काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकस्थित एक घरबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय ४८ वर्षीय प्रकाश तामाङ रहेका छन्। मंसिर ८ गते दिउँसो करिब ४:३० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गरेको थियो।
घरको कोठाभित्र खानतलासी गर्दा उक्त परिमाणको खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।