राजविराज– पुस्तक व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालित राजविराजस्थित ‘पुस्तक महल’मा विद्यार्थी संगठनले बिहीबार तालाबन्दी गरेका छन्।
पुस्तक महलले पाठ्यपुस्तकमा सेन्डिकेट लागू गरेको भन्दै उनीहरूले बुधबार तालाबन्दी गरेका हुन्।
व्यवसायीको सेन्डिकेटले विद्यार्थी/अभिभावक मर्कामा परेको भन्दै अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी), संयुक्त विद्यार्थी फोरम, नेविसंघ, राष्ट्रिय विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आएका छन्।
यस विषयमा बैसाख १० गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र समेत बुझाइएको थियाे। तर, स्थानीय प्रशासनले कुनै कारबाही नगरेपछि विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रेका हुन्। ‘पाठ्यपुस्तकको सेन्डिकेट बन्द गर, शैक्षिक माफिया मुर्दावाद, विद्यार्थीलाई सहज रुपमा पुस्तक उपलब्ध गराऊ’ लगायतका नारासहित विद्यार्थीहरूले जुलुस समेत निकाले।
पाठ्यपुस्तकमा निजी विद्यालय र व्यवसायीको मिलेमतोमा सिन्डिकेट खडा गरेको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीले भने वास्तविकता बुझी कारबाही गर्न १८ वटै स्थानीय तहलाई पत्राचार गरेको छ।
प्रशासनले मंगलबार ‘पुस्तक महल’को पनि अनुगमन गरेको थियो।
व्यवासायीलाई कागज पत्रसहित उपस्थित हुन निर्देशन दिइएको प्रशासनले त्यसपछि कुनै प्रतिक्रिया जनाएको छैन।
अन्य पुस्तक पसल पनि बन्द
विद्यार्थी संगठनले आफनो पसलमा तालाबन्दी गरेपछि पुस्तक महलमा आबद्ध व्यवसायीहरूले राजविराजका अन्य पुस्तक पसल समेत बन्द गराएका छन्। समस्याको निकास ननिस्किएसम्म पसल खोल्न नदिने उनीहरुको भनाइ छ।
पुस्तक बिक्री वितरण गर्ने ठूला व्यवसायी आफैं लागेर पसल बन्द गराएपछि कापी, डटपेन तथा पत्र–पत्रिका बिक्री वितरण गर्ने पसल समेत प्रभावित भएका छन्।
यस श्रृंखलाका थप समाचार पढ्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।