काठमाडौं– पूर्वपदाधिकारीलाई मापदण्ड भन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा समितिका अध्यक्षसमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बिहीबार दिउसो मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा समितिका सदस्य एवम गृहसचिव रामेश्वर दंगाल, रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल, नेपाली सेनाका बलाधिकृत रथी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र समितिका सदस्य सचिव एवम मन्त्रालयका सहसचिव आनन्द काफ्ले बैठकमा सहभागि थिए ।
बैठकले पूर्व पदाधिकारीलाई स्वीकृत मापदण्ड भन्दा बढी उपलब्ध गराइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय भएको गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
समितिको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । उक्त निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको नेपाल प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।