काठमाडौं- डिभिजन पाँचदेखि टी ट्वान्टी विश्वकप हुँदै एकदिवसीय मान्यतासम्म आउँदा नेपाली क्रिकेटले धेरै देखेको छ। मैदानमा र मैदानबाहिर समेत। उसैगरी धेरै छन् त्यसमा जोडिने खेलाडीहरु। कति मैदानमा टिकिरहेका छन्, कति मैदानबाट पर भइसके।
यो देखिने यात्रा भयो। नेपाली क्रिकेटमा त्यसअघिको यात्रामा पनि योगदान दिनेहरु थुप्रै छन्। सन् १९९६ मा पहिलोपटक एसिसी ट्रफी खेलेदेखि अहिले ‘आइसिसी क्रिकेट विश्वकप लिग टू’मा खेलिरहँदा नेपाली क्रिकेटले धेरैको साथ पाएको छ। धेरैले त्यसको उतारचढाव भोगेका छन्। त्यसमध्ये एक हुन्, बरदान चालिसे।
सन् २००२, आजभन्दा १८ वर्षअघि। नेपालीको बहादुरी क्रिकेटमार्फत त्यो बेला पनि देखिएको हो। त्यसबेला न्यूजिल्यान्डमा भएको यु-१९ विश्वकप क्रिकेट आज पनि धेरै नेपाली क्रिकेटर र जानकारहरुको दिमागमा रहिरहेको हुनुपर्छ। नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पाएको दिन। टेष्ट राष्ट्रमाथि पाएको त्यो जित नेपाली क्रिकेटको भविष्य देखिएको खेल थियो।
उमेर समूहमा बलियो राष्ट्रलाई हार चखाउँदै उदाउँदो टिमको रुपमा देखा परेको हो, नेपाल। पहिलो पटक टेष्ट राष्ट्रलाई पराजित गर्दा नेपाली टिमको एक हिस्सा थिए, उनै बरदान चालिसे।
पाकिस्तानविरुद्ध ४२ रन साथै ३ ओभरमा २ रन दिएर १ विकेट लिएका उनी प्लेयर अफ द म्याच घोषित भए। बंगलादेशविरुद्धको खेलमा पनि प्लेयर अफ द म्याच भएका बरदानले ४ विकेट लिनुका साथै २७ रन समेत बनाएका थिए। बरदानसँगै त्यसबेला टिममा रहेका कप्तान विनोद दास, मन्जित श्रेष्ठ, शक्ति गौचन, संजम रेग्मी, मनोज कटुवाल नेपाली क्रिकेटका स्टार नामहरु हुन्। तर त्यसबेलाको राम्रो खेलपछि पनि बरदान भने हराए।
बाध्यता थियो या रहर? खेल्न सकेनन् या खेल्ने वातावरण पाएनन्? यी प्रश्नहरु उठिरहन्छ। तर नेपाली क्रिकेटमा यस्ता प्रश्नको उत्तर भने सधैँ गौण नै हुन्छ। क्रिकेटमा बरदान मात्रै होइन उनीजस्ता धेरै खेलाडी विदेशिएका छन्। ‘खेलाडी राष्ट्रका गहना’ यो सुन्नमा मात्रै राम्रो लाग्छ। त्यो गहनालाई चम्काई राख्ने यकिन योजना कहिल्यै बनेन।
त्यो विश्वकप
छोटो अवधिमा नेपाली क्रिकेटमा आश देखाएका खेलाडी हुन् बरदान। नाम जस्तै उपलब्धिहरु पाउँदै पनि थिए।
नेपाल सन् २००१ मा भएको युथ एसिया कपको विजेता हुँदै २००२ को यु-१९ विश्वकप क्रिकेटमा प्रवेश गरेको थियो। न्युजिल्यान्डको भूमिमा पहिलो पटक पाइला टेकेको युथ नेपाली क्रिकेटरले दोस्रो पटक विश्वकप खेल्दै थिए। त्यसअघि युवा टिमले सन् २००० मा श्रीलंकामा भएको विश्वकपमा पहिलो पटक खेलेको थियो।
न्युजिल्यान्डको भूमि नेपाली युवा टिमलाई राम्रै फाप्यो। विश्वकपमा नेपालले कूल ८ खेल खेल्दा ६ खेलमा जित निकाल्दा दुई खेलमा हार ब्यहोरेको थियो। त्यो विश्वकपमा नेपाली टिममा अलराउण्डरको भूमिकामा थिए बरदान। यसैले त उनका लागि त्यो विश्वकप जिन्दगीकै नबिर्सने हिस्सा बनेको छ। जुन यसै मेटिने छैन।
बरदानका लागि मात्र होइन, नेपाली क्रिकेटका लागि नै त्यो विश्वकप, विश्वकप मात्रै थिएन खुसीको लहर थियो। त्यसमा बरदानलाई त एउटा परिचय दिने र आफूलाई प्रमाणित गर्ने अवसर भएको थियो। अझै पनि बरदानको मनमा ताजै छन् ती खेलहरु, उमर गुल र मोहम्मद खालिलविरुद्ध गरेको ब्याटिङ र अजहर अली तथा सलमान बटविरुद्ध गरेको बलिङ।
प्रतियोगिताको समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ३७ रनले पराजित भयो। २०५ रनको लक्ष्य पछ्याएको नेपाली युवा टिम १६७ रनमै अलाउट हुँदा बरदानले २१ रनको योगदान दिए।
दोस्रो खेलमा नेपालले पाकिस्तानलाई ३० रनले हरायो। नेपाल १५१ रनमा अलआउट हुँदा बरदानको सर्वाधिक ४२ रनको योगदान थियो। बलियो पाकिस्तानविरुद्ध नेपालको कमजोर ब्याटिङ लाइनमा उनको सर्वाधिक रनले निकै अर्थ राख्छ।
यश्वन्त सुबेदीको विकेटपछि मैदानमा छिरेका बरदानलाई टिकीरहनु नै चुनौति थियो। सुबेदीलाई बोल्ड आउट गर्दा स्टम्प नै निकै पर उडाइदिएको झझल्को उनको आँखा अगाडि आइरहेको थियो।
बरदान भन्छन्, ‘म ३ नम्बरमा ब्याटिङ गर्थें। त्यो बेला यश्वन्तको विकेट लिँदा उमरले स्टम्प नै कहाँ उछिट्याई दिएको थियो। म गएर पहिलो बलमा एक रन लिएर ननस्ट्राइकमा बसेँ। त्यसपछि मोहम्मद खालिलको बलमा तीन रन लिएँ। २ बलमा चार रन बनाएपछि आत्मविश्वास बढ्यो।’
नेपालको बलिङ र फिल्डिङ बलियो उसबेलै मानिन्थ्यो। ब्याटिङ भने अलि कमजोर। यो कुरा बरदान पनि स्वीकार्छन्। नभन्दै नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे। शक्ति गौचन र संजम रेग्मीले समान ३-३ विकेट लिँदा लाक्पा लामा, कप्तान विनोद दास र बरदान चालिसेको नाममा १-१ विकेट रह्यो।
त्यसबेला बरदानले बलिङ गर्न पाउँछु भनेर सोचेका पनि थिएनन्। नेपालमा हुने क्षेत्रीय प्रतियोगिताहरुमा पूरै १० ओभर नै बलिङ गर्न पाए पनि यु-१९ राष्ट्रिय टिमबाट बलिङ गर्ने मौका उनलाई थिएन। उनले अभ्यास खेलहरुमा पनि बलिङ गरेका थिएनन्। उनी भन्छन्, ‘पाकिस्तानविरुद्ध पहिलो पटक बलिङ गर्ने जिम्मा पाएँ। त्योभन्दा अघि नेपालमा भएको युथ एसिया कपमा पनि बलिङ गरिनँ। नेटमा मात्रै अभ्यास गर्थें, तर विश्वकपमै बलिङ पनि राम्रै भयो।’
पाकिस्तानविरुद्ध ३ ओभरमा एक मेडनसहित २ रन खर्चिएर १ विकेट लिएका बरदान प्लेयर अफ द म्याच घोषित भए।
बिर्सन नसकिने सम्झना
बरदानको खेल करियरमा एउटा अर्को स्मरणीय क्षण बंगलादेशविरुद्धको खेल हो। विश्वकपको प्लेट प्रतिस्पर्धाको सेमिफाइनलमा नेपालले बंगलादेशलाई १८१ रनको लक्ष्य दिएको थियो। ब्याटिङतर्फ २७ रन जोडेका बरदान बलिङतर्फ एकाएक हिरो भए।
‘ब्याटिङतर्फ हाम्रो सुरुमा विकेट गइरहेको थियो। पानी परेर खेल सुरु हुने रोकिने भइरहेको थियो। त्यो दिन ४५ ओभरको मात्रै खेल भयो। भोलिपल्ट बाँकी ५ ओभरको खेल भयो’, बरदान सम्झिन्छन्।
बलिङतर्फ भने सुरुवातमै मन्जित श्रेष्ठले निकै रन खाइरहेका थिए, जसले नेपाली बलरलाई दबाब बढिरहेको थियो। पार्टटाइम बलरको रुपमा रहेका बरदान त्यो बेलाको ‘हट’ स्थिति सम्झिदै भन्छन्, ‘ब्याटिङमा बंगलादेशले राम्रो गरिरहेको थियो। मन्जितले नराम्ररी रन खाए। प्रशिक्षकले स्पिनर लगा भनिरहनु भएको थियो। नभन्दै कप्तान विनोदले बल मेरो हातमा थमाए।’
बंगलादेशका ब्याट्सम्यानलाई सस्तैमा समेट्न बरदानले मुख्य भूमिका खेले। ९.३ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिएर ४ विकेट लिए। जसले उनी सफल बलरको रुपमा पनि चिनिए। उनी भन्छन्, ‘बलिङमा नसोचेको उपलब्धि हात पारेँ। विनोद, शक्ति, लाक्पा, मन्जित, प्रमोद र संजम थिए। ६ जना बलर हुँदा हुँदै बलिङ गर्न पाउँछु भनेर सोचेको पनि थिइनँ।’
त्यो यु-१९ विश्वकपमा बरदानले ८ खेलबाट २३१ रन बनाए। जसमा उनको नामिवियाविरुद्ध सर्वाधिक ६९ रन सामेल थियो। नामिबियाविरुद्ध १३७ रन बनाएर १० रनले जितेको खेलमा बरदानपछिको ठूलो स्कोर थियो कनिष्क चौगाइँको १३ रन। त्यसैले त्यो इनिङ बरदानले कस्तो खेलेको थिए भन्ने कल्पना गर्दै थाहा हुन्छ।
प्रतियोगितामा बलिङतर्फ बरदानले ५ इनिङ्सबाट ७ विकेट लिए। सबैबाट सन्तुष्ट हुने खेल थियो बरदानको। विश्वकपको त्यो यादगार पलहरु अहिले पनि ताजै भएको उनी बताउँछन्। टिममा रहेका १४ खेलाडीसँग नै अहिले पनि बरदान सम्पर्कमा नै छन्।
यात्रा सिनियर टिमको
यु-१९ राष्ट्रिय क्रिकेट टिममा उत्कृष्ट प्रदर्शन गरेपछि बरदान सिनियर टिममा परे। तर सिनियर टिममा भने उनको प्रदर्शन उमेर समूहमा जस्तो रहेन। यसका पनि विविध कारण छन् नै।
सिनियर राष्ट्रिय टिमको त्यो छोटो अवधिमा उनले केही राम्रा नराम्रा अनुभव भने बटुल्न भ्याए। २००२ सिंगापुरमा भएको एसिसी ट्रफीमा नेपाल उपविजेता बन्यो। सिनियर राष्ट्रिय टिमबाट बरदानको डेब्यू प्रतियोगिता।
बरदानले ओमानविरुद्धको खेलमा डेब्यू गरे। तर उनको प्रदर्शन सोचे जस्तो भएन। उनले ९ रन मात्रै बनाउन सके। युएईविरुद्ध २१ रन बनाउँदा बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर १ विकेट लिए। त्यसपछि समूह चरणकै खेलमा कुबेतविरुद्ध २५ रन बनाउँदा सेमिफाइनलमा मलेसियासँग ८ रनमै आउट भए।
खेलमा उतारचढाव अस्वभाविक होइन। चल्ने र बिग्रने स्वभाविक प्रक्रियामा बरदानको क्षमता भएकै खेलाडी थिए। त्यसबेला आफ्नो खेल राम्रो नभएको बरदान स्वयमले पनि महसुस गरेकै हुन्। फाइनलमा युएईविरुद्ध नेपाल ६ विकेटले पराजित हुँदा उनले २ मात्रै बनाए।
बरदान भन्छन्, ‘सिनियर टिमबाट राम्रो गर्न सकिनँ, धेरै नराम्रो पनि गरिनँ। तर त्यो खेलले खेलाडीको रुपमा म सन्तुष्ट चाहिँ हुन सक्दिनँ।’
२००२ मै उमेर समूहमा नै भए पनि टेष्ट राष्ट्रलाई हराउन थालेको नेपालले अहिलेसम्म त अझ उपलब्धि पाइसक्नु पर्ने हो। हुन पनि नेपाली क्रिकेटको भविष्य देखाएका ती युवा खेलाडी आफ्नै भविष्यका लागि किन भौतारिनु परिरह्यो?
सन् २००२ देखि २००३ सम्म मात्रै राष्ट्रिय टिमबाट खेलेका बरदान खेल्दा खेल्दै नेपाली क्रिकेटबाट ओझेल भए। खेल्न नसकेर उनी गायब भएका थिएनन्। टिममा नपरेर क्रिकेट छोडेका पनि होइनन्। तर पनि उनी हराए।
‘सिनियर टिमबाट धेरै खेल्न पाइनँ। उमेर समूहमा नेपालमा क्रिकेट धेरै हुन्थ्यो। नियमित अभ्यासदेखि क्लोज क्याम्प भइरहन्थ्यो। आफ्नो क्षमता झन निखारिन्थ्यो। तर सिनियर लेभलमा पुगेपछि प्रतियोगिताहरुको पनि अभाव थियो। आफ्नो क्षमता जहाँ थियो त्यही अड्किने अवस्था भयो, झन खस्किँदो भयो प्रदर्शन’, उनी भन्छन्।
बरदान आफूलाई लागेको कुरा उठाइहाल्ने स्वभावका छन्। खेलाडीले पाएको असुविधाको बारेमा उनी पटक पटक बोलिरहन्थे। त्यो बेला प्रतियोगिताहरु पनि थोरै हुन्थ्यो। उमेर समूह र विद्यालय स्तरका धेरै प्रतियोगिता भए पनि सिनियर टिममा भने खेलको खडेरी नै लाग्थ्यो। यसले गर्दा धेरै क्रिकेटरको क्रिकेटप्रतिको रुची पनि घट्दै गयो। तीमध्येका एक थिए बरदान।
‘क्यान आफै संघर्षको चरणमा थियो। सुविधाहरु पनि थिएन। पैसा पनि कमाउन सकिएन। आफ्नो करियर पनि सोच्नु परि नै हाल्यो, परिवारको पनि दबाब पर्दै गयो। यस्तै कुराहरुले गर्दा म अमेरिका गएँ’, बरदान सुनाउँछन्।
खेल्न पाइरह्यो र प्रदर्शन राम्रो हुँदै गयो भने कोही खेलाडीले खेल्न छोड्दैनन्। खेलाडीले करियरलाई निरन्तर अघि बढाउन सक्छ भने उसको लगाव खेलबाहेक अन्य हुनै सक्दैन। तर प्रतियोगिता पनि छैन। प्रदर्शन पनि खस्किरह्यो भने खेलाडी भएको के अर्थ?
‘हामीले यु-१९ खेलेको एक दुई वर्षपछि एकदमै थोरै प्रतियोगिताहरु भयो। त्यो भन्दा अघि महाविर कप, रामेश्वर भट्टराई कप, गैरिधाराको कप लगायत धेरै प्रतियोगिता हुन्थ्यो’, बर्दान थप्छन्, ‘टुडिखेलमा म्याट हालेर धेरै प्रतियोगिता खेलिन्थ्यो, दर्शक पनि उत्तिकै हुन्थे। तर २००२ पछि भने प्रतियोगिता नै हुन छाड्यो।’
फ्रेन्चाइज लिगले टार्न मिल्दैन
बरदानले क्रिकेट खेल्दाको समय र अहिलेको नेपाली क्रिकेटको परिवेश परिवर्तन भएको छ। खेलाडीको आर्थिक अवस्था पनि राम्रै भएको छ। क्रिकेटमै लागेर केही गर्छु भन्नेहरुको लागि प्रशस्त बाटो खुलेको छ। फ्रेन्चाइज लिगको आगमनले नेपाली क्रिकेटमा फरक क्रान्ती देखिन्छ। अहिले चाहिँ बरदानलाई कस्तो लाग्छ?
उनी भन्छन्, ‘अहिले पनि नेपाली घरेलु क्रिकेटको अवस्था नाजुक छ। फ्रेन्चाइज लिग भइरहेको छ। २० ओभरको प्रतियोगितामा राम्रो पक्ष भनेको खेलाडीले खेलिरहेका छन्। आम्दानीको राम्रो श्रोत बनाएका छन्। तर ५०, ४० ओभरको खेल खै?’ क्रिकेटमा राम्रो गर्ने हो भने एकदिवसीय क्रिकेटलाई जोड दिनुपर्ने बरदानको तर्क छ।
त्यसो त वर्षमा एक पटक मात्रै ५० ओभरको प्रतियोगिता हुने गरेको छ। त्यो पनि ४-५ दिनमै सकिन्छ। यति छोटो अवधिमा भएको प्रतियोगिताबाट खेलाडीले आफूलाई कसरी निखार्छन्? २००२ मै उमेर समूहमा नै भए पनि टेष्ट राष्ट्रलाई हराउन थालेको नेपालले अहिलेसम्म त अझ उपलब्धि पाइसक्नु पर्ने हो। हुन पनि नेपाली क्रिकेटको भविष्य देखाएका ती युवा खेलाडी आफ्नै भविष्यका लागि किन भौतारिनु परिरह्यो?
अमेरिकी टिममा पर्न खेले
खेल्दा खेल्दै चटक्कै क्रिकेट छोडेर अमेरिकालाई आफ्नो सपनाको नयाँ गन्तब्य बनाएका बरदानको संघर्ष र परिश्रम अथक छ। सन् २००३ मा अमेरिका गएका उनले केही महिना क्रिकेट छाडे तर क्रिकेटसँग उनको आत्मा यति नजिकिएको थियो कि उनी फेरि क्रिकेटमै फर्किए।
अमेरिका टिमको सपनासमेत देख्न भ्याएका बरदानले पढाइसँगै क्रिकेटलाई अगाडि लगे। तर उनको त्यो सपना पूरा भएन। बरदान भन्छन्, अमेरिका टिम त्यसबेला राम्रो थिएन। पर्न सजिलो हुन्छ भनेर खेलेको थिएँ। क्लब लेभलमा राम्रो भयो। स्टेट लेभलमा पुगेर फालिएँ, राजनीति भयो।’
सन् २००९ मा वर्किङ भिसा पाएका बरदानले २००९ मा ग्रिन कार्ड लिए। ग्रिन कार्ड पनि क्रिकेटकै देन भएको उनी भन्छन्। त्यसपछि भने साझेदारीमा आफ्नै कम्पनी दर्ता गरेर काम गर्दाको समय होस् या कम्पनी टुक्रिँदा ब्यहोरेको घाटा, त्यो उनको लागि अझ परिपक्क हुने एउटा बाटो बन्यो।
बरदान भन्छन्, ‘कम्पनी टुक्रिएपछि २५ लाख डलर घाटा थियो। २०१५-०१६ सम्म राम्रोसँग सुत्न पनि पाइनँ। मान्छेको टाउकोमा ऋण भएपछि निद्रा नलाग्दो रहेछ।’ अहिले बरदानसँग ३ वटा कम्पनी छ। कम्पनी नाफामा छ भने १६० जनाभन्दा बढि कामदार छन्।
राम्रो व्यवसाय गरिरहे पनि उनी क्रिकेटबाट चटक्कै टाढा भएका छैनन्। क्रिकेटकै कारण सबै थोक पाएको बरदान भन्छन्, ‘मेरो सफलता पनि क्रिकेटकै कारण हो। त्यसैले क्रिकेटबाट टाढा हुन सकिनँ। २-४ वर्ष पढाइको कारण क्रिकेट छोडे पनि फेरि क्रिकेटमै रमाएँ। २०१८ अमेरिकामा मैले एकदमै धेरै क्रिकेट खेलेँ। हप्ताको २ दिन बलिङ मेसिनमा अभ्यास गर्न जान्थेँ। २ जना प्रशिक्षक थिए। रन पनि राम्रै हानेँ।’
अमेरिका जाँदा बरदान क्रिकेट खेल्छु भनेर गएका थिएनन्। अमेरिकामै सफ्टवेयर सम्बन्धी कम्पनी खोली व्यवसाय गर्छु भन्ने पनि उनलाई लागेको थिएन। जसरी भए पनि करियर राम्रो बनाउनु नै उनको लक्ष्य थियो। अहिले फर्केर हेर्दा त्यो पाएका पनि छन्।
अहिले बरदान नेपालमै छन्। करिब ६ महिना जति भयो उनी नेपाल आएको। नेपालमा पनि व्यवसाय गर्ने उनको लक्ष्य छ। अब १२-१३ वर्ष अमेरिका बसेर स्वदेश फर्किने सोचमा रहेका बरदान भन्छन्, ‘क्रिकेट भनेको मेरो पार्ट अफ लाइफ नै भयो। नेपालमा आएर फेरि क्रिकेटमा कुनै रुपमा जोडिन्छु।’
(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)
श्रृंखलाको अरु अंकहरु -
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।