काठमाडौं– लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो ।
लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा साविक विजेता जनकपुर,चितवन राइनोज र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।
योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका हुन् । पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिएका छन् । कर्णाली याक्स यसअघि नै बाहिरिसकेको थियो ।
जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर एक बलमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सर्ट ३०, सुमित महर्जन ०, निरोशन डिक्वेला १७, सन्दीप जोरा ०, जेजे स्मिथ २१ रनमा आउट भए । दिलीप नाथ १५ र रुवेन ट्रम्पल्म्यान ६ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका संगीत कुरे ३, मायन यादव २ र सञ्जय कृष्णमूर्तिले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
त्यसअघि जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।
बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।