काठमाडौं– भारतको एउटा फिल्म निकै हिट भएको थियो, ‘सिंघम।’ फिल्ममा एक जना चर्चित खलपात्र छन्, ‘जयकान्त सिक्रे।’
फिल्ममा सिक्रेले आफ्नो मान तथा प्रतिष्ठाका लागि जस्तोसुकै कदम उठाउँछन्। झुक्ने उनको बानी नै हुँदैन। ‘कम्प्रमाइज’ त गर्नै चाहँदैनन्। आफूविरुद्ध उठ्ने आवाज दबाउन उनले कैयौंको ज्यान लिन्छन्। सिंगो गाउँलाई आगो लगाउन पनि पछि पर्दैनन्।
प्रहरी, प्रशासन र अदालत उनको अगाडि मुकदर्शक बनेको छ। सहरमा चारैतिर डर र त्रासको माहौल छ। गुण्डागर्दीदेखि बलात्कारसम्म गर्ने उनी अनेकौं तिकड्म गरेर शक्तिशाली नेता बन्न सफल हुन्छन्। यस्तो नकारात्मक भूमिकामा अभिनय गर्ने कलाकार प्रकाश राज हुन्।
यहाँ प्रकाश राजको होइन जयकान्त सिक्रेको प्रसंग जोडिएको हो। पछिल्लो समय नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि जयकान्त सिक्रेजस्तै ‘खतरनाक भिलेन’को रूपमा चित्रण गर्न खोजिँदैछ।
अल्मुताइरीले नेपाल आउँदै गर्दा आफू फुटबल प्रशिक्षकको भूमिकामा ‘कडा रूपमा’ प्रस्तुत हुने संकेत देखाइसकेका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई प्रशिक्षक नियुक्त गरेपछि भनेका थिए– ‘मलाई आफ्नो काम गर्न दिनुस्, तपाईं (एन्फाका पदाधिकारी)हरू आफ्नो काम गर्नुस्।’
उनको संकेत थियो– फुटबल खेलाउने काम मेरो हो, राजनीति गर्ने काम तपाईंहरूको।
अल्मुताइरी नेपाली फुटबलमा जोडिनुअघि कुन खेलाडीलाई मैदानमा उतार्ने र कसलाई बाहिर बसाउने भन्ने निर्णय प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एन्फाका पदाधिकारीले गर्थे। यसैले क्लबका पदाधिकारीहरूको दबाबमा धेरै पटक खेलाडी होइन, प्रशिक्षक नै परिवर्तन भएको इतिहास छ।
यही विगत बुझेर अल्मुताइरीले आफू प्रशिक्षक भएपछि एन्फा मुख्यालयबाट दशरथ रंगशालसम्म फैलिएको फुटबल राजनीतिलाई बन्द गर्न आग्रह गरेका थिए। सकारात्मक परिवर्तनका लागि उनी ‘जयकान्त सिक्रे’को भूमिकामा उभिनु जायज थियो। तर, उनको भूमिकालाई लिएर एन्फा पदाधिकारीहरू खुसी थिएनन्।
आफूले निभाउनुपर्ने भूमिकाप्रति अल्मुताइरी पहिले नै परिचित थिए। ठूलो लगानी कतारबाट आउँदै गर्दा नेपाली फुटबलमा अल्मुताइरी शक्तिशाली बन्ने पक्का थियो। र एन्फा पदाधिकारी र फुटबल सरोकारवालाहरूको विरोध यो हदसम्म आइपुग्छ भन्ने पूर्वनिर्धारित नै थियो।
प्रशिक्षक अल्मुताइरीलाई ‘खलनायक’ चित्रण गरेर विरोध गर्ने योजना अहिले बुनिएको होइन। २०७७ सालमा नेपाली फुटबलमा आबद्ध हुँदै गर्दा नै आशंकाको नजरले हेर्नेहरू प्रशस्तै थिए। साफ च्याम्पियन्सिपमा भाग लिने तयारी गर्दैगर्दा अल्मुताइरीलाई ‘फ्लप’ बनाउन एन्फा पदाधिकारी मात्र होइन केही खेलाडी नै पछि लागेका थिए।
उनी नेपाल आउँदा काठमाडौंमा फ्रेन्चाइजी ‘नेपाल सुपर लिग’ चलिरहेको थियो। साफ आउन केही दिन बाँकी रहेको अवस्थामा उनले यही लिग खेलेका खेलाडी समेटेर टोली बनाए। मनिष डाँगी र आयुष घलानजस्ता सम्भावना बोकेका खेलाडी पर्दा लिग विजेता काठमाडौं रेजर्सबाट एक जना पनि परेनन्। उक्त टोलीका कप्तान थिए, विकेश कुथु। कुथु उनै थिए, जसले केही खेलाडीको इश्यु बनाएर खेलाडी संघमा राजनीति गरे।
कप्तान किरण चेम्जोङको विकल्पका रूपमा हेरिएका कुथुलाई मौका नदिइ अल्मुताइरीले दीप कार्की र विशाल श्रेष्ठलाई समेटे। त्यहीँदेखि केही खेलाडी अल्मुताइरीलाई फ्लप बनाउने अभियानमा थिए।
अहिलेको विवाद अल्मुताइरीका लागि नौलो होइन। साफको तयारी भइरहँदा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफूमाथि राजनीति गर्न लागेको अल्मुताइरीको दाबी थियो। नेपाली फुटबललाई माथि उठाउन आएका उनीमाथि राजनीति भएपछि उनले सेमिफाइनलमा बंगलादेशविरुद्धको खेलपछि माल्दिभ्सबाट राजीनामा दिएका थिए।
तर, दर्शकले उनीमाथि भएको व्यवहारविरूद्ध प्रश्न उठाउँदै एन्फा नेतृत्वको खुलेर विरोध गरे। फुटबल समर्थकहरू अल्मुताइरीको पक्षमा थिए। त्यसपछि खेलाडी पनि नराम्ररी झस्किए।
अल्मुताइरी कतारी लगानीमा दोस्रोपटक नेपालमा ‘सिंघम भाग–२’ का लागि फर्किए। उनी फिल्मको पहिलो भागमा जस्तै दोस्रोमा थप शक्तिशाली भूमिकामा आफूलाई उभ्याउन चाहन्छन् भन्ने प्रस्ट थियो।
उनी आफ्नो नेतृत्वमा ‘दमदार कथा’ बुन्न चाहिरहेका थिए। तर, १० खेलाडीले उनको कार्यशैलीको विरोध गर्दै क्याम्प छोड्ने निर्णय गरेपछि उनी केही निराश भए। त्यैपनि उनी काँचो फलामलाई कुटेर अन्य खेलाडीलाई मूर्तिको आकार दिन व्यस्त छन्। मिहिनेत र पूर्ण अनुशासनबिना नै सफल हुन चाहने खेलाडीको लागि उनको स्पष्ट भनाइ छ– म अरु खेलाडीलाई पनि तिमीहरू जस्तै स्टार बनाउन सक्छु।
खेलाडी र प्रशिक्षकबीच अहिलेको द्धन्द्ध औचित्यहिन हो। द्वन्द्वको स्पष्ट कारण नै छ। खेलाडीहरूले गाँस, बास र कपासको बन्दोबस्त राम्रो भएन भनेर अल्मुताइरीविरुद्ध द्धन्द्धमा उत्रिनु नै गलत थियो। उनी प्रशिक्षक नियुक्त भएपछि सबैभन्दा बढी सुविधा यिनै खेलाडीले पाएका छन्। आफूभन्दा बलियो प्रतिद्धन्द्धीसँग भिडेर खेल कौसल तिखार्ने अवसर पनि पाएका थिए। यो विगतको तथ्यले बताउँछ।
त्यसैले आफूमाथि लागेको झूटो आरोपबाट उनी हल्लिएको देखिँदैन। उनी बरु अरु क्षमतावान् खेलाडीलाई अवसर दिने अभियानमा छन्। खेलाडीको ‘धर्म’ नै हो, खेल्ने। प्रतिकूल अवस्था भए पनि खेल्नैपर्छ। फुटबलमा प्रशिक्षकलाई ‘डिक्टेटर’ को आरोप लाग्नु ठूलो कुरा होइन। उसको भूमिका नै ‘डिक्टेटर’को हुन्छ। मानवअधिकारको उल्लंघन, धार्मिक स्वतन्त्रतामा अंकुश र लैंगिक शोषणमा भने प्रशिक्षकलाई छुट हुन्न। त्यसबाहेक, प्रशिक्षक ‘डिक्टेटर’ भयो, बोल्न दिएन भनेर खेलाडीले आरोप लगाउनु केटाकेटीले चकलेट नदिँदा भुईंमा लडिबुडी गरेर रुनु जस्तै हो।
अहिले नेपाली खेलाडीहरू ‘क्लोज क्याम्प’ मा फर्किनुको सट्टा कहिले राष्ट्रिय खेलकुद परिषद् र कहिले खेलकुद मन्त्रालय दौडिएका छन्। यो त्यति सान्दार्भिक देखिँदैन। यसको सट्टा प्रशिक्षक र खेलाडी बसेर आपसी सहमतिमा विवाद टुंग्याउँदा नेपाली फुटबलले जित्ने छ। किनभने, खेलाडीहरू अल्मुताइरीको मुख्य भूमिका रहने ‘फिल्म’मा खेल्छु भन्न पनि सकिरहेका छैनन्। न त अल्मुताइरीलाई हटाउनुपर्ने ठोस कारण पेश गर्न सकिरहेका छन्। उनीहरुको हठले नयाँ खेलाडीहरूको खेल्न पाउनुपर्ने नैसर्गिक अधिकार खुम्चिरहेको छ। यसको नतिजा पछि सिनियर र जुनियर खेलाडीबीच टिममा आउने द्वन्द्व नै हो।
एन्फाले समाधानको बाटो खोज्न नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणालाई जिम्मा दिएको छ। उनको संयोजकत्वमा गठित एक सदस्यीय छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।
द्वन्द्वको कारण बनेका खेलाडी यो मुद्धामा छानबिन समिति बनोस् र अल्मुताइरीलाई कारबाही होस् भन्न सकिरहेका थिएनन्। उनीहरु आफ्नो गल्ती लुकाउन चाहिरहेका थिए। त्यसैकारण उनीहरु विभिन्न संघका पदाधिकारी लिएर एन्फा पुगिरहेका छन्। साफ च्याम्पियनसिपको फाइनल पुगेपछि मिडियामा आफूलाई ‘भगवान्’को संज्ञा दिँदै हिँडेका खेलाडीहरुको परिवर्तित रुप देखेर प्रशिक्षक सशंकित हुनु जायज हो।
लामो समयदेखि आन्तरिक किचलोमा फसेको नेपाली फुटबलले पाँच दशकमा पनि आफ्नो मुहार फेर्न सकेको छैन। यसमा एन्फाका पदाधिकारीको राजनीतिक बाछिटाको प्रभाव उतिकै छ। त्यसमाथि ‘सिंघम’को जस्तै दमदार भूमिका निभाउने प्रशिक्षक नियुक्ति नहुनुले पनि फुटबलको स्तर सुधार हुन सकेको थिएन।
प्रशिक्षकमा अल्मुताइरी नियुक्त भएसँगै उनी राजनीतिमा नभइ खेलमा ध्यान दिरहेका थिए। तर, उनलाई एन्फा नेतृत्वले नै राजनीतिमा तान्ने काम गरिरह्यो। यो राम्रो संकेत होइन।
नयाँ खेलाडीको उनीमाथि ठूलो आशा छ। युवा खेलाडीले अवसर पाउने अवस्था अल्मुताइरीले नै बनाए। युवा खेलाडी सिनियर खेलाडी जस्तै बुट र जर्सी फ्याँकेर विदेश पलायन हुन चाहँदैनन्। त्यसैले अल्मुताइरीविरूद्ध लहडमा लागेर विद्रोह गरेका खेलाडीलाई उनीहरूले साथ दिएका छैनन्। खेलमा हार जित एउटा पाटो हो। अहिले अल्मुताइरीले हार्नु भनेको फुटबलमा भविष्य खोजिरहेका पुस्ताले हार्नु हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।