सप्तरी- लकडाउनका कारण समस्यामा परेका मजदुर र विपन्न वर्गका लागि छुट्याइएको राहतको चामल समितिकै मिलेमतोमा बिक्री गर्ने गरेको खुलेको छ।
राहतको चालम बिक्री गर्न मिलमा पुगेका सप्तरीको कञ्चनरुप नगरपालिका- ४ का दुई व्यक्तिलाई बुधबार स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएपछि यो रहस्य खुलेको हो। कञ्चनरुप– ४ को आधारभुत विद्यालय जगतपुरका प्रधानाध्यापक महेश परियार र आधारभुत विद्यालय जगतपुरका प्रधानाध्यपाक रामनारायण साहलाई स्थानीयहरुले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएका हुन्।
१५ किलाेका ७ र १० किलाेका १० गरी १७ प्याकेट चालम तथा ५० किलाे दाल बिक्री गर्न कञ्चनरुप नगरपालिका–८ स्थित शम्भुप्रसाद गुप्ताको राईस मिलमा पुगेका बेला उनीहरुलाई नियन्त्रणमा लिईएको स्थानीयको दाबी छ। तर, उनीहरुले भने राम्रो गर्न खोज्दा खोज्दै आफूहरु फसेको बताएका छन्। चामल र दाल लिएर आफूहरु मिलमा पुगेको उनीहरुले स्वीकारेका छन्।
राहत बाँड्दै जाँदा चामल र दाल अपुग भएपछि मौज्दात रहेको १७ पोका चामल मिलमा फिर्ता गर्ने र नगरपालिकासँग थप रकम माग गरी बाँकी परिवारलाई राहत वितरण गर्ने सोचअनुसार आफूहरु मिलमा पुगेको उनीहरुकाे भनाई छ। कञ्चनरुप नगरपालिकाले वडा नम्बर ४ का ६ सय १३ घरधुरीलाई राहत वितरण गर्न वडा अध्यक्षको संयोजकत्वमा चार दलका प्रतिनिधि, विद्यालयका प्रअ र सुरक्षाकर्मी सम्मिलित समिति निर्माण गरेको थियो। जसका लागि ५ लाख ११ हजार रकम छुट्याएको छ।
‘वडामा राहत नपाउनेको लिस्ट अझै पनि १५० भन्दा बढी छ,’ उनीहरुले भने, ‘यस्तो अवस्थामा त्यति चामल कस्लाई बाँड्ने भनेर हामीले मिलमा फिर्ता गरी हिसाव किताव गर्न खोजेका थियौं।’
इलाका प्रहरी कार्यालयले भने दुवैलाई नगरपालिकाको जिम्मा लगाएको छ। छलफलमार्फत् समस्याको समाधान निकाल्न नगरपालिकाले प्रयास सुरु गरेपछि दुवैलाई उतै पठाईएको डिएसपी मकेन्द्र मिश्रले बताए।
कञ्चनरुप नगरपालिकाका मेयर वसन्तकुमार मिश्रले भने प्रअमाथि झुठो आरोप लागेको दाबी गरे। ‘राहत वितरणका क्रममा थोरै चामल बाँकी रह्यो। उनीहरु त्यो चामल फिर्ता गरी हरहिसाव गर्न मिलमा पुगेका हुन्,’ उनले भने, ‘तर, गलत रुपमा उनीहरुलाई प्रहरीको जिम्मा लगाइयो। वडा कार्यालयमा कोही नबस्ने र आसपासमा वस्ति पनि नरहेका कारण चोरी हुने डरले चामल फिर्ता गर्नै पर्ने थियो।’
मिलमा पुग्नासाथ केहि व्यक्तिले घेरा हालेर चालमसमेत लुटेको मेयर मिश्रको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।