काठमाडौं – नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको हो ।
भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट निर्माण गर्दा करिब १३ करोड ५७ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो।
आदेशअनुसार उनलाई डिल्लीबजार कारागार पठाइएको बिशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीले बताए।
उनीसँगै पक्राउ परेका प्राधिकरणका निर्देशक मुरारी भण्डारीसँग अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको थियो। उनले धरौटी बुझाएका छन्। तर, थुनामुक्त भने हुन सकेनन्। भण्डारीविरुद्ध आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अनियमितता गरेकोमा अर्काे मुद्दा दायर भएको र सो मुद्दामा बयान नसकिएकाले अख्तियारमै फिर्ता पठाइएको बिशेष अदालतका सूचना अधिकारी जोशीले बताए। सो मुद्दामा पनि प्रदीप अधिकारीलाई प्रतिवादी बनाइएको छ । जसमा सोमबारदेखि बिशेष अदालतमा बयान र थुनछेक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।