेल भारतबाट अंग्रेज शासक फर्किने निश्चितजस्तै भइसकेको थियो। त्यसैले वीपीले नेपालका लागि काम गर्ने राजनीतिक संगठन खोल्ने कुरामा अग्रसरता देखाए।
२००३ असोज १८ का दिन वीपी कोइरालाले एउटा आह्वान सार्वजनिक गरे। जुन भारतको सर्चलाइट पत्रिकामा सम्पादकलाई चिट्ठी स्तम्भमा छापिएको थियो। आह्वानमा भनिएको थियो- ‘…भारतबाट अब छिट्टै ब्रिटिशहरुको औपनिवेशिक शासन समाप्त हुँदैछ। त्यसैको आडमा टिकेको नेपालको जहानियाँ शासनलाई समाप्त पार्न अब त्यति कठिन हुनेछैन। तर, त्यसको निमित्त हामी सबैले संगठित भएर अगाडि बढ्न सक्नुपर्छ। अब अगाडि बढ्ने समय आइसकेको छ। हामी सबै मिलेर एउटा संगठन तयार पारौँ, पार्टीको निर्माण गरौँ र त्यही मार्फत् अगाडि बढौं। समयको प्रवाहले कसैलाई पनि पर्खेर बसिरहँदैन। समयको आवाजलाई सुनेर आफ्नो देशको निमित्त केही गर्न म प्रत्येक दाजु-भाइ, दिदी-बहिनीमा हार्दिक अपिल गर्दछु।’
राजनीतिक दल खोल्ने मनसायसहित गरिएको उक्त आह्वान प्रकाशित भएपछि वीपीलाई धेरै प्रतिक्रियाहरु आए। कतिपय व्यक्ति र संस्थाहरुले पत्र लेखे। ‘मेरो त्यस आह्वानको व्यापक प्रतिउत्तर पाएँ। मलाई चिठीहरु आए, मलाई मान्छेहरु भेट्न भनी आए र नेपालबाट लुकी-लुकीकन पनि आए’, वीपीले आत्मवृत्तान्तमा लेखेका छन्, ‘त्यसपछि मैले भन्ठानें, यसलाई अब संगठनात्मक स्वरुप दिनुपर्यो।’
वीपीको आह्वान सार्वजनिक हुनुअघि नै बनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले ‘नेपाल छात्र संघ (वाराणसी)’ को स्थापना गरिसकेका थिए। यसमा विश्वनाथप्रसाद मिश्र (अध्यक्ष, एक भारतीय प्राध्यापक), कृष्णप्रसाद भट्टराई (उपाध्यक्ष), काशीराज उपाध्याय, रत्नबहादुर पार्थिव, मणिराज भण्डारी, लीलानटेश्वर बराल, ईश्वरी बराल, विश्वबन्धु थापा, भरतमणि शर्मा, रोहिणीराज सत्याल आदि सक्रियतापूर्वक लागेका थिए।
वीपीको आह्वानले कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय लगायतका युवाहरुलाई निकै उत्साहित बनायो। सबै व्यवस्था मिलिसकेपछि छात्र संघकै प्रयासमा कात्तिक १५ गते काशीमा एउटा गोष्ठी आयोजना गरियो। त्यसको मुख्य उद्देश्य राजनीतिक दल खोलेर अघि बढ्ने भन्ने थियो। उक्त भेलाले राणा शासन अन्त्य गर्न र प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नका लागि एउटा तयारी समिति गठन गर्यो। त्यो तयारी समिति नै अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस हो।
त्यो नै नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको मुख्य आधार हो।
देवी प्रसाद सापकोटालाई त्यसको सभापति बनाइएको थियो। राणा शासकबाट देश निकालामा परेका उनी त्यतिञ्जेल निकै बृद्ध भइसकेका थिए। उनलाई राणा शासनविरुद्ध गरेको योगदानको कदर गर्दै सभापति बनाइएको थियो। उपसभापतिमा बालचन्द्र शर्मा, महामन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचारमन्त्रीमा गोपालप्रसाद भट्टराई चयन भए। कार्यसमितिमा बटुकप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई र नरेन्द्र रेग्मी थिए। त्यसको संयोजक वीपी कोइराला रहे।
तयारी समितिलाई सम्बोधन गर्दै वीपी कोइरालाले संगठनलाई नेपालभित्र पुर्याउने तत्काल सम्भव नभएपनि नेपालीहरुको सहयोग प्राप्त गर्न सक्ने बनाउनुपर्ने बताएका थिए। जनतालाई अधिकारसम्पन्न बनाउने, देशलाई सम्मुनत बनाउने र मुलुकको शासनभार जनताको हातमा थमाउने उनको भनाइ थियो।
बनारसमात्रै होइन, स–साना संगठनहरु अन्यत्र पनि विस्तार भइरहेका थिए। यस्तो एउटा संगठन कलकत्तामा पनि थियो। पार्टी खोल्नका लागि वीपी विभिन्न संगठन भेट्दै र बनाउँदै हिँडेका थिए। पार्टी खोल्ने सम्बन्धमा उनले भारतीय नेताहरु तथा मित्रहरु जयप्रकाश नारायण, राममनोहर लोहियाहरुसँग पनि सल्लाह सुझाब लिइरहेका थिए।
यसैबीच वीपी र गणेशमान सिंहको भेट भएको थियो। सिंह कृष्णप्रसाद प्रधानको नाममा गतिविधि गरिरहेका थिए। उनी टंकप्रसाद आचार्य नेतृत्वको नेपाल प्रजापरिषद्का सदस्य थिए। वीपीले सिंहबारे सोधखोज गरेपछि सम्पर्क सूत्रको रुपमा सिंहका साथी देवशंकरलाल पत्ता लगाएका थिए। उनैमार्फत सिंहसँग भेटको प्रयास गरेका थिए। सिंहको भनाइ भने आफू वीपीलाई भेट्न जाने होइन, उनी आफूलाई भेट्न आउनुपर्छ भन्ने थियो। वीपीले वास्ता नगरेको भए पनि लाललाई यो भेटको चाँजोपाँजो मिलाउन सकस पर्यो। अन्ततः उनले एउटा चिया पसलमा दुवैलाई ठीक चार बजे बोलाए। ‘म अलि चाँडै पुगें, पाँच दश-मिनेट मिनेट चाँडै। उनलाई (लाललाई) अप्ठ्यारो पर्यो- तपाईं पहिले आइदिनुभयो, गणेशमानजी अझ आइपुग्नुभएको छैन’, वीपीले भनेका छन्, ‘गणेशमानजी नजिकै हुनुहुँदो रहेछ, ४ नबजुञ्जेल ओहोर-दोहोर गरिरहनुभएको रहेछ। उहाँ आउनुभयो, अनि कुराकानी भयो।’
पार्टीको नाम, झन्डा, विधान लगायतका विषय टुंग्याउन पार्टी अधिवेशन आवश्यक पर्थ्यो। सोही अनुसार, २००३ माघ १२ र १३ गते कलकतामा प्रथम अधिवेशन आह्वान गरियो।
(उल्लिखित सन्दर्भहरु विभिन्न पुस्तकहरुबाट लिइएको हो। सन्दर्भमा आएकामध्ये कतिपय मितिहरु पुस्तकहरुमा फरक-फरक रुपमा प्रस्तुत भएको पाइन्छ। तैपनि, धेरैले किटान गरेको मितिलाई यहाँ उल्लेख गरिएको छ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।