काठमाडौं– इजरायली सेनाले नेपालका युवा विपिन जोशीको शव ल्याइएको बारे परिवारलाई सुचित गरेको छ । हमासले हस्तान्तरण गरेका विपिन र गाय इलुजसहित चारजनाको परिवारलाई सूचना दिइएको हो ।
आइडीएफका अनुसार अन्य दुई जनाको परिवारले नाम प्रकाशनका लागि अनुमति दिएको छैन । विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको आइडीएफले जनाएको छ । युद्धको पहिलो महिनामा नै हत्या गरिएको हुनसक्ने अनुमान समेत आइडीएफले गरेको छ ।
अर्का मृतक गायलाई नोभा म्युजिक फेस्टिभलमा भागेपछि हामासले जिउँदै घाइते अवस्थामा अपहरण गरेको थियो । कैदमा रहँदा उचित चिकित्सा उपचार नपाएर उनको मृत्यु भएको जनाइएको छ । मृत्यु हुँदा उनी २६ वर्षका थिए ।
राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ । आइडीएफले परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
हामासले सम्झौताको आफ्नो हिस्सा पूरा गर्नुपर्ने र सबै बन्धकहरूलाई उनीहरूका परिवार र उचित दाहसंस्कारका लागि फिर्ता गर्न आवश्यक प्रयास गर्नुपर्ने कुरामा जोड दिँदै आइडीएफले सबै बन्धकहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास जारी राखेको जनाएको छ ।
हमासले हिजो चारजनाको शव हस्तान्तरण गरेको थियो । ती शवलाई अहिले परीक्षणका लागि फरेन्सिक अस्पतालमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।