राजविराज– पुस्तक व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालित राजविराजको ‘पुस्तक महल’ बन्द भएको छ। विद्यार्थी संगठनको विरोध र आन्दोलनपछि शनिबार भएको सर्वपक्षीय बैठकमा ‘पुस्तक महल’ बन्द गर्ने निर्णय भएको हो।
पुस्तक महलले पाठ्यपुस्तक बिक्री–वितरणमा सिन्डिकेट लागू गरेको विषय पुष्टि गर्दै उक्त पसल बन्द गर्ने र जिल्लाभरका हरेक पुस्तक पसलबाट सहज रुपमा पाठ्यपुस्तक बिक्री वितरणको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ।
यसैगरी, निजी विद्यालयको पाठ्यपुस्तकमा व्यवहारिकता हेरी सम्भव भएसम्मको छुट दिन पनि व्यसायीहरु सहमत भएका छन्। तर, कति प्रतिशत छुट दिने भन्ने खुलाइएको छैन। यसअघि व्यवसायीहरुले पाठ्यपुस्तकमा छुट नदिने निर्णय गरेका थिए।
बैठकमा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, पुस्तक व्यवसायी महासंघ, सप्तरीका अध्यक्ष शिवनारायण साह (सुरज), विद्यार्थी संगठनका प्रतिनिधिलगायतको सहभागिता थियो।
राजविराजका आधा दर्जनभन्दा बढी पुस्तक व्यवसायीको संयुक्त लगानीमा संचालित पुस्तक महल र सेन्डिकेटको विरोध गर्दै विद्यार्थी संगठनहरु विरोधमा थिए।
उनीहरुले बैसाख १० गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र समेत बुझाएका थिए।
ज्ञापनपत्रका आधारमा स्थानीय प्रशासनले महलमा अनुगमन गरेको थियो। यसपछि कागजपत्रसहित उपस्थित हुन भनेपनि त्यसपछि कुनै प्रतिक्रिया जनाएको थिएन। बरु, १८ वटै स्थानीय तहलाई पत्राचार गरी सेन्डिकेटका विषयमा यथार्थ पत्ता लगाई कारबाही गर्न भनेको थियो।
स्थानीय प्रशासन मौन बसेको भन्दै आक्रोशित विद्यार्थीले बुधबार नै पुस्तक महलमा तालाबन्दी गरेका थिए।
व्यवसायीको सिन्डिकेटले विद्यार्थी/अभिभावक मर्कामा परेको भन्दै अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), संयुक्त विद्यार्थी फोरम, नेविसंघ, राष्ट्रिय विद्यार्थी संघलगायतका विद्यार्थी संगठनले विरोध गर्दै आएका थिए।
यस श्रृंखलाका थप समाचार पढ्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।