काठमाडौं- त्यो देश छाडेर भाग्यो रे! को हल्लासँगै देखिन थाल्छ- देशमाथिको गद्दारीका आरोप र कसरी देशभक्त हुने भन्ने लामा पाठ। तर त्यसअघि देशले नागरिकमाथि गरेको गद्दारीका लामा श्रृङ्खला भने बर्षौंदेखि ओझेलमा छन्।
कोहि किन भागोस्? किन छाड्छ देश? देशले दिएको दुःख सहेर वर्षौ जोतिइरहेकाहरु एक दिन एक्कासी किन हिँडिदिन्छन्? देशमै रहेका कतिलाई मन होला देशमै रहिरहन? यसका उत्तरमा आउने गहिरा पीडा पलायन भएका खेलाडीसँग पनि मिल्छन्।
देशका लागि खेल्दाखेल्दै चोट बोकेका एक खेलाडीको लाखौँ लाग्ने उपचारमा १० हजार रुपैयाँ दिएर कसरी पन्छाउन मिल्छ? गरिब देश हो कि संयन्त्र? पैसा नभएको कि आवश्यकता यकिन नभएको? खेल्न सक्दासम्म देशको गहना हुने खेलाडी खेल्न नसक्दा के?
सबैलाई थाहा भएको तर पनि कहिल्यै उत्तर नआउने यस्ता प्रश्नहरु निकै छन्। जहाँ राष्ट्रवाद जोडिन्छ त्यहाँ प्रश्नहरु दबाइने हाम्रो हुर्काइ नै हो। जसरी जुडो खेलाडी रमेश मगरको मनमा दबिएका छन् सयौँ प्रश्नहरु।
२०७६ साल बैशाखको पहिलो दिन नै हो, नेपाल जुडो संघमा खैलामैला मच्चिरहेको थियो। हंगेरीमा प्रशिक्षणको लागि गएका जुडो खेलाडी रमेश मगर सम्पर्कविहीन भए। अन्तर्राष्ट्रिय जुडो महासंघले पनि हंगेरी नपुगेको भन्ने जानकारी दिएपछि जुडो संघले निष्कर्ष निकाल्यो-रमेश भाग्यो।
हल्लामार्फत आइरहेका सूचनाहरु खबर बनेर आउन थाले। समाचारले जुडोसम्बद्ध मात्रै होइन सबै खेलाडी स्तब्ध बने। प्रशिक्षणका लागि हंगेरी उडेका रमेश कसरी बीच बाटोबाटै पलायन भए? प्रश्न जुडो संघलाई पनि तेर्सियो।
अन्य खेलाडी भन्दै थिए- होइन होला। होइन भने कहाँ गए त रमेश? तर्क वितर्कहरु भए। यकिन नहुँदा कौतुहलताले सबैलाई पिरोल्न थाल्यो। जुडो संघले अनुसन्धान गरेको भन्दै भन्यो- रमेश बीच बाटोबाटै पोर्चुगल पलायन भए। कुनै पनि जुडोको गतिविधिमा संलग्न हुन नपाउने गरी रमेशलाई १० वर्षको प्रतिबन्ध लाग्यो।
अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता रमेश अनुशासित र कुशल खेलाडीका रुपमा चिनिन्थे। चिन्नेहरु उनलाई ज्ञानी खेलाडी मान्छन्। संघले पनि उनीमाथि सधैँ विश्वास गर्थ्यो। खेलमा लगनशीलता उनको पहिचान बनेको थियो। तर पनि रमेश भागे।
भागेपछि रमेशमाथि आरोप लागे। अनेक टिकाटिप्पणी भइरहे। देशको बदनाम गराएकोदेखि अपराधीको संज्ञासमेत दिइयो। तर रमेश किन भागे भन्ने प्रश्न देखिएको जति सरल छैन। यसमा देशको खेल जगत र त्यसको सञ्चालनको प्रक्रिया जोडिन्छ। खेलाडीलाई भनिने र दिइने प्राथमिकताका फरक छाया देखिन्छ।
रमेश भन्छन्- ‘केही नहुने देखेपछि अन्तिम विकल्पको रुपमा म भागेँ।’
कष्टकर खेलाडी दैनिकीमा घोटिइरहन रमेशलाई भविष्यको सोचले दिएन। सयौँ पटक सिरानी भिजे। हजारौँ पटक सोच्दा सोच्दै आफैमा हराए। आँखा अघि अँध्यारो छाइरह्यो। खेलकुदमा लागेकोमा गौरवभन्दा बढी दिग्दारी हुन्थ्यो।
रमेश अहिले पोर्चुगलमा छन्। काम गर्दै छन्। त्यहाँ अस्थायी बसोबासको अनुमति (टिआर) लिने प्रक्रियामा छन्। ‘काम गरेको पैसाले खान बस्न ठीक हुन्छ। पोर्चुगलमा पैसा धेरै हुँदैन त्यो मलाई राम्रोसँग थाहा थियो। तर यहाँ आएपछि परिवारको लागि राम्रो हुने भएको हुँदा मैले दुःख गरिरहेको छु। टिआर लिएपछि यहाँ परिवार ल्याउन मिल्छ’ रमेशले सुनाए।
अहिले उनी ‘एब्रा कन्स्ट्रक्सन’मा काम गरिरहेका छन्। कामको चाप निकै छ। तर परिवारको भविष्य सुधार्न गरिरहेको मेहनतले आउने समय सम्झिएर रमेश खुसी नै छन्।
अनि जुडो?
सानोदेखि बसेको जुडोको माया चटक्क त कसरी छाड्नु? पलायनपछिका दिनहरु जुडोको यादले खुब सताइए। त्यसैले पोर्चुगलमा पनि उनले जुडो अभ्यास गर्न थाले। रमेश नेपालको ब्यवस्था र खेलकुद सञ्चालकबाट भागेका थिए, जुडोबाट होइन।
‘बच्चैबाट सिकेर आएको आफ्नो खेललाई कसले सम्झिँदैन होला र! याद आइरहन्छ। तर याद आएर मात्रै नहुने रहेछ यहाँ। परिस्थितिले फरक अवस्था सिर्जना गरेपछि के नै पो हुन्छ र! मेरो खेल यात्रा निकै सम्झिन्छु’, रमेश भावुक सुनिए।
अब फेरि रिङमा आउने उनको बाचा छ। १०-१५ वर्षपछि नेपाल आएर जुडो खेललाई व्यवसायिक र ब्यवस्थित बनाउने लक्ष्य रहेको सुनाए। आउने पुस्ताका खेलाडीको हात थाम्ने उनको योजना छ।
अनि मन रोइरह्यो
सन् २०१०, बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता। रमेशका लागि खेल जीवनकै ठूलो दुर्घटना। उनी आफ्नो खेलाडी जीवनकै सबैभन्दा भयंकर क्षण भएको सुनाउँछन्।
‘बंगलादेशमा मेरो खुट्टा भाँचियो। पाँच तला माथिबाट लिफ्ट खसेर मेरो खुट्टामा गहिरो चोट लागेको थियो। म मात्रै थिइन त्यहाँ पूरै टिम थियौं। तर उपचारमा सरकारले राम्रो ब्यबहार गरेन’, रमेशको दुःखेसो छ।
जसोतसो उपचार गरेपछि उनी खेलमा फर्किए। तर डाक्टरले राम्रो उपचार नगरेसम्म खेलमा फर्किन नहुने सल्लाह दिएका दिए। राम्रो उपचारका लागि रमेशसँग पर्याप्त पैसा थिएन। त्यसमा लागि न त समय नै थियो। त्यसैले दुखाइ कम भएपछि अभ्यासमा फर्किए। सन् २०११ मा पाकिस्तानमा भएको जुडो च्याम्पियनसिप खेल्न रमेश बसबाटै टिमसँग यात्रा गरे। त्यो कष्टकर यात्रा पनि उनको आखा अगाडि अहिलेसम्म झलझली आइरहन्छ।
त्यसबेला रमेश ६६ केजी तौल समूहमुनि फाइनलमा पुगेर हारेका थिए। रमेशकै भनाइमा त जबरजस्ती हराइएको थियो। उनी भन्छन्- ‘त्यहाँ फाइनल खेल भारतसँग थियो। मैले नकआउट हान्दै जितेँ, तर भारतको प्रशिक्षकले यो भएन भन्दै फेरि रिम्याच खेलायो। जहाँ मलाई हराइयो। मैले सिंगलमा रजत पदक जित्दा टिममा भने स्वर्ण पदक जितेँ।’
१२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सन् २०१६ भारतमा भयो। जहाँ रमेशले पनि खेल्ने भए। तर उनको मन यही प्रतियोगिताबाट नराम्ररी कँुडिएको थियो।
सागकै लागि भनेर उनले एक महिना भारतमै बसेर अभ्यास गरेका थिए। १२औं सागमा सेमिफाइनलमा अफगानिस्तानका खेलाडीसँग खेल्दै गर्दा उनको पुरानै घाउ बल्झियो। उनी ढले। आँखाबाट आँसु बगिरहे। हारको पीडाले भन्दा पनि चोटले सताएको थियो।
उनी भन्छन्- ‘अफगानिस्तानका खेलाडीसँग खेल्दै गर्दा मेरो खुट्टामा फेरि पुरानै समस्या देखियो। म हारेँ। कास्य पदकको लागि बंगलादेशका खेलाडीसँग खेल्नु पर्ने भयो। खेलेँ। जसोतसो कास्य पदक जितेर स्वदेश फर्किएँ।’
नेपाल आएपछि अस्पतालमा जचाउँदा तत्काल शल्यक्रिया गर्नुपर्छ भन्ने भयो। तर रमेशसँग पैसा थिएन। उनी सहयोगका लागि नेपाल जुडो संघमा धाए। संघले धेरै सहयोग गर्न नसक्ने भन्दै १० हजार दिने आश्वसन दियो। त्यो पैसा पनि रमेशले शल्यक्रिया भएको चार महिनापछि पाएका थिए। आफ्नो उपचारको लागि साथीभाइसँग हात फैलाए। साथीभाइकै सहयोगमा उपचार सम्भव भयो।
‘खेलाडी कल्याणकारी कोषबाट एक लाख रुपैयाँ लिएँ। मेरो बाइक थियो। त्यो बेचेँ। पुग्ने पैसा थिएन। चोट झन झन जटिल बन्दै गइरहेको थियो’, उनी थप्छन्, ‘धेरै अस्पताल धाएँ। कुनैमा तीन लाख रुपैयाँ भन्यो त कुनैमा त्यो भन्दा धेरै। अन्तिममा ग्राण्डी अस्पतालमा २ लाख ५० हजार रुपैयाँमा डाक्टर चक्रराज पाण्डेसँग शल्यक्रिया गराएँ।’
उपचारपछि पनि रमेशले नियमित रुपमा थेरापी गराउनु पर्थ्यो। दिनकै पाँच सय तिर्नु पर्दा साह्रै दुःखमा परिसकेका थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) होस् या खेलकुद मन्त्रालय, उनले पाउने भनेकै आश्वसन थियो।
कति पटक चोटले रोए, कति पटक चिप्ला कुराले। ‘अनेक थियो समस्या। आयस्रोत थिएन। आफ्नो जिन्दगी नै खेलकुदका लागि लगाएको थिएँ। तर सरकार र संघले हेरेन। बेवारिसे जस्तै भएँ। आफूलाई आफै अनाथ जस्तै लाग्थ्यो’ रमेश भन्छन्।
देशले लुक भन्यो
रमेश जुडोमा चलेका खेलाडी। तर उनलाई खेलले नामबाहेक अरु केही दिएन। नामले खान लाउन मिलेन। उनले नेपाली खेलाडीले खेल्न मिल्ने ठूला भनिएका प्रतियोगिताहरुमा सहभागिता जनाएका छन्।
रमेश सन् २०११ मा जापानमा भएको विश्व जुडो च्याम्पियनसिप खेल्न गएका थिए। त्यहाँ पनि उनलाई साथीहरुले उतै बस्न सुझाब दिएका थिए। तर आफू देशको गहना भएको भन्दै गद्दारी नगर्ने बाचा गरेर उनी फर्किएका थिए।
रमेश भन्छन्- ‘जापानमा साथीहरुले मलाई खेलमा मात्र केही हुँदैन यतै बस भन्दै सुझाब दिएका थिए। तर मैले म देशको लागि खेल्छु भनेँ र फर्किएँ।’
रमेशले खेलेका प्रतियोगितामध्ये सबैभन्दा ठूलो प्रतियोगिता हो, सन् २०१४ मा कोरियामा भएको एसियाली खेलकुद। एसियाली खेलकुदमा राम्रो प्रदर्शन गरेको कारण उनलाई जुडो संघले सम्मान नै गरेको थियो। कोरियामा पनि उनलाई साथीहरुले उतै लुक्न सुझाब दिएकै थिए। तर त्यस्तो गल्ती नगर्ने बाचा गर्दै रमेश स्वदेश फर्किए।
देशको लागि खेल्छु। यहाँ नै केही गर्छु भन्ने सपना थियो। तर ११औं सागको दुर्घटनापछि पटक पटक उनको चोट बल्झिरह्यो। आर्थिक संकटमा पर्दै गए। सबै ठाउँबाट सहयोग नपाएपछि उनको मन कमजोर हुँदै गयो।
‘जुडोमा सबै थोक त्यागेर लागेको थिएँ। यतिसम्म कि आफ्नै आमा बाबुको कुरा पनि लत्याएको थिएँ। बाबु आमाले त पहिले नै भन्नु भएको थियो, तँलाई कसैले सहयोग गर्दैन भनेर। त्यही बेला बाबुआमाको कुरा सुनेको भए मेरो भविष्य राम्रो हुने थियो। म नै मुर्ख रहेछु भन्ने अहिले लाग्दैछ’ भावुक हुँदै उनले भने।
खेलकुदमा लागेर नै उनी पश्चातापमा परेका होइनन्। खेलाडीलाई गर्ने ब्यवहारबाट हरेस खाएका हुन्। रमेशले खेल्दा खेल्दै खेलाडी जीवनलाई लात हान्नु पर्ने अवस्था देशले नै गरेको हो। अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी घाइते रहँदा उपचारमा सहयोगसमेत नहुनु असाध्यै दुःखद छ।
सहयोगका लागि धाउँदा धाउँदै उनको जुत्ता खिइयो। तर आश्वासन बाहेक केही पाएनन्। त्यसैले विकल्प हेर्दै जाँदा, सोच्दै जाँदा आफू पलायन भएको सुनाउँछन्। भन्छन्- ‘अब मलाई यिनीहरुले घण्टी जस्तो हल्लाएर राख्छन् भन्ने भयो। त्यसपछि तिनीहरुबाट छुटकारा पाउने सोच बनाएँ। हंगेरीमा प्रशिक्षणको लागि जाँदै थिएँ, बिच बाटोबाटै पोर्चुगल हिँडे।’
यो रमेशको मात्र कथा होइन। देशको खेलकुदको अवस्था हो। त्यसैले रमेश किन भागे? त्यसपछाडिका कारणहरु र दिन मिल्ने उत्तरहरुको खोजि हुनुपर्छ। खेलकुदको कुर्चिमा भएकाहरुले मैदानको अवस्थाअनुसार काम गर्नैपर्छ। जसले फेरि ‘रमेशहरु’ कतै भाग्नु नपरोस्।
(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)
पहिलो अंक -
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।