काठमाडौं- नेपाली क्रिकेटप्रेमीहरुको उत्सव नेपाल प्रिमियर लिग(एनपीएल) सकिएको छ। जनकपुर बोल्ट्सले उपाधि जितेको छ भने सुदूरपश्चिम रोयल्स उपविजेता बनेको छ।
सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्याउने र फाइनलमा समेत योगदान गर्ने एकजना महत्वपूर्ण खेलाडि हुन् इशान पाण्डे। क्रिकेट मैदानमा ब्याट र बल दुवैको जादू देखाएका उनी चिकित्साका विद्यार्थी हुन्। काठमाडौं युनिभर्सिटी अफ मेडिकल साइन्सेजमा इन्टर्न डाक्टर छन्। चिकित्साका विद्यार्थी पाण्डेले एनपीएलमा देखाएको क्रिकेट कौशलले राष्ट्रिय टिमका लागि फेरि मार्ग प्रशस्त गरेको छ। उनले यसअघि २०७६ सालमै सिंगापुर र ओमान सिरिजका लागि राष्ट्रिय टिममा परिसकेका खेलाडि हुन्। त्योबेला नयाँ अनुहारका रुपमा कुशल मल्लसँगै उनी पनि झुल्किएका थिए।
तर, सुरुवातमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि नियमित खेलाडिका रुपमा उनी रहेनन्। यसपल्टको प्रदर्शनले भने फेरि राष्ट्रिय टिमको नियमित सदस्य बन्न सक्ने सम्भावना देखाएको छ।
कस्तो रह्यो एनपीएल?
एनपीएलको फाइनलमा इशानले आफ्नो टिमलाई निराश हुन दिएनन्। ब्याटिङमा २ बलमा ६ रन जोडेर रनआउट भए। बलिङमा उनले टिमलाई विकेट चाहिएकै बेला विकेट निकालेर देखाएका थिए।
त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अफ द म्याच’ अवार्ड घोषित हुँदै ५० हजार रुपैयाँ पुरस्कार पाए।
तल्लो क्रमको ब्याटिङ अर्डरमा खेल्ने उनले एनपिएलमा कर्णालीबिरुद्ध अविजित ३८ रन जोडेका थिए।
पढाइसँगै क्रिकेट
स्याङ्जामा जन्मिएका उनी भारतमा हुर्किएका हुन्। उनका बुवा भारतको उत्तराखण्डमा काम गर्ने भएकाले त्यहीँ पुगे। उत्तराखण्डको यू-१९ स्टेट लेभलसम्मको क्रिकेट खेले। त्यहीँ १२ कक्षा पास गरेपछि नेपाल आएका हुन्।
पढाइमा समेत अब्बल उनले एमबीबीएसमा नाम निकालेपछि नेपालमै पढ्न थाले। चिकित्साको अध्ययनका क्रममा उनले उनले ब्याट र बलसँग दूरी बनाएनन्। बरु पढाइ र क्रिकेटको अभ्यासको सन्तुलन मिलाए।
उनले नेपालको प्रतिनिधित्व गरेर यू-१९ विश्वकप टोलीमा परिसकेका छन्। श्रीलंका र पाकिस्तानविरुद्ध अभ्यास खेल खेलेका उनले आधिकारिक खेलमा भने मौका नै पाएनन्।
त्यहाँ मौका नपाएपनि त्यसपछि भएका घरेलु लिगमा उनी नियमित जस्तो देखिन थाले। उनको क्रिकेट कौशललाई सुदूरपश्चिम रोयल्सका कप्तान र कोचले नजिकबाट नियालेका थिए। त्यसैले एनपीएलमा उनलाई ९ लाख ५० हजारमा अनुबन्ध गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।