काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बस्ने कार्यसम्पादन समिति बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने भएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा असहमति जनाउँदै महामन्त्री डा. धवलशम्शेर राणा पक्षधर नेताहरू बैठकमा नजाने भएका हुन् ।
राणाले अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र पठाएर बैठकमा नआउने जानकारी गराएका छन् । अध्यक्षलाई सच्चिनका लागि दबाब दिन आफूहरूले यो निर्णय लिएको उनले बताए ।
विधानबमोजिम महाधिवेशन सम्पर्क गर्न महाधिवेशनको मिति तोकिनुपर्ने, विधानविपरीत भएका निष्काशन र कारबाहीसम्बन्धी निर्णयहरु फिर्ता गरिनुपर्ने, निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनुपर्ने इतर पक्षको माग छ ।
यही जानकारीसहित महामन्त्रीद्वयले अध्यक्षलाई पत्र बुझाएर बैठक बहिस्कार गरेको एक नेताले जानकारी दिए । परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्नुको साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गर्ने बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।