काठमाडौं- २०१४ सालको विशेष महाधिवेशनपछि कांग्रेसको जीवनमा मात्र होइन, देशकै जीवनमा महत्त्वपूर्ण परिघटनाहरू देखा परे। सुवर्ण शमशेर प्रधानमन्त्री बने। नयाँ संविधान जारी भयो। पहिलो आमनिर्वाचन भयो। जनताबाट निर्वाचित संसद्को स्थापना भयो। बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। एक हिसाबले भन्ने हो भने २००७ सालको क्रान्तिमा देखिएको सपनाको ठूलो हिस्सा पूरा भएको थियो त्यसबेला।
यसरी कांग्रेसले जनताबाट निर्वाचित भएर सत्ता सञ्चालन गरिरहेको अवस्थामा सातौं महाधिवेशन आयोजना भएको थियो। काठमाडौंको महाराजगंजस्थित लक्ष्मी निवासमा २०१७ वैशाख २५ देखि ३१ सम्म यो महाधिवेशन आयोजना भयो। महाधिवेशनमा ६ सयभन्दा बढी प्रतिनिधिले भाग लिएका थिए।
यो महाधिवेशन सुरु हुनुभन्दा अगाडि नेपाली कांग्रेसको विधान अनुसार जिल्ला-जिल्लामा नेपाली कांग्रेस बुथ समिति, क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन तथा महासमितिका सदस्यहरुको निर्वाचन सम्पन्न भएको थियो। (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस- भाग २, राजेश गौतम)
महाधिवेशनको पहिलो दिन नै पार्टी सभापति चयनका लागि निर्वाचन भएको थियो। सभापतिका लागि बीपी कोइराला र भूदेव राई प्रतिस्पर्धामा उत्रिएका थिए। तर, अत्यधिक मतका साथ बीपी नै सभापतिमा निर्वाचित भए।
सभापतिमा निर्वाचित भएपछिको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बीपीले गम्भीर पदको जिम्मेवारी पुनः आफ्नो काँधमा पर्न गएको बताएका थिए।
‘यो गम्भीर दायित्व मेरो व्यक्तिगत दायित्व मात्र नभै हाम्रो पार्टीको सामूहिक दायित्व हो। तसर्थ यस विश्वासमा कि सबै साथीहरूले आफ्नो-आफ्नो स्थानमा रही हृदयले आपसमा सहयोग गरेर यस जिम्मेदारीलाई पूरा गर्न अठोट गर्यौं भने कुनै कारण छैन हामीहरूले इतिहासद्वारा प्राप्त दायित्वलाई राम्ररी सफलताका साथ निभाउन नसकौं। नेपाली कांग्रेस पूर्ण प्रजातान्त्रिक संस्था भएकोले यसको नेतृत्व व्यक्ति विशेषमा मात्र निहित नभै सम्पूर्ण प्रतिनिधि समूहमा निहित छ’, उनको सम्बोधनमा उल्लेख थियो।
भोलिपल्ट (२६ गते) महामन्त्रीद्वय श्रीभद्र शर्मा र त्रिपुरवरसिंह प्रधानले तयार गरेको रिपोर्ट शर्माले पढेर सुनाएका थिए। सात घण्टासम्म छलफल भइ सो रिपोर्ट पारित भएको थियो। रिपोर्टमा कार्यकर्तामा जोस घटेको उल्लेख गर्दै भनिएको छ- ‘चुनावमा पार्टीको अत्यधिक बहुमतमा भएको विजयले साथीहरुमा त्यो जोस छैन जो चुनावसम्म थियो। पार्टीको संगठनात्मक काममा साथीहरुको त्यो लगन देखिँदैन। पार्टीको वास्तविक स्थितिको अध्ययन गर्दा लाग्छ कि मानौं हाम्रो पार्टीको लक्ष्य चुनावमा विजय हासिल गर्नु मात्र थियो। आम चुनावको नेपाली कांग्रेसमाथि जो जिम्मेदारी र कर्तव्यको बोझ थपिदिएको छ, त्यसको अनुभव जति साथीहरुले गर्नुपर्थ्यो, त्यो आज देखिएको छैन।’
त्यस्तै, सूर्यप्रसाद उपाध्यायद्वारा प्रस्तुत र मातृकाप्रसाद कोइराला समर्थक रहेको नीति सम्बन्धी प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको थियो।
महाधिवेशनमा धन्यवाद प्रस्ताव र श्रद्धाञ्जली प्रस्ताव बाहेक १४ वटा अन्य प्रस्तावहरु प्रस्तुत भएका र पारित भएका थिए। त्यसरी प्रस्तुत गरिएका प्रस्तावहरुमा कृषि ब्यांक र सहकारी ब्यांक सम्बन्धी प्रस्ताव, नाजायज तमसुक खारेज गर्ने सम्बन्धी, पुनर्वास सम्बन्धी प्रस्ताव, जमिनदारी उन्मुलनसम्बन्धी प्रस्ताव, सक्रिय तटस्थ परराष्ट्र नीतिप्रति धन्यवाद प्रस्ताव, उद्योग सम्बन्धी प्रस्ताव, श्रमिक आन्दोलन सम्बन्धी प्रस्ताव, गण्डक सम्झौता सम्बन्धी प्रस्ताव, रंगभेद नीतिसम्बन्धी प्रस्ताव, छात्रवृत्ति सम्बन्धी प्रस्ताव, श्रमदान सम्बन्धी प्रस्ताव, महिला उत्थान सम्बन्धी प्रस्ताव, सहकारी खेती सम्बन्धी प्रस्ताव र राज्य उन्मुलनसम्बन्धी प्रस्ताव थिए। महाधिवेशनबाट पार्टीको विधान पनि संशोधन गरिएको थियो।
महाधिवेशन सकिएपछि सभापति बीपी कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको घोषणा गरे। घोषित कार्यसमितिको महामन्त्रीमा श्रीभद्र शर्मा र त्रिपुरवरसिंह प्रधान तथा कोषाध्यक्षमा सुवर्ण शमशेर थिए। सदस्यहरूमा सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, मातृकाप्रसाद कोइराला, विश्वबन्धु थापा, गिरिजाप्रसाद कोइराला, रुद्रप्रसाद गिरी, केबी भट्टराई, सरोजप्रसाद कोइराला, गणेशकुमार शर्मा, हेमराज शर्मा ‘अधिकारी’, चिन्ताहरण सिंह, भूदेव राई, बलबहादुर राई, तेजमान तुम्बाहाम्फे, चन्द्रलाल श्रेष्ठ, डिके शाही, टंकनाथ काफ्ले, रामेश्वर श्रेष्ठ, दलकृष्ण श्रेष्ठ, राधाकृष्ण थारु, राधादेवी कँडेल, कृष्णलाल लेखक, दिलबहादुर बुढा, डिकबहादुर गुरुङ, लोकेन्द्रबहादुर शाह, देवनाथदास यादव र गिरीप्रसाद बुढाथोकी थिए। कार्यालय सचिव भने वासुदेव रिसाललाई तोकिएको थियो।
(यहाँ उल्लेखित तथ्यगत जानकारीहरू मुख्यरुपमा राजेश गौतमको पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस- भाग २’ बाट लिइएको हो।)
यो पनि पढ्नुहोस्
पाँचौं महाधिवेशन : बीपी र मातृका विवादले पार्टी विभाजन
विशेष महाधिवेशनबाट नेतृत्वमा पुनः बीपी, राजाको घोषणा ‘संसद्को चुनाव’
जब राणाशाहीविरुद्ध लड्न राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एक भए
कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा
पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण
पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?
नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै
नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।