काठमाडौं- जिन्दगी के रहेछ? भन्ने प्रश्न जीवनमा एकपटक त सोचिन्छ नै। उत्तर हुन्छन् भोगाइअनुसार भिन्न। जिउने फरक कथाहरुले जिन्दगीको बुझाइ फरक परिरहँदा त्यही जिउने शैली फेर्ने इच्छा पनि तीब्र बनिरहन्छ। जसले मोडिन्छन् बाटाहरू। त्यसैमा जोडिन्छन् रहर, बाध्यता र भोगाइ।
अजय सुवाललाई जिन्दगीका यस्तै प्रश्नहरु गर्ने हो भने भनिदिन्छन्- ‘मेरो जिन्दगी भन्नु नै टेबलटेनिस हो।’ हुन पनि उनका लागि टेबलटेनिस नै हो जसले जति पर जान खोजे पनि उति नजिक तानिरहन्छ। पर हुनुपर्ने दोष खेलको पनि होइन। पद्धति, नीति, संस्कार र खेलकुदका ठेकेदारले बिगारिरहेको खेल क्षेत्रको पो दोष हो कि।
अजयका लागि अहिले फरक भूगोल, फरक परिस्थिति, फरक जीवनशैली तर पेसा एउटै ‘टेबलटेनिस सिकाउने र खेल्ने।’ नेपालबाट टेबलटेनिसलाई छोडेर अस्ट्रेलिया पुगेका राष्ट्रिय च्याम्पियन अजय त्यहाँ किन टेबलटेनिस मै आबद्ध भए? भनिहाले, उनको जिन्दगी नै आखिर त्यसेको वरपर छ।
राष्ट्रले गर्ने व्यबहार, रणनीति, सम्बन्धित खेल संघले चाल्ने कदम र खेल संस्कारले गर्ने तर्जुमा जसले खेलाडीलाई खेलमा टिकाइरहन्छ या पलायन बनाउँछ भन्ने बाटो छुटिन्छ। खेलाडीहरु भोकभोकै बस्ने बाध्यता या राष्ट्रको गौरवका नाममा तड्पिरहने अवस्था, त्यो छुट्याउँछ।
नेपालमा मुस्किल भइरहेका तीनै खेलाडी पलायन भएपछिको जीवन विदेशमा शानको साथ बिताइरहेका हुन्छन्। कम्तिमा रोगको उपचार र भोकको चिन्ताबिना। आर्थिक रुपमा बलियो हुँदाको सन्तुष्टीमा, त्यो पनि नेपालमा मुस्किल भइरहेको उही खेलमार्फत नै।
अस्ट्रेलियामा बस्दै आएका अजय मात्रै होइन, उनकै हितैसी साथी दिप साउन पनि नेपालमा टेबलटेनिस छोडेर विदेशमा फेरि यही खेलमा जोडिएका छन्। टेबलटेनिसका यी दुई खेलाडी मात्रै हैनन् अन्य खेलका धेरै खेलाडी छन्, जो नेपालमा खेल्दै गर्दा छोडेर विदेशमा फेरि त्यही खेलमा आबद्ध भएका।
अजय अध्ययनको लागि भनेर विद्यार्थी भिसामा अस्ट्रेलिया गए। स्नातक तहमा उनले स्पोर्ट्स म्यानेजमेन्ट पनि अध्ययन गरे। तत्कालको लागि अस्ट्रेलिया पढ्नको लागि जाने भएपनि उनको दीर्घकालिन लक्ष्य भनेको करियर बनाउनु नै थियो।
मुख्य प्रशिक्षक
अजय अहिले आफ्ना श्रीमतीसँग वेस्टन अस्ट्रेलियामा बस्छन्। उनकी पत्नी केएफसीमा सुपर भाइजरको काम गर्छिन् भने अजय टेबलटेनिसका प्रशिक्षक छन्।
अहिले अजयलाई अभावले पिरोलेको छैन। संकटको सामना गर्नु परेको छैन। चिनियाँ खेलाडी र प्रशिक्षकहरु अजय मुख्य प्रशिक्षक भएकोमा रिस भने गर्छन्। त्यसले अजयलाई आफ्नो काममा अझ राम्ररी अघि बढ्ने हौसला नै मिलिरहेको छ।
चुनौती त नेपालमा पनि थियो। अस्ट्रेलियामा पनि। फरक यति हो, नेपालमा चुनौती मात्रै थियो। सुविधा थिएन। अस्ट्रेलियामा चुनौतीसँगै सुविधा र अवसर पनि छ। अजयलाई पनि यस्तै लाग्छ।
सुरुका दिनहरुमा अजयले रेस्टुरेन्टमा काम गरे। तर सानैदेखि लागेको बानी कहाँ हट्दो रहेछ र। टेबलटेनिसको याद भने आइरह्यो। त्यही भएर उनी टेबलटेनिसमै होमिए। अजय भन्छन्, ‘अहिले वेस्टन अफ अस्ट्रेलियाको मुख्य प्रशिक्षक छु। साढे दुई वर्ष भयो मुख्य प्रशिक्षक भएको। सुरुमा सहायक प्रशिक्षक भएर काम गरेँ। हप्तामा २–३ क्लास लिन्छु। एक दिनमा साढे दुई घण्टा अभ्यास गराउँछु।’
उनी प्राइभेट रुपमा पनि बच्चाहरुलाई टेबलटेनिस सिकाउँछन्। त्यो पनि हप्ताको सातै दिन। उनी अहिले अरु सबै काम छाडेर टेबलटेनिस मात्रै सिकाएर बस्छन्। टेबलटेनिस सिकाएरै राम्रो पैसा पनि कमाइरहेका छन्।
उनले एकै पटक टेबलटेनिस सिकाउने मौका पाएका भने होइनन्। राष्ट्रिय च्याम्पियनदेखि सागको मेडलिस्ट र विश्व च्याम्पियनसिपमा खेलेको अनुभव त थियो नै तर पनि विरानो देशमा कसले पत्याउने? त्यसैले सुरुमा उनी आफै खेल्न थाले। आफ्नो खेल कौशल देखाएपछि भने सबैको साथ र माया उनले पाइरहे।
‘सुरुमा त निकै गाह्रो नै थियो। खेल्दै गएँ। राम्रो खेल देखाएपछि बच्चाहरुलाई सिकाउने अवसर पाएँ। मैले सिकाएको एक बच्चा नेशनल च्याम्पियन पनि बन्यो। त्यसपछि भने सबैले मलाई विश्वास गरे। प्रशिक्षकको रुपमा काम गर्न पनि पाएँ’, अजयले सुनाए।
सन् २०१५ को अगष्टमा उनी अध्ययनको लागि भनेर अस्ट्रेलिया गएका थिए। सुरुमा उनी मामासँग बस्दै काम गरेका थिए। श्रीमती पनि सँगै गएका कारण थप सजिलो भएको उनको भनाई छ। यहि डिसेम्बरमा उनको विद्यार्थी भिसा सकिँदै छ। तर प्रशिक्षकको रुपमा राम्रो गरिरहँदा टेबलटेनिस संघ पनि खुसी छ। त्यसैले वर्किङ भिसाको व्यवस्था मिलाइ दिनेमा उनी आशावादी छन्।
कोरोना माहामरी देखिएको सुरुका दिनहरुमा लकडाउन भए पनि अहिले नभएको र जनजीवन पनि सामान्य रहेको अजय भन्छन्। सीमा नाकाहरु बन्द भए पनि खेलकुदका गतिविधिहरु भने भइरहेको उनी सुनाउँछन्। ‘सुरुको ३–४ हप्ता मात्रै लकडाउन गर्यो। त्यसपछि जनजीवन सामान्य भइसकेको छ। कोरोनाको भयंकर अवस्था भने सिर्जना भएको छैन। खेलकुद गतिविधिहरु भइरहेको छ। रंगशालामा पनि दर्शकलाई प्रवेश गराइरहेका छन्।’
पाकिस्तानलाई हराउँदा
अस्ट्रेलियामा रहे पनि नेपाली टेबलटेनिससँग जोडिएको माया अजय चटक्कै कहाँ भुल्न सक्छन् र। नेपालबाट खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताको सम्झना त आइ नै रहन्छ।
सन् २०१० बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिता टेबलटेनिससँग जोडिएको एउटा स्मरणीय क्षण। जुन नामेट जस्तै छ। क्वार्टरफाइनलमा पाकिस्तानलाई पराजित गर्दै टिम इभेन्ट्समा नेपाल सेमिफाइनलमा पुगेको थियो। टिम इभेन्ट्समा अजय सुवाल, दिप साउन, पुरुषोत्तम बज्रचार्य, शिवसुन्दर गोथे र चन्दन शाही थिए।
त्यो बेलाको जितको बेलिविस्तार अहिले पनि अस्ट्रेलियामा बच्चाहरुलाई लगाउने गरेको उनी भन्छन्, ‘सोचेकोभन्दा राम्रो भएको थियो। हामीले त्यो भन्दा पहिले कहिले पनि हराएका थिएनौं। हामीले सोचेकोभन्दा राम्रो नतिजा निकालेका थियौं।’
पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा पुगे पनि नेपालको यात्रा त्यहाँभन्दा माथि पुग्न सकेन। तर कास्य पदक भने जित्यो।
पाकिस्तानलाई पराजित गरेपछि निकै उत्साहित थिए अजय। प्रदर्शन पनि त्यस्तै राम्रो भइरहेको थियो। मात्र एक अंक बटुल्न सकेको भए अजय सेमिफाइनलमा पुग्थे। तर जित्दा जित्दै हारे। भन्छन्, ‘पाकिस्तानलाई पराजित गर्दै कास्य पदक जितेपछि म निकै उत्साहित भएको थिएँ। सिंगल्समा म क्वार्टरफाइनलमा श्रीलंकाको खेलाडीसँग नसोचेको तरिकाले हारेँ। जित्दा जित्दै हारेँ। एक अंक ल्याएको भए खेल जित्थेँ, तर नराम्रो तरिकाले हारेँ, होस नै भएन।’
एसियन च्याम्पियनसिप
अजयले सन् २००७ मा चीनमा भएको एसियन च्याम्पियनसिपमा सिनियरबाट खेल्न पाए। अजयको लागि यहाँ पनि त्यस्तै, किस्सा जोडिएको छ।
बंगलादेशविरुद्धको बरियताको खेल थियो त्यो। जुन खेलमा बंगलादेशलाई पाखा लगाउँदा नायकको भूमिका निभाएका थिए अजयले। टिम इभेन्ट्सको पहिलो शिवसुन्दर गोथे खेलेका थिए। तर उनी हारे। दोस्रो खेलमा रन्जितसिंह रायमाझी खेले। उनी पनि हारेर आए।
तेस्रो खेलमा गए अजय। पहिलो प्रतियोगिता भएको कारण अजयसँग अनुभवको कमी थियो। डराइरहेका पनि थिए। सोचिरहेका थिए म पनि हार्छु होला। तर उनको एक मनले भन्थ्यो राम्रो खेल्ने प्रयास गर्छु। उनले राम्रो मात्रै खेलेनन् जितेर नै आए।
‘म त जुनियर थिएँ। दुई खेल हारिसकेको हुँदा म पनि हारेको भए हामीले खेल हार्ने थियौं। तर मैले जितेर आएँ। त्यसपछि शिवसुन्दर दाइ र रन्जितसिंह दाइले पनि जितेपछि हामीले टिम इभेन्टन्समा बंगलादेशलाई पराजित गरेका थियौं’, अजय सम्झिँदै भन्छन्।
खेलकै दौरानमा अजयले जित्दै गएपछि बंगलादेशका प्रशिक्षक हलबाट निकालिए पनि थिए। खेलकै दौरानमा पनि सिकाउने कराउने गरिरहेको हुँदा बंगलादेशको प्रशिक्षकलाई प्याराफिटमा पठाएको थियो। बढि हल्ला गरेको कारण उनलाई त्यहाँबाट पनि बाहिर नै पठाइएको थियो।
खेल जितेर आएपछि अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द बैद्यले ‘राम्रो गरिस केटा’ भनेर अंगालो हालेर गौरव गरेका थिए। त्यो स्मरण अहिले अध्यक्ष वैद्यलाई आउँछ कि आउँदैन होला? प्रभावशाली खेलाडी विदेशिँदा गौरवान्वित पलहरुले उनलाई सताउँछ कि सताउँदैन?
भारतको लखनाउमा एसियन च्याम्पियनसिप भएको थियो। त्यो प्रतियोगिता उनले व्यस्ततामै खेले। उनको परीक्षा चलिरहेको थियो। उता प्रतियोगिता नजिकिँदै थियो। प्रतियोगितामा भाग नलिने मनसाय बनाएका थिए। तर २०१० मा बंगलादेशमा हुने साग खेलकुदको लागि मध्यनजर गर्दै अनुभवको लागि भए पनि खेल्नु पर्ने भयो।
अजय भन्छन्, ‘परीक्षा सकेलगतै म नेपालगञ्ज हुँदै लखनाउ पुगेँ। २०१० को सागको लागि पनि मध्यनजर गरेको हुँदा यो प्रतियोगिताले मेरो लागि फाइदा पुग्ने अनुमान गरेको थिएँ। टिम इभेन्ट्समा खेल्न भ्याइन। सिंगल्स खेलेँ, मिक्समा खेलेँ।’
अन्तर्राष्ट्रिय प्रतियोगितामा अजयले २०१३ मा जापानमा भएको विश्व टिम इभेन्ट्स च्याम्पियनसिप खेलेका थिए। त्यो बेला डिभिजन छुट्याएर प्रतियोगिता भएको थियो। नेपाल डिभिजन-५ मा थियो। त्यो प्रतियोगितामा पनि जित्दा जित्दै हारेको तितो यथार्थ छ।
डिभिजन फाइभको सेमिफाइनलमा जमैकाविरुद्ध पुरुषोत्तम बज्रचार्य पहिलो खेलमा हारेका थिए। दोस्रो खेलमा अजयले जिते। तेस्रो खेलमा शिवसुन्दर हारेका थिए। अजय भन्छन्, ‘चौथो खेलमा मैले २–० को सेटमा अग्रता बनाएको थिएँ। तेस्रो सेटमा पनि अग्रता बनाएको थिएँ। एक अंक मात्रै ल्याउन सकेको भए जितिन्थ्यो। तर के भयो, भयो। हारेँ।’
च्याम्पियन यात्रा
सन् २०६९ मा धनगढीमा भएको राष्ट्रिय च्याम्पियनसिपमा अजय च्याम्पियन भए। आफ्नै क्लबका दीप साउनलाई फाइनलमा पराजित गर्दै उनी च्याम्पिमयन बनेका थिए।
दीप पनि राष्ट्रिय च्याम्पियन नै हुन्। अहिले उनी अमेरिकामा छन्। दीप र अजय बच्चैदेखिको साथी। स्कुल पढ्दा होस् या कलेज, टेबलटेनिस खेल्दा नै किन नहोस् यी दुबै खेलाडी संधै सँगै भए।
अजय भन्छन्, ‘दिप र म चार कक्षादेखि नै सँगै पढेका हौं। कलेज पनि सँगै पढ्यौं। खेल्दा पनि सँगै। सिक्दा पनि सँगै हुन्थ्यौं हामी। घर पनि ३–४ मिनेटको टाढा थियो। खेलमा निकै प्रतिस्पर्धा हुन्थ्यो। दिपसँग न्यु समिटमा पढ्दा बिहान ५ बजे गोपाल महर्जन सरको घर गएर सरसँग बाइकमा पाटनमा भएको प्रतियोगितामा भाग लिएको यादहरु पनि छ। त्यो बेला म प्रथम भएको थिएँ। दीप दोस्रो।’
पुलिस क्लबमा पनि अजय र दिप सँगै अनुबन्धित भए। काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुलिसले खेल्न बोलाएको थियो। पाँचौं राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गरेको कारण अजयसँग दीप र राकेश महर्जन पुलिसमा परीक्षा पास गरेरै स्थायी जागिरे बने।
पुलिसमा जागिरे स्कुलहरुमा विद्यार्थीहरुलाई सिकाउने काम पनि गर्थे उनी। अभाव भन्ने त थिएन। तर सुन्दर भविष्यको कल्पना भने गर्न सक्दैन थिए। त्यसैले उनी बाहिरिए। भन्छन्, ‘कमाइ राम्रै थियो। तर खेलेसम्म त थियो। पुलिसको जागिर पनि त्यस्तै त थियो। खेलिन्जेल हुने खेल्न नसक्ने भएपछि ड्युटीमा जानु पर्ने अवस्था नै थियो। आफ्नो भविष्यलाई त सुरक्षित गर्नै पथ्र्यो।’
उनका मामा चन्दन शाही नै राष्ट्रिय खेलाडी। त्यही भएर उनको टेबलटेनिसतर्फ लगाव बढेको थियो। सानैदेखि टेबलटेनिसमा रुची राख्ने उनी भन्छन्, ‘सुरुमा रहरले खेलियो। पछि जित्दै जाँदा देशसँग जोडिने मौका पाएँ। अझ खेल्ने उत्साह मिल्यो।’
फरक अभ्यास
नेपाली खेलाडीमा प्रतिभा र क्षमताको कमि छैन। छ त केबल अभ्यास र सिकाइको। उदाहरणको लागि गौरिका सिंहलाई हेरे पुग्छ। गौरिकाले १३ औं सागमा चार वटा स्वर्ण पदक जितिन्।
एकै सागमा चार वटा स्वर्ण जित्दै कीर्तिमान बनाएकी गौरिकाको लगानी र अभ्यासलाई हेर्ने हो भने पृथक लाग्छ। गौरिकाको लागि परिवारले मिलाइदिएको ब्यक्तिगत प्रशिक्षक छन्। विदेशमा नै बसेर नियमित अभ्यास हुन्छ। तर नेपालका अन्य खेलाडीको अभ्यास त्यसरी नै गर्न नसक्दा राम्रो नतिजा नआएको पक्कै हो।
अस्ट्रेलियामा अजय पनि प्रत्येक खेलाडीलाई छुट्टा छुट्टै सिकाउँछन्। एक एक जना खेलाडीलाई घण्टाको हिसाबले सिकाउनु पर्ने अजय सुनाउँछन्।
‘अस्ट्रेलिया र नेपालको अवस्था एकदमै फरक छ। यहाँ अभिभावकले आफ्ना छोराछोरीलाई अनिवार्य कुनै न कुनै खेलमा आबद्ध गराएका हुन्छन्। नेपालमा त्यस्तो छैन। आफ्ना छोराछोरीलाई ल्याउने पुर्याउने गर्छन्’, अजय थप्छन्, ‘प्रशिक्षक राखेर पैसा तिरेर सिकाउने गर्छन्, राष्ट्रिय टिममा परेपछि चाहिँ सबै खर्च सरकारले ब्यहोर्छ।’
नेपालमा व्यक्तिगत प्रशिक्षक राखेर सिकाउने कल्पना पनि गर्न सकिँदैन। सित्तैमा सिकाउँछौं भन्दा पनि नपठाउने अभिभावकले व्यक्तिगत प्रशिक्षक राखेर सिकाउने अलि परको कुरा। तर व्यक्तिगत प्रशिक्षक राखेर सिकाउँदा छिटो सिक्ने अजय भन्छन्। ‘मलाई सुरुमा अनौठो नै लाग्यो। यहाँ सबैलाई ब्यक्तिगत नै सिकाउनु पर्छ। नेपालमा त्यस्तो छैन। यसरी सिकाउँदा खेलाडीले छिटो सिक्दो रहेछ।’
नेपाली खेलाडीको स्तर नसुध्रिनुको एउटा कारण अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पनि हो। बैदेशिक अभ्यासमा पठाउने हो भने राम्रो नतिजा आउने अजयको तर्क छ। नेपालमै आएर टेबलटेनिसमा केही गरौं भन्ने मन अजयको नभएको भने होइन। यसैले भन्छन्, भविष्यमा नेपाल आएर एकेडेमी खोल्छु।
(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)
श्रृंखलाको अरु अंकहरु -
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।