काठमाडौं- कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आइतबार नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। योसँगै 'प्रो लाइसेन्स' भएका प्रशिक्षक नेपालले पाएको छ। तर, नेपाली फुटबलको आवश्यकता प्रो लाइसेन्स भएको प्रशिक्षक मात्रै हो त?
एउटा तथ्य, नेपालमा कुनै पनि प्रशिक्षकह प्रो लाइसेन्स प्राप्त छैनन्। योहान कालिनले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हाल्दै आएका थिए। तर, उनी प्रो लाइसेन्सप्राप्त प्रशिक्षक होइनन्। पछिल्लो समयमा विश्व फुटबल महासंघ (फिफा) ले आफ्ना सदस्य राष्ट्रको मुख्य प्रशिक्षकले प्रो लाइसेन्स लिएको हुनुपर्ने मापदण्ड राखेपछि एन्फालाई टाउको दुखाइको विषय बनेको थियो। प्रो लाइसेन्स भनेको फुटबल प्रशिक्षक हुनका लागि आवश्यक पर्ने अनुमतिपत्र हो जसलाई प्रफेसनल फुटबल प्रशिक्षकको योग्यता पनि भनिन्छ। फिफादेखि युइएफएसम्मले यसलाई म्यान्डेटरी बनाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रो लाइसेन्सप्राप्त प्रशिक्षक पाउँदैमा ढुक्क भएको छ। तर, नेपाली फुटबलको आवश्यकता प्रो लाइसेन्स मात्रै हो त? होइन भने नेपाली फुटबललाई दीर्घकालीन रूपमा अगाडि बढाउन कस्ता प्रशिक्षक चाहिएको हो? यसको गहन छलफल र बहस भने अहिलेसम्म हुन सकेको छैन।
अब्दुल्लाहसँग प्रो लाइसेन्स छ। तर, अनुभव छैन। उनको राष्ट्रिय टिमको प्रशिक्षण नेपाल नै पहिलो हुनेछ। यसअघि उनले कीर्गिस्तानको यू–१६ टिमको प्रशिक्षक भएर काम गरेका थिए। प्रशिक्षकको रूपमा उनको अनुभव यो नै हो। त्यसो त, कुवेत र साउदी अरबको क्लबमा रहेर पनि उनले काम गरेका छन्।
चैत ६ गते कतार फुटबल फेडेरेसनले एन्फालाई प्रो लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इन्स्ट्रक्टरका रूपमा अब्दुल्लाहलाई नेपाल पठाएको थियो। सम्भवत: उनको लागि नेपाल बसाई सिकाई प्रक्रियामै सकिनेछ। विगतमा पनि यस्तै भइरहेको थियो। छोटो समयका लागि आउने प्रशिक्षक नेपाली खेलाडीको बारेमा बुझ्दाबुझ्दै फर्केर जाने गरेका छन्।
दीर्घकालीन प्रशिक्षकको खाँचो
नेपाली फुटबलको इतिहासलाई पल्टाउने हो भने विगतमा र अहिले खासै फरक छैन। अझ भनौं, नेपाली फुटबल दक्षिण एसियामै घुमिरहेको छ। त्यसैले त साफ च्याम्पियनसिप जित्ने एउटा संकल्प नै छ। तर, अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनलदेखि माथि उठ्न नसकेको नेपाल ‘थ्री नेसन्स कप’ जस्ता प्रतियोगिता जित्दा, विजयी उत्सव मनाउनु पर्छ। यो स्तरदेखि माथि उठ्नको लागि पनि दीर्घकालीन योजना चाहिन्छ। अनि त्यही अनुसारको प्रशिक्षक र व्यवस्था।
अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको छ। हामीकहाँ परिपाटी पनि यस्तै चलिआएको छ, छोटो समयमा नै प्रशिक्षक परिवर्तन भइरहने। २०७५ को माघ ३ गते योहान कालिन नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले मात्र आठ खेल खेल्यो।
योहान कालिनको प्रशिक्षणमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको छ। जसमध्ये कुवेतसँग एक खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ। त्यस्तै, चाइनिज ताइपेईसँगकै मैत्रीपूर्ण खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको छ।
प्रतियोगितातर्फ पाँच खेल विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका खेलहरु खेलेको छ। योहान कालिनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटको दोस्रो चरणमा चाइनिज चाइपेईलाई हराएको छ। यही एउटा खेल मात्रै हो, उनको प्रशिक्षणमा नेपालले जितेको। चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको नेपालले कुवेतसँग विश्वकपको दोस्रो चरणको खेलमा ७–० र १–० ले हारेको छ। त्यस्तै, अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले हारेको छ।
कालिन भन्दा अघि नेपालको विदेशी प्रशिक्षक रहेका ग्योतुकी कोजीले भने एएफसी सोलिडारिटी कपको उपाधि दिलाउँदै केही राहत दिलाए। प्रशिक्षकमा स्थायित्व नहुँदा पनि नेपालले अन्तर्राष्ट्रियस्तरमा फड्को मार्न सकिरहेका छैन। अन्य देशहरुमा एउटै प्रशिक्षकले लामो समयसम्म प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका हुन्छन्। हरेक खेलाडीको सुक्ष्म तरिकाले अध्ययनपछि प्रयोग गरिरहेका हुन्छन्। नेपालमा भने प्रशिक्षकले खेलाडीको नाम समेत कन्ठ गर्न सक्दा नसक्दै छोड्नु परेको छ। एन्फाले कुनै पनि विदेशी प्रशिक्षकलाई टिकाई राख्न सकेको छैन। र, नेपाली प्रशिक्षककै स्तरोन्नति गर्दै प्रो लाइसेन्सतर्फ लैजाने पहल पनि हुनसकेको छैन।
विदेशी प्रशिक्षकको लागि नेपाल एक प्रयोगशाला भएको छ। आउँछन्, प्रयोग गर्छन्, जान्छन्।
अब्दुल्लाहसँग नेपालको आश
अब्दुल्लाहबाट नेपालले ठूलो आशा गरेको छ। उनकै प्रशिक्षणमा नेपालले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु खेल्दैछ। आउँदो जेठमा नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग आफ्नो ‘होम’ खेलहरु ‘सेन्ट्रल भेन्यू’ कुवेतमा खेल्दैछ।
उनकै प्रशिक्षणमा नेपालले भदौदेखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिप खेल्नेछ। यसकारण पनि उनीमाथि नेपालले ठूलो आश गरेको छ। तर, उनको अनुभवको कमी भने नेपाली टिममा पक्कै खड्किने छ।
त्यसो त, मुख्य प्रशिक्षकमा नियुक्ति भएसँगै आफूलाई चुनौती थपिएको उनले बताएका छन्। ‘नेपालमा प्रशिक्षकको रुपमा काम गर्न पाउँदा म एकदमै खुशी छु। मेरो यो अवसरलाई चुनौतीको रुपमा लिन्छु। आशा छ, सबै नेपाली समर्थकलाई खुशी पार्न सकौं’, नियुक्तिपछि मुख्य प्रशिक्षक अब्दुल्लाहले भने।
नेपालले थ्री नेसन्स कपको फाइनलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जित्दा अब्दुल्लाह दर्शक बनेर खेल नियालिरहेका थिए। सायद उनले नेपालले खेल्ने शैली र खेलाडीको खुबी बुझेको हुनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।