काठमाडौं– राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।
सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो।
निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ।अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिट निवेदनको पेसी यही मंसिर ७ गतेलाई तोकिएको छ।
जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयक असोज ३० गते गरेको थियो।
त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो।
सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश दिएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो। हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।