काठमाडौँ – बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वका पार्टी तथा घटकहरुले आज काठमाडौँमा एकता सभा गर्दैछन्।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहको एकता सभा हुन लागेको हो।
राष्ट्रिय सभागृह काठमाडौँमा दिउँसो १२ः३० बजे कार्यक्रम हुने र यसको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ। उनीहरुबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो।
सो सभाको अध्यक्षता सन्तोष परियारले गर्ने, दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने र सुदन किराँतीले स्वागत मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ।
एकता घोषणापछि पार्टीमा थोरै समूहको अध्यक्ष परिषद् बनाइने भएको छ।
तीन पक्ष मिलेपछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी हुनेछ। पार्टी संरक्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रहने छन् भने माओवादी पूर्व उपमहासचिव जनार्दन शर्मा पार्टीको कार्यकारी भूमिकामा रहने छन्। पार्टीको चुनाव चिहृन आँखा हुने छ। दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।