काठमाडौं– नेपाली फुटबल जगतमा सफल दरिएका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन्। सोमबार दशरथ रंगशालामा बंगलादेशविरुद्ध थ्री नेसन्स कपको फाइनल खेल्दै उनी अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भएका हुन्।
विराज फाइनल खेलको ८९ औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदानमा प्रवेश गरेका थिए। उनलाई मैदानमा प्रवेश गर्ने बेला किरण चेम्जोङले लगाईरहेको कप्तानको ‘ब्यान्ड’ रोहित चन्दले लगाईदिएका थिए। यो उनको १९ औं खेलमा कप्तानी हो। साथै राष्ट्रिय टिमबाट उनको यो ७३ औं खेल हो। उनले राष्ट्रिय टिमबाट २००९ मा भएको कीर्गिस्तानविरुद्धको एएफसी च्यालेन्ज खेलमा एक गोल गरेका थिए।
थ्री नेसन्स कपको उपाधिसँगै विराजको बिदाई सुखद् भएको छ। खेलपछि खेलाडीहरुले उनलाई काँधमा बोकेर मैदान घुमाएका थिए। दर्शकहरुले ताली बजाउँदै उनलाई सम्मान गरे।
मैदानमा निकै भावुक बनेका विराज निकैबेर दर्शकहरुको वरिपरि थिए। उनको बिदाईमा राष्ट्रिय टिमका अन्य खेलाडीले लगातार सम्मानस्वरुप हुटिङ गरिरहेका थिए।
त्यो महसुस
२०७६ साल भदौंमा नेपालले साउनमा नेपालले विश्वकप छनोटको दोस्रो चरणको कुवेतविरुद्धको खेलको लागि तयारी स्वरुप मलेसियन लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग खेलेको थियो। यही खेलदेखि विराज राष्ट्रिय टिमबाहिर रहँदै आएका थिए।
आफ्नो २० वर्षे खेलाडी जीवनको उतरार्धमा विराज आफूलाई अपमान भएको महसुस त्यो बेला नगरेका भने होइनन्। विश्वकप छनोटको दोस्रो चरणमा नेपालले कुबेतसँग दुई खेल खेल्यो। चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग पनि विश्वकप छनोटका अवे खेलहरु नेपालले खेल्यो। तर, यी पाँचै खेलमा विराजलाई भने अभ्यासमा समेत समावेश गराइएन।
३० वर्षीय विराजले आफ्नो करियरलाई ‘सेफ ल्यान्डिङ’ गर्न चाहिरहेका थिए। त्यो अवसर उनलाई मिलेको छ। ‘कुनै पनि खेलाडीको राष्ट्रिय जर्सी लगाएरै विदाई हुने सपना हुन्छ। मेरो पनि छ। म त्यस्तै चाहन्छु’, यसअघि विराजले भनेका थिए।
यसकारण विराज सफल कप्तान
विराज एन्फा एकेडेमीको उत्पादक खेलाडी हुन्। २०५७ साल एन्फा एकेडेमीमा आएका उनको यहाँसम्मको यात्रामा उनकै संघर्षका कथा लुकेको छ।
उमेर समूहमा एकपछि अर्को गर्दै राम्रो गरेपछि उनले राष्ट्रिय टिममा स्थान बनाए। घरेलु प्रतियोगिता र यू–१९ मा राम्रो प्रदर्शन गरेपछि विराज २०६४ मा पहिलोपटक राष्ट्रिय टिम परेका थिए। त्यहीँबाट उनको खेल जीवनले एउटा गति लियो।
पाकिस्तानसँग पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलका लागि उनीसँगै यू-१९ फुटबल टिमबाट किरण चेम्जोङ, भरत खवास, विकाससिंह क्षेत्री र दीपक भूषाल परेका थिए। पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले हारेको नेपालले भरत र विराज सुरुवाती एघारमा परेको खेलमा भने १-० गोलले जितेको थियो। त्यसैले विराज आफ्नो डेब्यु खेललाई सुखद् सुरुवात मान्छन्। त्यसपछि भने विराज राष्ट्रिय टिममा निरन्तर पर्दै आए।
२०१५ मा अनिल गुरुङ टिममा नपर्दा उनले भारतविरुद्धको साफ च्याम्पियनसिप खेलमा कप्तानीको जिम्मेवारी सम्हाल्ने अवसर पाए। विराजको खेल करियरमा सधैँ स्मरणीय रहने प्रतियोगिता भनेकै बंगबन्धु गोल्डकप, १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता र एएफसी सोलिडारिटी कप हो।
‘आफ्नै कप्तानीमा बंगबन्धु, साग र सोलिडारिटी कपको उपाधि जित्दाको जस्तो क्षण अरु छैन,’ विराजले भन्ने गरेका छन्।
नेपाली फुटबलमा जति खेलाडी कप्तानीको भूमिका निभाए विराजले कप्तान हुँदा जतिको उपाधि नेपालले अन्य कप्तान हुँदा जितेको छैन। ‘म्याच फिक्सिङ’ जस्तो काण्डमा तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई लगायतका खेलाडी र प्रशिक्षक तानिएर निकै आलोचित भएको नेपाली फुटबललाई उपाधि दिलाउँदै सबैको कर्णप्रीय बनेका कप्तान पनि विराज नै हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।