काठमाडौं- नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य समान थियो- नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने। एउटै उद्देश्यका लागि दुईवटा पार्टी रहिरहनुको खासै औचित्य पनि थिएन। त्यसैले यी दुवै पार्टीले एकता प्रक्रिया अघि बढाए।
दुवै पक्षले आफ्ना वक्तव्यमार्फत् दुवै पार्टीबीच एकता आवश्यक रहेकोमा जोड दिए। सन् १९५० मार्च ९ का दिन दुवै पार्टीका सभापतिहरु मातृकाप्रसाद कोइराला र महेन्द्रविक्रम शाहले संयुक्त प्रेस वक्तव्य सार्वजनिक गर्दै आफूहरु एकताका लागि सहमतिमा पुग्नै लागेको बताए।
‘नेपालमा प्रजातन्त्रको स्थापना गर्ने एक महान् र कठिन कार्य सम्पन्न गर्न प्रजातन्त्रको पक्षमा लडिरहेका शक्तिहरुका बीचमा एकता कायम गर्नु अपरिहार्य भएको छ। वर्तमान नेपालको एकतन्त्रीय शासनलाई समाप्त पारेर प्रजातान्त्रिक पद्धति कायम गर्न राष्ट्रले निकै ठूलो प्रयत्न गर्नुपर्दछ। त्यसका निमित्त आम तवरले आन्दोलन गर्न सबै प्रगतिशील पक्षको एक राष्ट्रिय संगठन बन्न आवश्यक छ। यही आवश्यकताले प्रजातन्त्रको पक्षमा लडिरहेका सबैलाई एक जुट भएर एक शक्तिशाली संगठनको निर्माण गर्न बाध्य गरेको छ। हामी त्यसबारे सहमतिमा पुग्नै लागेका छौं’, वक्तव्यमा भनिएको छ। (नेपाली कांग्रेसः प्रजातन्त्रको स्थापना र विकासमा योगदान, डा बुद्धिप्रसाद भण्डारी)
वक्तव्यमै उल्लेख भए अनुसार सन् १९५० मार्च १५ मा दुवै पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्यो। बैठकले एकीकरणलाई सिद्धान्ततः स्वीकार गर्यो। साथै, एकता प्रक्रिया टुंगो लगाउन राष्ट्रिय कांग्रेसले मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गणेशमान सिंह, प्रजातन्त्र कांग्रेसबाट महेन्द्रविक्रम शाह, सुवर्ण शमशेर र सूर्यप्रसाद उपाध्यायलाई जिम्मेवारी दिइयो। उनीहरुले एकीकरणको ढाँचा पहिल्याए।
‘हामी अल्मलिएर बस्यौं भने लक्ष्यमा पुग्न विलम्ब हुनेछ र इतिहासको पानामा हामी पनि दोषी ठहरिनेछौँ। हामी जुट्न सकेनौँ भने राणा शासन नै यसबाट लाभान्वित हुनेछ। यही विषयलाई हृदयंगम गरेर हामी एक भएर अगाडि बढ्ने मार्ग प्रशस्त गर्न लागेका हौँ। छिट्टै हाम्रो दुवै दलका प्रतिनिधिहरुको सम्मेलन डाकिनेछ। अब हाम्रो दुवै दलका कार्यकर्ताहरुले एकले अर्कामा विलय भएको ठानेर एकताबद्ध रुपमा काम गर्नुपर्नेछ’, मातृका र महेन्द्रविक्रमले मार्च २७ मा जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।
त्यसपछि सन् १९५० अप्रिल ९ (२००६ चैत २७) मा कोलकत्ताको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन (अधिवेशन) आयोजना गरियो। तीन सय जना प्रतिनिधि सहभागी भएर दुई दिनसम्म चलेको सो सम्मेलनले दुई पार्टी एक भएको र नयाँ नाम ‘नेपाली कांग्रेस’ रहेको घोषणा गर्यो।
सोही दिन नेपाली कांग्रेसका पदाधिकारी चयन गरियो। पूर्वसमझदारी अनुसार सभापति मातृकाप्रसाद कोइराला, महेन्द्रविक्रम शाह महामन्त्री चयन भए। त्यस्तै, केन्द्रीय कार्यसमितिमा राष्ट्रिय कांग्रेसका तर्फबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरी तथा प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर र कुँवरकल्लु सिंह नेपाली चयन भए। भट्टराई सहमहामन्त्री र सुवर्ण शमशेर कोषाध्यक्ष भए।
पार्टीको नाम र झण्डाको विषयमा गणेशमान सिंहको अडान रोचक छन्। पार्टी एकताका लागि कुराकानी चलिरहँदा नै यी विषय पेचिलो बनेर आएका थिए। सिंहले पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस नै हुनुपर्ने अडान राखेका थिए। तर, महेन्द्रविक्रमले त्यस्तो नाम राख्दा पार्टी एकता गरेको नभई आफ्नो पार्टीको विलय भएको अर्थ दिने र कार्यकर्ताको भावनामा ठेस लाग्ने बताए। त्यसपछि दुवै पार्टी आफ्नो नाममा रहेको राष्ट्रिय र प्रजातन्त्र हटाउन सहमत भए। तर ‘नेपाली’ र ‘नेपाल’ दुई थरी शब्द कायमै थियो।
सिंहको भनाइ छ- ‘प्रजातन्त्र र राष्ट्रिय शब्द हटाउन सहमति भएपछि ‘नेपाल कांग्रेस’ र ‘नेपाली कांग्रेस’ मध्ये कुन नाम राख्ने भन्ने सवाल उठ्ने नै भयो। सबैजना ‘नेपाल कांग्रेस’ राख्न राजी भएको देखेर मैले भनें- ‘नेपाली कांग्रेस’ राख्नुपर्दछ। भाषाको दृष्टिले पनि नेपाल कांग्रेस हुँदैन, नेपाली कांग्रेस शुद्ध हो, त्यसैले हाम्रो पार्टीको नाउँ नेपाली कांग्रेस राखौं।’ (मेरा कथाका पानाहरु- गणेशमान सिंह)
उनको आग्रह अन्तिममा सबैले स्वीकार गरे। त्यसपछि पार्टीको नाम त्यही कायम रह्यो।
अर्को विषय हो, झण्डा। नेपाली राष्ट्रिय कांग्रेसको झन्डा (माथि सेतो धर्को, त्यसपछि हरियो र त्यसको तल पहेँलो) नै नेपाली कांग्रेसको झण्डा हुने तय भएको थियो। तर, सम्मेलनमा झण्डाको प्रस्ताव राख्दा नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा (दुईतिर रातो, बीचमा सेतो र त्यसमा चार तारा) नै कायम हुने भयो।
गणेशमान सिंहले यस विषयमा पनि विरोध जनाएका छन्। उनले बीपीलाई यस विषयमा असन्तुष्टि पोखे। बीपीले भने सुवर्ण शमशेरले आफूलाई थर्टिन थियटरको चार तलाभरी चार तारे झण्डा देखाएको र नेपालमा क्रान्ति गर्न भनेर बनाइराखेको तर राष्ट्रिय कांग्रेसको झण्डा सहमति भएकाले त्यही कायम रहेमा पार्टीको लाखौं खर्च गरेर तयार पारेको झण्डा खेर जाने भएको भन्ने दु:खेसो गरेको बताए। त्यसपछि आफू सोही झण्डा कायम गर्न तयार भएको जवाफ दिएका थिए।
यो पनि पढ्नुहोस्
नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी
नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै
पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?
पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण
कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।