काठमाडौं– २१ फागुनका लागि तय भएको प्रतिनिधिसभाको चुनावमा १२ वटा साना दलले संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका ११४ दलमध्ये १२ दलले गठबन्धन बनाएर चुनावमा जाने तयारी गरेका हुन् ।
नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र राष्ट्रिय जनजागृती पार्टी एउटै चुनाव चिह्नमा निर्वाचन लड्दैछन् । उनीहरूको चुनाव चिह्न बस रहेको छ ।
नेपाल संघीय समाजवादी पूर्वराज्यमन्त्री रिजवान अन्सारी नेतृत्वको दल हो । हरिनन्दन कुमार अम्बेडकर नेतृत्वमा बहुजन एकता पार्टी नेपाल छ । नेपाल जनजागृति पार्टीको नेतृत्वमा धपलालप्रसाद सहनी छन् । यी तीन पार्टीहरू संघीय गणतान्त्रिक गठबन्धन बनाएर निर्वाचन लड्दैछन् ।
यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल पनि एउटै चुनाव चिह्नमा निर्वाचन लड्दैछन् । उनीहरूको चुनाव चिह्न जाँतो छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको अध्यक्ष पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी छ । नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्षमा कबिर सोप रहेका छन् ।
पूर्वसहरी विकासमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र रमनकुमार कर्ण नेतृत्ववको जनादेश पार्टी नेपाल पनि एकल चुनावमा निर्वाचनमा भाग लिँदैछ ।
अम्बिकाप्रसाद थैव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) र लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि एकल चुनाव चिह्नमा चुनाव लड्दैछन् ।
पुण्यप्रसाद प्रसाईं नेतृत्वको सचेत नेपाली पार्टी र भरत खड्का नेतृत्वको नागरिक सर्वोच्चता पार्टी पनि एकल चुनाव चिह्नमा चुनाव लड्ने तयारीमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।