राजविराज– आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीका तीन युवकलाई पक्राउ गरेको छ। हनुमानगर कंकालिनी नगरपालिका-१ बस्ने जानो साह (सोनार)का छोरा १६ वर्षीय सुरजको हत्या गरेको आरोपमा स्थानीय सुजित कुमार मुखिया, प्याँ–प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले तीनै जनालाई बुधबार सप्तरी जिल्ला अदालत राजविराजमा उपस्थित गराई अनुसन्धानका लागि १५ दिनको म्याद थप गराएको छ। प्रहरीका अनुसार गत बैसाख १ गते हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भलुवा र कंकालिनी मन्दिरको बीचमा सुरजको शव फेला परेको थियो। कंकालिनी मन्दिरबाट पूर्व कोशीको पश्चिमी तटबन्धमा रहेको झाडीभित्र फेला परेको शवको प्रकृतिका आधारमा प्रहरीले हत्याको आशंका गरी अनुसन्धान सुरु गरेको थियो।
'मृतकको गर्धनमा काटेको निशान र आसपासमा रगतको टाटा देखिएकाले हत्या नै भएको आशंकामा आमीले अनुसन्धान गर्यौं,' इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रले भने, ‘अनुसन्धान गर्दै जाँदा साथीबाटै उनको हत्या भएको पाइयो।’
लागु औषध र मादक पदार्थ सेवनका कारण सुरजको हत्या भएको मिश्रको भनाई छ। ‘शृंखलाबद्ध चोरी गर्ने गरेको र चैत ३० गते राती पनि उनीहरु त्यसैका लागि भारदह स्थित कंकालिनी मन्दिर अगाडिको चौकमा भेला भएको देखिनछ,' उनले थपे, ‘लागु औषध प्रयोग गरेर हिँडेका चारमध्ये एक जना (सुजित कुमार)ले खेलाचीमै कटरले गर्धनमा हिर्काउँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’
कटरको प्रहारबाट बेहोस भएर ढलेका सुरज मरे/नमरेको छुट्याउन नसकेर खुकुरीले थप प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ‘लागु औषध प्रयोग गरेका कारण मरे/नमरेको स्पष्ट छुट्याउन नसकेर घाँटीमा डोरी बाँधी खुकुरीले पालैपालो हानेको उनीहरूले स्वीकारेका छन्,’ मिश्रले भने, ‘त्यसपछि बोरामा हालेर १ किलोमिटर टाढा खोला किनारको झाडीमा फालेर फरार भएको देखिन्छ।’
अनुसन्धान गर्दै जाँदा सुरजको हत्यामा प्रयोग भएको फलाम काट्ने कटर, खुकुरी तथा शव बोक्न प्रयोग गरिएको प्लास्टिकको बोरा र घाँटी कस्न प्रयोग भएको लेस (डोरी) समेत बरामद भएको डिएसपी मिश्रले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।